Comments Add Comment

काइँला र नीलमलाई पद्मश्री

padma shreeकाठमाडौं । ०७२ सालको पद्मश्री साधना सम्मान साहित्यकार वैरागी काइँलालाई र पद्मश्री साहित्य पुरस्कार नीलक कार्की निहारिकालाई शनिबार अर्पण गरिएको छ । दुई लाख रुपैयाँ राशिको पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिन्छ । दुवै पुरस्कार भदौको तेस्रो साता घोषणा गरिएको थियो ।

काइँलालाई पाँच दशकअघिदेखि नेपाली र लिम्बू साहित्यको उत्थान तथा अनुसन्धानमा सक्रिय रहेको र अविच्छिन्न योगदान गरेको कदर गर्दै यो वर्षको सम्मान अर्पण गरिएको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ । यस्तै, नीलमलाई ‘चीरहरण’ उपन्यासको लागि पुरस्कार दिइएको हो । उनले पुरस्कार रकम श्रीमान् भाष्कर कुँवर पढेको पाल्पा कुसुमखोलास्थित भवानी उच्च माविलाई दिने घोषणा गरेकी छन् ।

पुरस्कारको लागि प्रतिष्ठानको उत्कृष्ट पाँच कृतिको सूचीमा ‘चीरहरण’सँगै रामलाल जोशीको कथासंग्रह ‘ऐना’, कुमार नगरकोटीको उपन्यास ‘मिस्टिका’, गिरीश गिरीको गैह्र-आख्यान ‘वीरगञ्ज’ र भूपिनको कवितासंग्रह ‘सुप्लाको हवाईजहाज’ मनोनयनमा परेका थिए । ०६३ सालदेखि वर्षभरिमा प्रकाशित पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई पद्मश्री पुरस्कार दिइँदै आएको छ ।

पद्मश्री सम्मान पाएका काइँला आयामेली कविका रुपमा चिनिन्छन् । उनले बीसको दशकमा इन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर तेस्रो आयाम साहित्यिक आन्दोलन चलाएका थिए । नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपति समेत भइसकेका उनी लिम्बू भाषा तथा संस्कृति अनुसन्धानमा समेत क्रियाशील छन् । यस्तै, कविता, कथा र उपन्यास लेखनमा सक्रिय नीलम केही वर्षयता अमेरिकामा रहेर साहित्य साधना गरिरहेकी छिन् ।

कार्यक्रममा समालोचक डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित सर्जकहरुको परिचय गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment