Comments Add Comment

दशैं बिदालाई यसरी उपयोग गरौं

क्रिश्चियनलाई पनि घरमा बोलाएर खुवाउन सकिन्छ

pingअब हेर्दाहेर्दै दशैं आयो । दशैँमा थुप्रै दिन बिदा हुन्छ, कसैलाई त घटस्थापनादेखि तिहारसम्मै एक एक महिना । बिदाको समय दशैंको नित्य कर्म पूजापाठ र टीकाबाहेकका समय ब्यतित गर्न गाह्रो हुन सक्छ । यहाँ समयलाई दिक्क नलाग्ने गरी कसरी बिताउने भन्ने बिषयमा छलफल गरिन्छ ।

सबैजानाले एउटै कुरा वा एकै जनाले उल्लेखित सबैकुरा गर्नुपर्छ भन्ने छैन, एकजनाले कम्तिमा कुनै एक कुरा गरे काफी हुन्छ ।

दशैं तिहार हिन्दूहरुको सबैभन्दा ठूलो पर्व एवं चाडबाड हो । यो समयमा जुवातासको ठुलै प्रचलन पनि देखिँदै आएको छ । तासलाई जुवा बनाएर खेल्नुभन्दा मनोरम खेलका रुपमा परिवार सँगै बसेर खेलिनुपर्छ । जबखालमा गएर जुवाको रुपमा तास खेलिन्छ, तब यसले नसाको रुप लिन सक्छ । पैसा हार्‍यो भने साउँ उठाउन खेलुँ खेलुँ लाग्छ । जित्यो भने अझै बढी जित्न खेलिन्छ । लङुरबुर्जा पनि एउटा जुवा हो । जुवाले तत्काल केही फाइदा जस्तो देखिएता पनि अन्तत्वोगत्वा नाश गरेरै छाड्छ । जुवाको अन्तिम सत्य लत र हार हो,  जुन दुबै मानिसका लागि घातक हुन् ।

खुशीको समयलाई अझ बढी हषिर्त तुल्याउन जाँड रक्सी अनी ड्रग्स पनि सेवन गर्ने प्रचलन युवा पुष्तामा हावी हुँदै गएको पाइन्छ । यो पर्व सामाजिक र पारिवारिक सुख र सफलता साटासाट गर्ने पर्व हो, जाँड रक्सी खाएर उच्श्रिङ्खल कृयाकलाप गर्ने र समाजमा तमाशा झिक्ने पर्व हैन ।

धेरै मानिसहरु यस्तै पर्वमा आनन्दको खोजीमा मातिने पेय पदार्थ खाएर इज्जत दुर्नाम गर्ने अनि अनियन्त्रित रुपमा सवारी साधन चलाएर दुर्घटनाको जोखिमलाई पनि बढाउने गरेको उदाहरण पाइन्छ ।

नराम्रा संस्कारलाई हामीले जरैदेखि उखलेर नयाँ सोचका साथ पर्वहरुलाई मनाउनुपर्छ । हामीले दशैं मनाउँदा ख्याल गर्नुहोस्, कुनै क्रिस्चियन वा शिख धर्म समुदायका मान्छेलाई हेप्ने वा आफ्नो आनन्दमा चुर्लुम्म डुबेर उनीहरुको समेत व्यक्तिगत जीवनलाई असर पार्ने काम गर्नुहुँदैन । नेपालको धार्मिक सहिष्णुता प्रदर्शन गर्ने अचुक अवसरको रुपमा दशैं तिहार जस्ता पर्वलाई प्रयोग गर्न सकिन्छ । एक दिन बोलाउनुहोस् क्रिश्चियन परिवारलाई अनि खाना खुवानुहोस् ।

आफ्नो संस्किृतिको बारेमा पनि बताउनुहोस् अनि आफु पनि उनीहरुको संस्कृतिसँग घुलमिल गर्न सक्ने इच्छाशक्ति प्रकट गर्नुहोस् । अथवा कुनै दिन विविध धर्ममा विश्वास राख्ने सबैको जमघटको आयोजना गर्नुहोस् ।

हामीले खुशीयाली मनाइरहँदा कुनै अर्को धर्म मान्ने व्यक्तिको पल्लो घरमा टुकी बत्ती पनि नबलेको देख्दा जरुर हामीले उनीहरुको एकाङ्गीपनलाई चिर्न सक्नुपर्छ र उत्सवको बातावरणमा आमन्त्रित गर्न सक्नु पर्दछ । यही त हो छिमेकी हुनुको मर्म । यस्तै त हुनुपर्दछ उन्नतिशील समाजको आचरण । धेरै भोलिहरु हामीसँगै हाँसखेल गर्नुछ भने आˆनो खुशीको दिनमा किन उनिहरुलाई नबोलाउने ?

कुनै यस्तो चिज वा कार्यको कल्पना गर्नुहोस् जुन तपाईंलाई धेरै अघिदेखि गर्न मन लागेको थियो, तर कार्यव्यस्तताले गर्दा गर्न पाउनु भएको छैन । हो त्यो चिज गर्न तदारुकता देखाउने समय पनि यही हो

भन्ने गरिन्छ खाली दिमाग शैतानको कार्यशाला हो । दिमागलाई खाली नबनाउँ । कृयाशील हौ, बिदाको समयमा पनि के काम गर्ने भनेर निच मार्नु हुँदैन । टीभी हेर्ने र पत्रपत्रिका हेर्ने त सधैं गरेकै हो, त्यो बाहेक अरु केही नयाँ गर्न सकिन्छ । कुनै यस्तो चिज वा कार्यको कल्पना गर्नुहोस् जुन तपाईंलाई धेरै अघिदेखि गर्न मन लागेको थियो, तर कार्यव्यस्तताले गर्दा गर्न पाउनु भएको छैन । हो त्यो चिज गर्न तदारुकता देखाउने समय पनि यही हो ।

तपाईंलाई चिकेन बिर्यानी आफ्नै हातले बनाउने इच्छा थियो त्यो अब पुर्याउने बेला भएको  छ । अनि तपाईंमध्ये कोहीलाई लाँकुरी भञ्ज्याङ, पाथिभरा वा भेडेटार हिँडेर जाने चाहना थियो, बोलाउनुहोस् अरु दुई साथीलाई अनि हिँड्नुहोस् एकदिन प्रकृतिसँग सयर गर्न । आज नहिँडेको हाइकिङ भोलि कहिल्यै पनि हिँडिन्न ।

आजको काम आजै तय हुनु पथ्र्याे । आजै हिँडिनुपथ्र्याे । जानका लागि धेरै सुनेको र नगएको ठाउँ भन्दा कहिल्यै नसुनेको र नगएको ठाउँ बढी उत्साहवर्द्धक हुन्छ, किनकि यस्तो ठाउँमा आज नगए कहिल्यै गइने छैन । नाताले अलि पर पर्ने एउटा आफन्तजनले विगत केही महिनादेखि बोलाको बोलायै हुनुहुन्थ्यो, के केही समय उहाँकोमा गएर भलाकुसारी गर्न सकिन्न ? किनमेल त भन्नै पर्दैन दशैंमा । तर, नयाँ नयाँ परिकार बनाउने सोचले हल्का फरक किनमेल पनि गर्नुहोस् ।

खुशी यस्तो भाइरस हो कि यो बाँडे दुगुना चौगुना हुँदै जान्छ, नबाँडे जस्ताको तस्तै बस्छ । सकेसम्म बढी खुशी बाँड्नुहोस् । यो दशैंमा साँच्चै निराश केही मान्छेहरुको अनुहारमा दुई मिनेट खुशी ल्याउन सक्नुभयो भने सम्झिनुहोस् तपाईंको यो पालिको दशैं सार्थक रह्यो ।

बृद्धाश्रममा आँसुसँग भात खाइरहेकी कसैकी बृद्धा आमालाई एकजोर कपडा लिएर जानुहोस् । समीपमा कोही नहुनेहरुलाई सबैभन्दा दुःख लाग्ने पर्व यही दशैं अनि तिहार हो, एकपटक  तपाईं उनीहरुको कोही भएर गैदिनुहोस् । उनीहरुको खुशीले तपाईंलाई कति गुणा बढी खुशी दिनेछ, यो अनुभव गरेरै थाहा पाउनुहोस् । अथवा अनाथाश्रमका एक जोडी बच्चाबच्चीलाई एक दिन पार्कमा घुमाउन वा मुभी हेराउन लैजानुहोस् । फर्किँदा यस पालिको जाडो टर्ने लुगा किनिदिनुहोस् ।

Adhikary_Rabindra
अधिकारी रबिन्द्र

नयाँ ठाउँमा जाने वा नयाँ साथीहरुसँग चिनाजानी गर्ने पनि एउटा राम्रो उपाय हो । नयाँ क्लब जानुहोस्, नयाँ साथी बनाउनुहोस् । दशैंको अष्टमी वा नवमी पारेर साथीभाई मिली नाटक, नृत्य अथवा सांस्कृतिक प्रदर्शनी आयोजना गर्न सकिन्छ । यसबाट उठेको रकम कुनै टुहुरी बच्चीलाई छात्रवृत्ति दिनुहोस् ।

योबेला धेरै मान्छेहरु आˆनो ठाउँ फर्किने गर्दछन् । कोही बिदेशबाट त कोही स्वदेशका कुनै अरु ठाउँबाट । सामाजिक स्थलमा यस्तै कुनै कार्यक्रम आयोजना गरी उनीहरुको प्रेरणादायी अनुभव सुन्ने र सुनाउने अवसर हो दशैं । दृष्टिकोण साटासाट गरी नयाँ ढंगले अगाडि बड्ने सुरुवाती क्षण पनि यही पालिको दशैं हुन सक्छ ।

कुनै तपाईंको साथी आफन्त वा अरु कोहीसँग विविध कारणले तपाईं बोल्न वा व्यवहार गर्न छोड्नुभएको छ ? छ भने यो दशैंलाई त्यो व्यक्तिसँग भाइचारा र मित्रताको गाँठो पुनः जोड्ने चाडको रुपमा लिनुहोस् । उसको ठेगानामा एउटा ताजा फुलको बुके पठाउनुहोस् । मेरो नादानीलाई माफ गर्दिनुहोस् र म निम्न समय, बार र ठाउँमा भेट्न चाहन्छु भनेर निमन्त्रणा पठाउनुहोस् ।

विश्वका ७ अर्ब ४० करोड मानिसमध्ये केही हजारलाई मात्रै तपाईंले व्यक्तिगतरुपमा चिन्नुभएको छ । नयाँ साथी बनाउन भन्दा पहिल्यै चिनाजानी भैसकेको मान्छेलाई पुनः साथीको लिस्टमा थप्न समय र शक्ति दुबै बचत हुन्छ । पुरै जिन्दगी जिउन गाह्रै छ, हामीलाई ज्ञात-अज्ञात सबैको साथ र सहयोग चाहिन्छ । पुरानो सम्बन्धलाई दरिलो बनाउने चाड दशैंजस्तो अरु छैन ।

फेरि याद गर्नुहोस्ा् जति धेरै सीपहरु तपाईंसँग छ, त्यति धेरै जीवन जिउन सहज् हुन्छ अनि अवसरहरु पनि अरुका लागि भन्दा तपाईंका लागि बढी कुरिरहेका हुन्छन् । यो बिदाको समय कम्तिमा एउटा सीप बढाउनुहोस् । तबला वा हार्मोनियम सिक्नुहोस्, गाडी सिक्नुहोस्, चङ्गा उडाउन सिक्नुहोस् पौडी सिक्नुहोस्, चित्र बनाउने कला सिक्नुहोस् । कुनै दिन पार्टीमा नाच्न नआएर लज्जा बेहोर्नुपरेको दिन सम्झनुहोस् र युट्युब खोली सिक्नुहोस् चाहेको नाच, आफ्नै कोठामा रियाज गर्दै ।

कुनैकुनै यस्ता कामहरु छन् जुन जीवनमा दैनिकजस्तो गर्नु पर्दछ, तर तपाईं अरु कोही माथि सदैब निर्भर रहनु पर्दछ । सीप भनेको नसिकेसम्म कसैलाई आउँदैन । जो आˆनो फिल्डमा एक्स्पर्ट छन् सीप सिक्नु अघि तपाईंजस्तै नजान्ने थिए । आइस हक्की वा गल्फ नै सिक्नुपर्छ भन्ने छैन अब कपडा पट्टयाउन, टाई लगाउन, कपडा आइरन गर्न, भ्याकुम लगाउन आफैं जान्नुहोस् । आˆनो किचेनको कुना काप्चा सफा गर्नुहोस्, करेसाबारीमा फूल रोप्नुहोस्, ग्यारेज सफा गर्नुहोस् अथवा बाथ्ारुमको बिगि्रएको सिन्क वा धारा बनाउनुहोस् ।

बेलुकाको केही समय एउटा खगोलीय दुर्बिन किनेर ल्याएर आकाशका ताराहरु पहिचान गर्न सक्ने कला आँफैमा मनमोहक छ । यसलाई पनि खेल मानेर कुनै साथीसँग खेल्नुहोस् र हात तथा दिमागको नयाँ क्षमतालाई तिखार्दै लैजानुहोस् ।

समयको केही अंश कुनै इच्छा लागेको किताब वा उपन्यास पनि पढ्न सकिन्छ । त्यो भन्दा बढी चाख्लाग्दो नयाँ भाषा सिक्नुहोस्, आफ्नो अंग्रेेजी कमजोर भए बलियो बनाउनुहोस्, अंग्रेजी भाषामा एउटा निबन्ध लेख्नुहोस् । हिन्दी भाषामा एउटा रमाइलो कविता लेख्नुहोस् , दशैंको टीका दिन सबै सामु पढेर सुनाउनुहोस् ।

कम्प्युटरको एउटा सीप थप्नुहोस् । एक्सेल, ग्राफिक्स डिजाइनिङ, फोटोसप, अटोक्याड, वा वेप पेज डिजाइनिङ मध्य कुनै चाख लागेको सीप विकास गर्नुहोस् ।  अथवा प्रिती फन्टमा टाइप गर्न जान्नुहोस् ।

तपाईंको मोटोपनले तपाईंलाई हैरानी गरेको त छैन, हो अब यसपालिको दशैं तिहार बिदा म तौल घटाउने अठोट गर्नुहोस् । जीम जानुहोस् वा घरमै अभ्यास गर्ने केही इकुइप्मेन्ट किनेर ल्याउनुहोस् अनि दैनिक बिहान बेलुका मीठो संगीतसँगै पसीना बगाउनुहोस् ।

सबैथोक गर्दागर्दा पनि प्रत्येक दिन २५ मिनेट मात्र भए पनि मेडिटेसन गरी दिमागलाई आराम गराउनुहोस् । धेरै अध्ययनहरुबाट सिद्ध भैसकेको छ मेडिटेसनले मान्छेको तनाब कम गर्न, दिमाग केन्दि्रत गर्ने क्षमता बढाउन र कल्पनाशीलतामा निख्खार ल्याउन ठुलै मद्दत गर्दछ ।

एकपटक गौर गर्नुहोस्, तपाईं यो हरफहरु पढिरहेको अवस्थासम्म आइपुग्दा तपाईंले कति कपी र किताबहरु प्रयोग गर्नुभयो । त्यसले वातावरणलाई कति परिवर्तन गर्‍यो होला ? तपाईंले लेखेर यहाँ एउटा कपी सकेर मिल्काउँदा तराईमा वा इन्डोनेशियामा अर्को नयाँ रुख काटिँदै गर्दथ्यो ।

हो, तपाईंले पढेका किताब वा लेखेका कपी कुनै न कुनै वृक्षको अंशबाट बनेका हुन् र तपाईंको माग अनुसार कुनै ठाउँमा बाँस फडानी भैरहेको हुन्छ । हो अब आफु शिक्षित हुने दौरानमा अञ्जान प्रकृतिप्रति गरेको अत्याचारलाई प्रायश्चित गर्ने अवसर दशैँलाई मान्नुहोस् । खोल्साखोल्सी वा नजिकैको नर्सरीबाट केही रुखका बिरुवाहरु लिएर उजाड डाँडामा गएर रोप्नुहोस् ।

ढुङगे देवतालाई खुशी पार्न भन्दै घन्टाैं मन्दिरमा लाइन किन बस्नुहुन्छ ? मानव आत्मा नै भगवान हो, असली भगवान स्वयम् हात फैलाई फैलाई मन्दिर प्राङगणमा तपाईं सँगै केही माग्दै हुनुहुन्थ्यो

प्रत्येक दिन प्रभातकालीन शैरमा जाँदा पानी पनि लिएर गएर हालिदिनुहोस् । अन्य संस्थाहरुको अभियानमा सरिक भै वृक्षारोपण त गर्नु भयो होला, अब वृक्षारोपणलाई आˆनै व्यक्तिगत अभियान बनाउनुहोस् । याद गर्नुहोस्, तपाईंले एउटा रुख हुर्काउँदा विश्वको अनेक सङ्कट केही सेकेन्डका लागि पर सरिरहेको हुन्छ ।

ढुङगे देवतालाई खुशी पार्न भन्दै घन्टाैं मन्दिरमा लाइन किन बस्नुहुन्छ ? मानव आत्मा नै भगवान हो, असली भगवान स्वयम् हात फैलाई फैलाई मन्दिर प्राङगणमा तपाईं सँगै केही माग्दै हुनुहुन्थ्यो । तपाईंको मानवताको परीक्षण लिँदै हुनुहुन्थ्यो, काल्पनिक भगवानको नसाले तपाईंले वास्तविक भगवानलाई बाटैमा छोडी हिँड्नु भो ।

मानव छालामा तपाईंको अगाडि टुसुक्क बसेर तपाईंसँग हात फैलाई फैलाई एक मुठ्ठी चामल माग्दै गरेको भगवानको भोको पेटलाई तपाईंले ख्यालै नगरी कति पटक हिँड्नुभयो ? ती भगवानका मानवीय स्वरुपहरुलाई हामी माग्ने माग्ने भन्छौं तर असली माग्ने हामी हौं । हामी कुनै स्वार्थ लिएर, इच्छापूर्तिको लागि भगवानसँग केही माग्न भनेरै लाइन लागेर मन्दिर छिर्छौं । अब फर्किनुहोस् यस दशैंमा वास्तविक भगवानको सेवा गर्न त्यही मन्दिर परिसरतिर । आधारभूत आवश्यकता पूरा गर्न बसिरहेका ती आत्माहरुलाई भात वा रोटीले तृप्त गरिदिनुहोस् ।

भगवानले मानव चोलालाई यति सुसज्जित र सम्पन्न बनाई पठाउनुभएको छ, अझै पनि किन हामी केही माग्न भनेर मन्दिर धाउँछौ ? मानिसले  सकल जात प्रजातका जीव जीवान्तरलाई केही दिने हो, कसैसँग केही माग्ने हैन ।

यो लगायतका धेरैधेरै विधिहरु छन्, जुन आफैं सोचेर गर्न सकिन्छ र मान्छेका परिवेश र रुचिअनुसार गर्ने कृयाकलाप पनि फरक पर्दछन् ।

Twitter: @ravinems

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment