सोमबार, १५ जेठ, २०७४
OnlineKhabar.com

गर्भको छोरी तुहाउने, चाडबाडमा चेली चाहिने ?

एक सहकर्मी गर्भवती थिइन् । उनलाई डाक्टरले बडादशैंको फूलपातीको दिन आमा बन्ने समय तोकिदिएका थिए ।

उनी भने आफ्नै खालको पिरलोमा थिइन् । उनी भगवानसँग पूकारा गर्थिन्, ‘मेरो पहिलो बच्चा छोरा नै होस्, छोरी जन्मियो भने त फेरि अर्को बच्चा जन्माउनैपर्छ ।’

काठमाडौंको पढेलेखेको परिवारकी बुहारी भए पनि परिवारमा नातिकै चाहना थियो । ८४ वर्ष पुगेकी जिजु हजुरआमा समेत पनातिको मुख हेरेर स्वर्ग जाने बताइरहन्थिन् । अझ उनकी सासूले त बुहारीले पक्कै नाति नै जन्माउँछे भन्दै सपनामा यस्तो देखेँ, उस्तो देखेँ भनेर सुनाइरहन्थिन् ।

‘मेरा त दुई वटै छोरीले छोरा पाएका छन्, छोराको पनि छोरै जन्मिन्छ’, छिमेकी र आफन्तसँग सासूको यस्तै संवाद हुन्थ्यो । बच्चा जन्मनासाथै नयाँ लुगा लगाउन हुँदैन भनेर उनले नन्दका छोरा (भान्जा) लाई साना भएका कपडा पोको पारेर राखिसकेकी थिइन् ।

यता साथी भने घरमा छोराको भूत चढेको देखेर आत्तिएकी थिइन् । बच्चा जन्मने दिन नजिकिँदै जाँदा उनको मुटुको ढुकढुकी बढिरहेको थियो ।

काठमाडौं बाहिर घर हुने हामी दशैंमा घर गयौं । पूणिर्मापछि कार्यालय जाँदा थाहा भयो, उनी त फूलपातीकै दिन छोरीकी आमा बनिछन् । पहिलो पटक आमा बने पनि उनले कसैसँग पनि खुसी साटिनन्, सम्पर्कमै रहिनन् ।

सानो कुरामा पनि फुरुंग हुँदै फेसबुकमा फोटो पोस्ट गर्ने साथीका श्रीमानले पनि अझैसम्म कुनै स्टाटस पोस्ट गरेका देखिँदैथे । आमा बनेकी साथीको अत्तोपत्तो थिएन । सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो । कोही आफन्तले उनको फेसबुक एकाउन्टमा छोरीको सुन्दर फोटो ट्याग गरिदिएको थियो, कमेन्टको ओइरो थियो । तर, खास खुसी हुनुपर्नेहरु खुसी थिएनन् ।

धेरै प्रयासमा साथीसँग फोन सम्पर्क भएपछि बधाई दिएँ । तर, उनले कुनै प्रतिक्रिया दिइनन् । किन नबोलेकी भने दोस्रो प्रश्न गरेपछि बल्ल उनी बोलिन्, ‘के को बधाई साथी ? एकातिर दशैं रोकियो, आफन्तले टीका लगाउन पाएनन् । अर्कातिर छोरी जन्मिई ।’

उनी छोरीको आमा भएकोमा आफूलाई अभागी मानिरहेकी थिइन् र पंक्तिकार छोराकी आमा भएकोमा निकै भाग्यमानी ठानिरहेकी थिइन् ।

साथीले आफू छोरी भएको कुरा बिर्सिइन् । छोरा नै जन्मियोस् भनेर कामना गर्ने उनका घरका मान्छेहरुले आफूलाई आमाले धरती टेकाएको बिर्सिए । सबथोक बिर्सेर अबोध शिशुलाई तुलनाको माध्यम बनाए ।

छोरी जन्माएकै कारण उनलाई घरका मान्छेले न्वारान नगरीकनै माइत जान दबाब दिए । शहरको यो कस्तो सभ्यता ! राजधानी जस्तो ठाउँमा त छोरा र छोरीमा यस्तो विभेदपूर्ण सोच राखिन्छ भने गाउँमा हाम्रा आमा-हजुरआमाले छोराको आसमा दर्जनौं छोरीको ताँती लगाउनु खासै नौलो लागेन । यस्तै मानसिकता भएकाहरुले हो, गर्भमै छोरीको हत्या गर्ने अनि औंसी-पूणिर्मामा टीका लगाइदिन छोरी-चेली खोज्दै अर्काको घरमा धाउने ।

सन्तान नहुनेलाई सोध्दा हुन्छ, छोरीको महत्व । एउटा मात्र छोरी भइदिएको भए निःसन्तानहरुको मनमा कति खुसी छाउँथ्यो होला ! छोराहरुबाट परित्यक्त भएर वृद्धाश्रममा जिन्दगी बिताएकाहरुलाई सोधे हुन्छ, छोरी नहुँदाको पीडा । कम्तिमा छोरीले बा-आमालाई वृद्धाश्रममा छाड्दैनन् भन्ने पाठ त्यहाँबाट सिकिन्छ ।

छोरालाई जति अवसर दिने हो भने हरेक छोरीले केही गर्न सक्छन् । समाजमा सफल छोरीहरूको संघर्षलाई एकपटक नियाल्न म ती साथीका श्रीमान् र घरपरिवारलाई सल्लाह दिन्छु । उनका श्रीमान् ठूलै अफिसका माथिल्लै तहका कर्मचारी हुन् रे । तर, सोच निकै निकृष्ट रहेछ ।

धेरै समय भएको छैन, छिमेकी मुलुक भारतको एक उच्च घरानाकी महिलाले आफ्नो दोस्रो सन्तान छोरी जन्मिएको भन्दै हत्या गरेको । आठ वर्षकी छोरी हुर्काइसकेकी उनलाई दोस्रो सन्तान जुनसुकै हालतमा छोरा नै हुनैपर्छ भन्ने चाहना थियो । छोरो जन्मियोस् भनेरै उनले होम, व्रत सबथोक गरिन् । तर, उनको गर्भबाट छोरा जन्मिएन ।

छोरी जन्मिएको चार महिनापछि उनले आफ्नै सन्तानको हत्या गरिन् । एउटी आमाले छोरी भएकै कारण यतिसम्म कठोर कदम चाल्न सक्छन् भने अरु हिंसाको के कुरा गर्नु ! नौ महिनासम्म कोखमा राखेको र चार महिनासम्म लालनपालन गरेको छोरीको एकरत्ति माया लागेन ती निर्दयी आमालाई । आफूलाई जन्म दिने आमा त छोरीको लागि आफ्ना हुँदैनन् भने महिलामाथि हिंसा भयो, अन्याय भयो भनेर कसलाई सुनाउने ?

छोरा र छोरी समान हुन् भन्ने भावना जबसम्म आमाको आत्मामा हुँदैन, तबसम्म महिलामाथिको हिंसा समाजमा रोकिँदैन । हामी महिला हिंसाबारे निकै आलोचना गर्छौं, तर परिवारमा छोरा र छोरीलाई बराबरी व्यवहार गर्दैनौं । छोराले जे गर्दा पनि जायज हुन्छ त्यही कुरा छोरीले गर्दा नराम्रो हुन्छ ।

छोरीले कहिल्यै यस्तो गर्नु हुँदैन, त्यस्तो गर्नुहुँदैन भनेर नियम र बन्देज सुनाइन्छ । यिनै कुराबाट छोरीको मानसिकता बन्छ, म छोरी मान्छे पो हुँ, मेरो सीमा निकै साँघुरो छ । उता छोराको दिमागमा भने आफूले जे गरे पनि परिवारमा जायज हुुन्छ भन्ने मनस्थितिको विकास हुन्छ ।

अपठित समाज र चेतनाको अभाव भएका मान्छेहरुको कुरा छाडौं, पढेलेखेका खानदानी परिवारमै छोराको लागि मरिहत्ते गरिएको पाइन्छ । छोराकै चाहनामा छोरीको भ्रुणहत्या जस्तो अमानवीय कार्यले पश्रय पाइरहेको छ ।

राजधानीकै स्थायी बासिन्दा एकजना चिनजानकै दिदी छन्, उनको पहिलो बच्चा पाँच वर्षकी छोरी छ । दोस्रो बच्चा उनले छोरा नै जन्माउनुपर्ने अवस्था छ । त्यसका लागि उनले तीन पटकसम्म गर्भपतन गराइसकेकी रहिछन् ।

उनले पीडा सुनाइन्, ‘एउटा छोरा भइदिएको भए यत्रो सास्ती हुने थिएन । तीन पटकसम्म पाठेघर सफा गर्दा लखतरान भइसकेँ । अचेल त उठ्दा-बस्दा पनि खुइयय हुन्छ !’

मन चसक्क भयो । कति सम्पन्न छ उनको घरपरिवार । सबै जना पढेलेखेका छन् । तैपनि मानसिकतामा सबै गरिब रहेछन् । ती दिदीले ‘सम्पत्ति खाने नाति खलकै हुने भएन’, ‘एउटा नातिको मुख नहेरी मरे अगति परिन्छ रे’ भन्ने जस्ता कुरा निरन्तर सुन्नुपरेर तनाव खेप्नुपर्छ ।

सासू-ससुराले सानी पाँच वर्षीया नातिनीलाई सधैं भन्दा रहेछन्, ‘तेरो भाइ कहिले आउँछ नानी ? भाइको नाम के राख्छेस् ? तिहारमा भाइलाई टीका लाउँथिस् होला, खै तेरी आमाले कहिले भाइ पाउने हो ।’

हजुरबा-आमाको यस्ता प्रश्नले छोरीले समेत आमालाई सोध्न थालिछे, ‘मामु मलाई भाइ खै त ? भाइ कहिले ल्याइदिने हो ?’

सबैतिरबाट एउटै कुराको करकरले दिदी आजकाल डिप्रेसनमा रहिछन् । औषधि नै खान थालिछिन् । प्रेसरको समस्या पनि छँदै छ ।

छोरीहरुले गर्भमा छँदादेखि जन्मिएपछि हरेक समय तगारोको सामना गर्नुपर्ने यो कस्तो समाज हो हाम्रो ? जन्मिन र सुरक्षित रुपमा बाँच्न कति वटा तगारो पार गर्नुपर्ने हो ? मुलुकी ऐनको ज्यानसम्बन्धी महल (२८) ग मा गर्भमा रहेको भ्रुणको लिंग पहिचान मात्र गराउनेलाई ३ देखि ६ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था रहेको छ । तर, परिवार र पतिको सल्लाहबाट गर्भपतन गराउने भएकाले यस विरुद्ध कुनै पनि महिलाले उजुरी गर्दैनन् ।

महिलाको ज्यानलाई बच्चाको लिंग पहिचानको लागि पटकपटक प्रयोगशाला बनाइएको छ । संविधानमा प्रजनन अधिकारमा महिलाको हक हुने व्यवस्था छ । तर, सामाजिक व्यवहारमा भने लिंग पहिचानपछि छोरा जन्माउने जिम्मेवारी मात्र दिए झैं देखिन्छ । यस्तो अवस्थामा महिलाले कहिलेसम्म रहनुपर्ने हो ?

२०७३ पुष २२ गते १०:३८ मा प्रकाशित

लेखक परिचय

यमुना अर्याल

सामाजिक बिषयमा कलम चलाउने यमुना अर्याल अनलाइनखबरकी स्तम्भकार हुन् ।
लेखकबाट थप
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
६ प्रतिकृयाहरू प्राप्त
  • gyanu shah लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १३:०१

    yak dam ramro kura yamuna ji

    9
    0
    Share

  • laxmi paudel लेख्नुहुन्छ    |   २०७३ पुष २३ गते ८:४२

    Thank you for contemporary issue which is great problem in Nepali culture.I think, Parents satisfied having only two daugters, thay me be model in society.So it needs a research about parents of two daugters in Kathmandu and flourish their happiness and proudness in entire the nation.

    3
    0
    Share

  • jamuna kc लेख्नुहुन्छ    |   २०७३ पुष २३ गते १८:४३

    Heart touching article Yamuna ji

    3
    0
    Share

  • manita thapa लेख्नुहुन्छ    |   २०७३ पुष २३ गते १८:४४

    Owo this is reality of our society

    3
    0
    Share

  • Sapana लेख्नुहुन्छ    |   २०७३ पुष २३ गते २३:१२

    Absolutely, I had felt same like yours no any differnce in each words.. My mother in law blessed me to bring my grand son. I felt so pressure on my cs time and playing so much things in my mind. After having a girl I could not express my feelings because that pressure on me..but now my husband and I have decided to not have another baby. Now I listen others who shows interest that we should have another baby… And I immediately say ok.. But my mind and heart answer them a big NO…

    4
    0
    Share

  • lokendra bc लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १४:१३

    xori ra xora bubai bararari hu bhanna bhabana hunu parcha .

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this