बिहानै फेसबुक खोल्दासाथ कोरियामा रहेको घनिष्ठ साथीको स्टाटस देखेँ ।
‘प्रिय, तिमीसँगै नयाँ जीवनको सुरुवात गरेको पनि आज कति छिटै एक वर्ष पुगिसकेछ । यसरी नै सयौं जुनीसम्म तिम्रै भइरहन पाऊँ । ह्याप्पी एनिभर्सरी डे माई स्विट हार्ट !’
साथमा जोडीको बिहेको फोटो पनि अपलोड गरिएको थियो ।
मैले पनि कमेन्ट गरिदिएँ, ‘ह्याप्पी एनिभर्सरी डे माई डियर फ्रेन्ड !’
हितैषी मित्र भएकोले पनि होला, त्यो स्टाटसले उसको बिहे अनुभवको सम्झना दिलायो । यसका साथै बाध्यता र परिस्थितिका बीच परदेशिएको साधारण युवाको सामान्य बिहे अनुभवको कथा भए पनि धेरैको यथार्थ भोगाइ ठानेर पस्कने चेष्टा गरेको छु ।
मान्छे हेर्दा गहुँगोरो, हल्का चुच्चो नाक अनि हँसिलो अनुहारको छ । अरु कुरामा अब्बल नै भए पनि स्कूले पढाइ चाहिँ त्यति सुखद रहेन उसको । तीन पटकसम्म परीक्षा दिँदा पनि एसएलसी पास गर्न सकेन । तर, निकै मिहिनेत गरेर कोरियन भाषा परीक्षा चाहिँ एकै पटकमा पास गर्यो र कोरिया आइपुग्यो ।
कोरियामा दुई वर्ष काम गरेपछि सायद पैसा भएर अनि घरबाट पनि दबाव आएर होला, छुट्टीमा नेपाल गई बिहे गर्ने निर्णय गरेछ ।
मलाई फोन गर्यो, ‘म त अर्को हप्ता घर जाने भएँ नि !’
– ‘हो र ? किन ?’
– ‘अब बिहे गर्ने निर्णय गरियो यार । तैंले जस्तो लभ पार्न पनि सकिएन । अब मागी बिहे नै गर्नुपर्यो ।’
– ‘अनि कात्तिक महिनामा पनि के बिहे गर्छु भन्दै छस् त ?’
– ‘अब तिहार पनि मनाऊँ अनि त्यसै क्रममा केटी हेर्ने र मंसिर पहिलो सातामै बिहे गरिहाल्ने सोचमा छु’, उसले प्रफुल्लित मुद्रामा भन्यो ।
यो कुरा हो गत वर्ष कात्तिक पहिलो साताको ।
त्यसपछि कात्तिक दोस्रो सातामा एक महिनाको बिदा लिई ऊ नेपाल उडिहाल्यो ।
पहिला-पहिला त उसलाई यो एसएलसी फेल भएको केटोले गरी खाँदैन भनेर कसैले वास्ता गर्दैनथे । तर, जब कोरिया आएर कमाउन थाल्यो, उसलाई हेर्ने नजर नै फेरियो ।
फेरि एक वर्षमै बजारमा घडेरी किनिहाल्यो । त्यसपछि त गाँउघरमा ‘केटो असल छ असल, हिरा हो हिरा’ भन्न थालिहाले ।
पहिलेको समयमा बिहे गर्नुअघि केटो कत्तिको खान्दानी छ भनेर घर अगाडिको परालको टौवा हेर्थे रे । ठूलो टौवा देखे भने टन्न जग्गा-जमिन र खेतीपाती भएको रै’छ भनेर आँखा चिम्लेर छोरी दिइहाल्थे रे ! अझै पल्टनको लाहुरे भए त सुनमा सुगन्ध नै भइहाल्यो ।
तर, आजकल छोरी दिन बजारमा घर-घडेरी हेर्छन् । गाउँमा जग्गा-जमिन भए छोरीले दु:ख पाउँछे, कृषिकर्म गरेर केही हुँदैन भन्छन् ।
केटो पैसावाला छ, बजारमा घर-घडेरी छ र विकसित देशमै छ भने पढाइ कति हो केटाको भनेर सोध्दै सोध्दैनन् । पैसा भएपछि किन चाहियो सर्टिफिकेटको खोस्टो भन्छन् । बरु सोध्छन्, विदेशको ग्रीनकार्ड नै पो छ कि ?
नेपाल पुगेको दुई हप्तापछि साथिले भाइवरमा कल गर्योछ ।
सोधिहालेँ, ‘के छ खबर ? केटी हेरिस् त ?’
– ‘केटी त सात-सात वटी हेरिसकियो यार ।’
– ‘भनेपछि केटीको लाइन नै छ है ? अनि सात-सात वटी केटी हेरियो मात्र कि एउटी पक्का पनि गरिस् त ?’
– ‘अझै पक्का गर्न सकिएको छैन ।’
– ‘किन ? के भो र ?’
– ‘यो केटी भन्ने चिज छ नि, जिनको पाइन्ट जस्तै रै’छ यार । पसलमा कपडा हेर्दा यो हेर्यो त्यो राम्रो, त्योभन्दा अर्को राम्रो,अर्कोभन्दा झन् अर्को राम्रो भन्दै मन डुल्छ । त्यस्तै रैछ केटी पनि । कुन राम्री कुन !’
– ‘केटी घेरै नछाँट नि, फेरि आफैं छाँट्टेलास् ।’
– ‘अशुभ नबोल् न ! कोही केटी हेर्दै मन पर्दैन । कोही यसो मन पर्ला जस्तो हुन्छ, साथीलाई कस्ती छ भनेर सोध्दा यस्तीसँग’नि बिहे गर्छन् भन्छ अनि खत्तम !’
– ‘हैन, बिहे तैंले गर्ने हो कि साथीले ?’
– ‘बिहे मैले गर्नी भनेर हुन्छ ? केटी हेर्दा एक जना साथी लैजानैपर्यो ,केटी हेरेपछि कस्ती छे यो भनेर सोध्नैपर्यो , उसले राम्री छैन भन्दाभन्दै कसरी बिहे गर्नी ?’
म एकछिन सोचमग्न भएँ । बिहे गर्ने केटालाई भन्दा केटी चाहिँ केटाको साथीलाई मन पर्नुपर्ने अचम्मै छ !
इष्टमित्रहरुले भनेकै भरमा एकछिन हेरेकै भरमा निर्णय गर्नुपर्ने । यत्रो जिन्दगी काट्ने साथी आफूसँग मन मिल्ने खालको छ या छैन, आफूले खोजे जस्तो हो या होइन भनेर राम्रोसँग बुझ्नै नपाई बिहे गर्नुपर्ने ।
सोच्छु, यो मागीबिहे भनेको अँध्यारोमा ढुङ्गा हान्नु जस्तै पो हो कि क्या हो !
तैपनि इष्टमित्र, साथीभाइ भेला भई चलिआएको संस्कार र रीतिरिवाज अनुसार मागीबिहे गर्नुका प्रशस्तै रमाइला र राम्रा पक्ष पनि छन् । फेरि हाम्रो समाजमा प्रेम विवाहभन्दा मागीबिहे नै बढी सफल भएको पनि पाइन्छ । राम्रोसँग बुझेर एक अर्काको मन मिलेरै गर्ने भनिने प्रेम विवाह असफल हुँदैछन् ।
आजको जमानामा रोमियो-जुलियट, लैला-मज्नु या मुना-मदनको जस्तो प्रेम हुनु भनेको केवल कोरा कल्पना मात्रै हो । आजकल त उम्रिनासाथै फेसबुक खोल्छन् र स्विट सेल्फि क्यामराले खिचेको चिल्ला फोटो हेरेर लभ गर्छन् । लभ पनि कस्तो ! भेट भएको दुई घण्टामा लभ पर्छ अनि चार घण्टामै ब्रेकअप हुन्छ । यस्ता शारीरिक आकर्षण भनौं या कच्चा प्रेमपछि भएका बिहे सफल होस् पनि कसरी?
फेरि बिहेको लागि संघर्षरत साथीकै कुरा गरौं ।
धेरै केटी हेरिसकेपछि अन्त्यमा हतार-हतारका बीच आफू एसएलसी फेलर भए पनि बीए पास गरेकी केटीसँग बिहे गर्ने पक्का गरेछ ।
मंसिर पहिलो साता लगन नभएपछि दोस्रो साताको पहिलो लगनमै धुमधामसँग बिहे पनि गर्यो ।
बुहारी भित्र्याउने बाबु-आमाको वर्षौंदेखिको चाहना अनि आफ्नो नयाँ जीवनको सुरुवात गर्ने उत्कट मनोकांक्षा अनुरुप सोचे जस्तै दुलही त भित्र्यायो । तर, विडम्बना भनौं बिहेको पर्सि पल्टसम्म मात्र उसको छुट्टी थियो ।
भर्खर भित्र्याएकी श्रीमती राम्रोसँग चिन्न त के, राम्रोसँग बोल्न पनि नपाई फर्कनुपर्ने भयो । साहुले छुट्टी थप्न पनि मानेनछ ।
श्रीमतीसँग बस्न छँदाखाँदाको काम छोड्ने कुरा पनि भएन, त्यही कामले गर्दा नै भने जस्ती श्रीमती पाएको छ ।
बिहेको पर्सिपल्ट नौली श्रीमतीलाई नौलै घरमा बाबु-आमाको जिम्मा लगाई मन अमिलो पार्दै फर्कन बाध्य भयो ।
कोरिया आइपुगेपछि भेटघाट गरौं न भन्दै फोन गर्यो । राजधानी सउलमा तोङ्देमुन भन्ने ठाउँ छ । यो ठाँउलाई कोरियामा नेपालीको राजधानीभन्दा पनि फरक पर्दैन । त्यहीँको एउटा नेपाली रेष्टुरेन्टमा भेट गर्यौं ।
जिस्काउँदै भनेँ, ‘बिहेको पर्सि पल्टै आइछस्, हनिमुन त के सुहागरात पनि मनाइएन जस्तो छ नि !’
– ‘बिल्ला नगर न । तिमेरु लभ म्यारिज गर्नेले पो बिहे गर्नुभन्दा वर्ष दिनअघि नै सुहागरात र हनिमुन मनाउँछौ । हामी त अब एक वर्षपछि गएर के-के मनाउने हो, सबै मनाइन्छ ।’
गललल हाँसो गुञ्जियो ।
फेरि थप्यो, ‘जे भए’नि बिहे गरे’सी मजा त मजै हुनै रै’छ । कति बेला काम सकिन्छ र बूढीसँग बोलूँ-बोलूँ झैं हुन्छ ।’
– ‘२/४ दिन हो केटा, त्यसपछि वाक्क-दिक्क लाग्छ’, मैले अनुभवी बनेर भनेँ ।
– ‘के को वाक्क लाउनु नि ! तेरो जस्तो हो र ? तैंले पो लभ गरेर बिहे गरिस् । मै’ले त बिहे गरेर लभ गर्दै छु । लभ म्यारिजमा बिहेसँगै लभको अन्त्य हुन्छ क्यारे । एरेन्ज म्यारिजमा त बिहेसँगै लभको सुरुवात हुन्छ, बुझिस् ? त्यसैले २/४ दिनमै वाक्क हुँदैन हाम्रो पिरती !’, ऊ मस्किँदै बोल्यो ।
– ‘भो-भो, धेरै आदर्श नछाँट् । बरु छिटो छुट्टी मिलाएर गइहाल् । फेरि आफूले भन्दा पहिला अर्कैले सुहागरात मनाइदेला नि !’
फेरि हाँसोको फोहोरा छुट्यो ।
यस्तै-यस्तै रमाइला कुराकानी भएका थिए एक वर्षअघि । तर, अझै पनि ऊ घर जाने दिन गनेर बसिरहेको छ । आज फेसबुकबाटै बिहेको पहिलो वर्षगाठँ त मनाएछ । तर, हनिमुन कहिले मनाउने ? ऊ आफैंलाई पनि थाहा छैन । यस्तै हो लाहुरेहरुको नियति !
जे होस्, ऊ छिटै नेपाल फिर्न पाओस् । कसैको परिवार पनि यसरी छुट्टिएर टाढा बस्न नपर्ने दिन आओस् । कामना गरौं !