६ असोज, बुटवल । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनबाट बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का १८ वर्षीय प्रशिस आचार्य क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।
न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवलका कक्षा १२ मा अध्ययनरत आचार्य बुटवल उपमहानगरपालिकाका १९ वडामध्ये सबैभन्दा कान्छा क्षेत्रीय प्रतिनिधि भएको निर्वाचन अधिकृत डा. ओमप्रकाश अर्यालले बताए ।
असोज ३ र ४ गते देशभर वडा अधिवेशन सम्पन्न गर्ने कांग्रेसको कार्यतालिकाअनुसार बुटवलमा पनि वडा अधिवेशन सम्पन्न भएको हो।
कांग्रेसले यसपटकको महाधिवेशन प्रक्रियामा युवा पुस्ताको सहभागितालाई प्राथमिकता दिँदै ३५ वर्षमुनिका युवालाई पार्टीका विभिन्न तहमा प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।
यही युवा सहभागिताको क्रममा बुटवल–१२ बाट १८ वर्षीय आचार्य क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। बुटवल ७ बाट २० वर्षीय आयुष्मान पुरी पनि क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।
कांग्रेसको नयाँ व्यवस्थाअनुसार पार्टीको नेतृत्व संरचनामा युवाको सहभागिता बढाउने उद्देश्यले विभिन्न तहमा निश्चित संख्यामा युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। महाधिवेशन प्रतिनिधिमा समेत ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
१८ वर्षको उमेरमै क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका आचार्यले नेपाली काँग्रेस पार्टीको लोकतन्त्रप्रतिको निष्ठा, कानूनी शासन र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता तथा पार्टी सभापति गगन थापाको अनुभव सहितको ऊर्जा, आशा र भरोसाले पार्टीमा आवद्ध भएको बताए ।
आफ्नो सहभागिताले कांग्रेसको स्थानीय तहमा नयाँ पुस्ताको प्रवेशलाई समेत प्रतिबिम्बित गरेको उनले बताए ।

प्रतिक्रिया 4