Comments Add Comment

चक्रपथमा ठूला विद्युतीय बसका लागि छुट्टै लेनको योजना

Photo Credit : फाइल फाेटाे

१७ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायातलाई व्यवस्थित गर्न बस र्‍यापिड ट्रान्जिट (बीआरटी) निर्माण हुने भएको छ । चक्रपथको २७ दशमलब ३ किमीमा बीआरटी निर्माण हुने भएको हो ।

आर्थिक वर्ष ०७१/७२ कै बजेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रु क्षमताको बस र्‍यापिड ट्रान्जिट (बीआरटी) को योजना समावेश गरिएको थियो ।

उपत्यकाको सडक पूर्वाधारले यात्रुको चाप थेग्न नसकेपछि सरकारले धेरै यात्रु क्षमताका ठूला बस सञ्चालनमा जोड दिँदै आएको छ । तर, चक्रपथमा साझा यातायात र केही निजी कम्पनीले थोरै मात्रामा ठूला बस सञ्चालन गरे पनि बीआरटी मोडेलमा भने अहिलेसम्म सञ्चालन भएको छैन ।

अब वैदेशिक लगानी भित्र्याएरै सरकारले यो परियोजना अघि बढाउने भएको छ । शुक्रबार र शनिबार काठमाडौंमा भएको लगानी सम्मेलनमा यो परियोजना निर्माणका लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ ।

१४९.५० मिलियन अमेरिकी डलर (१६ अर्ब ५४ करोड) को लागतमा निर्माण गर्ने गरी सम्मेलमा परियोजना ‘सो केस’ गरिएको थियो ।  प्रस्तावक कम्पनीसँग प्रक्रिया पूरा गरी परियोजना अघि बढाउने बोर्डले जानकारी दिएको छ ।

यस्तो छ परिकल्पना

चक्रपथमा दुईवटा ‘डेडिकेटेड लेन’ बीआरटीको हुनेछ । साढे ७ देखि ८ मिटरको लेन यसका लागि छुट्याउने योजना छ । १६० यात्रु क्षमताका ७० देखि ७५ वटा लामो आकारको विद्युतीय बस यो लेनमा गुड्नेछन् ।

बीआरटी परियोजना अन्तर्गत २६ देखि ३० वटा चढ्ने-ओर्लने स्टेसन हुनेछन् । यात्रुको सहजताका लागि स्टेशनमा बस आउने–जाने समयतालिकासहित आवश्यक सूचना प्रवाहित हुनेगरी डिजिटल डिस्प्ले राखिनेछ ।

एउटा स्टेशन पाँच मिटर चौडाइको हुनेछ र ६९३ आना क्षेत्रफलमा बीआरटी टर्मिनल बन्नेछ । विद्युतीय बस चार्ज गर्न ३० वटा आधुनिक चार्जिङ स्टेशन बनाउने योजना छ ।

दैनिक २० घण्टा सञ्चालन गर्ने लक्ष्य राखिएको बीआरटी परियोजा सार्वजनिक-नीजि साझेदारी (बूट) मोडेलमा निर्माण गरिनेछ ।
इच्छा देखाएको निर्माण कम्पनीले अब योजना, डिजाइन, निर्माण, वित्तीय व्यवस्थापन, सञ्चालन र मर्मतको काम गर्नुपर्नेछ ।

४ महिनाभित्र सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) सकेर ६ देखि ८ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन -डीपीआर) र वित्तीय व्यवस्थापन गरिसक्नुपर्नेछ ।

उक्त कम्पनीले २ वर्ष निर्माण सक्नुपर्नेछ । निर्माण कम्पनीले ३० वर्ष सञ्चालन गरेर सरकारलाई हस्तान्तरण गर्ने छ भने निर्माण अवधिमा परियोजनाका लागि आवश्यक सहायताले सरकारले गर्नेछ ।

के हो बीआरटी ?

विकसित देशमा सहरी यातायात व्यवस्थित गर्न धेरै यात्रु बोक्ने ठूला र लामा बस सञ्चालन गर्नेगरी ल्याइएको अवधारण हो- बस र्‍यापिड ट्रान्जिट (बीआरटी) ।

यसका लागि छुट्दै बस-वे अथवा ट्रान्जिट-वे को व्यवस्था गरिन्छ र त्यो लेनमा धेरै यात्रु क्षमताका ठूला बस गुडाइन्छ । क्षमता बढाएर सार्वजनिक यातायातलाई व्यवस्थित र दिर्घकालीन बनाउन यसको अवधारणा ल्याइएको पाइन्छ ।

छुट्टै डेडिकेटेड लेनमा सञ्चालन हुने भएकाले यसमा यात्रा गर्दा ट्राफिक जामको समस्या भोग्नु पर्दैन । सन् १९७४ मा पहिलो पटक ब्राजिलको क्युरिटीबामा बीआरटी सञ्चालनमा आएको थियो ।

सहरी यातायात व्यवस्थित गर्न यो अवधारणालाई धेरै देशले रुचाएका छन् । ल्याटिन अमेरिकी देश, युरोप, कोलम्बिया, मेक्सिको, चीन, इरान लगायतका देशले पनि अपनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment