+
+
Shares

आज देशभर पालिका अधिवेशन गर्दै कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दै हरेक पालिकामा पाँच पदाधिकारी चयन गर्ने तयारी गरेको छ।
  • नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार सभापति, एक महिलासहित दुई उपसभापति, सचिव र सहसचिव निर्वाचित हुनेछन्।
  • वडा अधिवेशन देशभर सम्पन्न भइसकेको छ भने बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा पनि मङ्गलबार अधिवेशन सकिएको छ।

७ असोज, काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ ।

यसअघि कांग्रेसले वडा अधिवेशन गरेको थियो । केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ ।

बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?