Comments Add Comment

कांग्रेस नेतृत्वको तीर्थाटन

शेरबहादुर देउवाले सभापतिको हैसियतले पार्टीमा उत्साहको रक्तसञ्चार त गर्न सकेनन् नै, देउवाले नेतृत्व दिन नसकेकै कारण पार्टी कमजोर भएको ठान्ने देउवा इत्तरका नेताहरुले समेत भरपर्दो विकल्प दिन सकेनन् । यसले गर्दा राष्ट्रिय राजनीतिमा कांग्रेस आज ‘रक्षात्मक’ पंक्तिमा उभिन पुगेको छ ।

कांग्रेसका नेताहरु आज देशदौडाहा नामको ‘तीर्थाटन’ गर्दैछन् ! तीर्थाटन गर्ने नेताहरुको एजेण्डा भनेको राजा, हिन्दु, गुटको सवलीकरण, आसन्न महाधिवेशनमा आफ्नो मजबुदी जस्ता विषय देखिँदैछ ।

देउवा नेतृत्वको कांग्रेसले जनताका वीचमा जानकै लागि भए पनि संस्थागत धारणा निर्माण गर्न सक्नुपर्दथ्यो । संस्थागत धारणाको त कुरै छाडाैं, एकातिर महासमिति बैठकको म्यान्डेट पार्टी केन्द्रीय समितिको बहुमतले उल्ट्याएर लोक हँसाउने काम गर्‍यो भने अर्कातिर सरकारद्वारा गरिएका जनविरोधी कामका विषयमा संसद र सडकका लागि कांग्रेसले मुद्दासमेत बनाउन सकेन । कांग्रेस जस्तो पार्टी र सो पार्टीका नेताहरुका लागि कांग्रेस पार्टी केवल आफ्नो निजी ‘स्पेस’ खोज्ने थलोका रुपमा मात्र रुपान्तरण बन्दै गयो ।

कांग्रेस पार्टीको इतिहास हेर्दा शेरबहादुर देउवा सभापति बन्नुलाई त्यतिबेलै कांग्रेसमा आफ्नो भविष्य देखेका थिए, तिनै युवा आज मुर्छित छन् । देशका ज्वलन्त मुद्दामा पार्टीलाई देशसँग जोड्न नसक्दा कांग्रेस सभापति देउवा पार्टीभित्र र बाहिर आलोचनाका पात्र मात्र बनेका छैनन, पार्टी र देशकै भरोसा र विश्वास गर्न लायक नेताका रुपमा नेतृत्व दिन नसकेकै कारण उनको आलोचनाको “पारो” हृवात्तै बढेको छ ।

पार्टी सञ्चालनमा तटस्थीकरण देखाउन नसकेका देउवाको ‘सके विशेष महाधिवेशन गरेर देखाए हुन्छ’ भन्ने जस्ता जिल्ला सभापतिहरुलाई फर्काएको जवाफ समेतलाई सामान्य मान्न सकिन्न ।

सुदर्शन आचार्य

मूलत आज कांग्रेस एजेन्डाविहीन भएको छ । कांग्रेसमा प्रगतिशील धारलाई समाप्तै पारिँदैछ । कांग्रेसले आफ्नै नेतृत्वमा ल्याएको परिवर्तनको एजेण्डासमेत छाड्दै जाँदा तत्कालीन राजा ज्ञानेन्द्रले ‘राजमुकुट’ को सपनासमेत देख्न थालेका छन् । सँगै परिवर्तनको एजेण्डाबाट कांग्रेस विचलित हुँदै गएकाले जनताले समेत साथ छोड्दै गएका छन् ।

प्रश्न गर्नै पर्ने हुन्छ – कांग्रेस राजा, हिन्दु वा परिवर्तनको एजेण्डा के चाहन्छ ? जनताले बुझ्ने गरी कांग्रेसले जवाफ दिनु जरुरी छ । कांग्रेसको समग्र राजनीति ब्यक्तिकेन्दि्रत हुन थाल्यो । आफैंलाई उठाउने भरोसायोग्य समाज समेत बिसर्ंदै गयो । आज राजनीतिका नाममा खानदान र वंशवाद खोज्न थालियो । कांग्रेसको जीवन पद्दति यति खर्चिलो र भडकिलो बन्दै गयो कि कांग्रेस नेता जिल्ला जाँदा समेत हेलिकप्टर चार्टर्ड सामान्य बन्न थाल्यो ।

वीपी, गणेशमान र किसुनजीले सिकाएको समाजवादी संस्कारमाथि नै आज खिल्ली उडाइँदैछ । कांग्रेस सञ्चालनको तौरतरिका हेर्दा कांग्रेसको आदर्शका लागि जीवन र जवानी अर्पेका हजाराैं आदर्शवान कार्यकर्ता आज नेतृत्वसँगै झस्कन पुगेका छन् ।

लखन थापाको विद्रोह, सुब्बा कृष्णलालसँग जोडिएको मकै पर्व र नेपाल प्रजा परिषदद्वारा प्रजातन्त्र स्थापनार्थ गरिएको आन्दोलन एवं गतिविधि निस्तेज पार्न राणा सरकारद्वारा विसं. १९९७ मा चार सपुतलाई दिइएको फाँसी प्रकरणसँग नेपाली कांग्रेसको स्थापनाको प्रारुप जोडिन पुग्छ ।

कांग्रेसको इतिहासको रचनामा धेरै योद्धाहरुले शहादतसमेत प्राप्त गर्न पुगेका थिए । तर, गौरवमय इतिहास बोकेको पार्टीको खातामा मौज्दात रहेको इतिहास नामको सान र गौरव आजको नेतृत्ववाट कमजोर बनाउने मात्र नभई बेलाबखत सत्तामा समर्पण गरिदिनेक्रम सँगै पार्टीभित्रका विचारले फरक धारलाई समेत बाहुबलकै माध्यमबाट पेल्ने नीति अख्तियार गरिँदा कांग्रेस यतिबेला इतिहासकै संकट एवं कमजोर अवस्थामा पुगेको छ ।

महासमितिजस्तो उपल्लो महत्वपूर्ण निकायवाट सर्वसम्मत लिइएको निर्णयलाई केन्द्रीय समितिको बहुमतका आडमा निमेषभरमा जब उल्ट्याउने काम भयो, अब बुझ्नैपर्नेहुन्छ – कांग्रेस नेतृत्वका लागि विधि र पद्दतिसँगै लाज र गाल भन्ने कुरा गौण हो । थप बुझनुपर्ने हुन्छ – कांग्रेसको आजको नेतृत्व भोलि पनि नेतृत्व हत्याउनकै लागि जे पनि गर्न तयार छ ।

आज बाम सरकारले राष्ट्रियतामाथि नै दुरगामी प्रभावपार्ने खालका एकपछि अर्को निर्णय लिँदैछ । संवैधानिक नियुक्ति जस्ता महत्वपूर्ण विषयमा समेत प्रतिपक्षको उपस्थिति आवश्यक ठान्न छाडिएको छ । ‘स्वतन्त्र मधेस गठबन्धन’ जस्ता शब्द राखेरसमेत सरकार पृथकतावादी आन्दोलनकारीसँग राष्ट्रिय अखण्डता नै खण्डित बनाउन सहयोगीसिद्ध हुने लिखित सम्झौता गरेर डरलाग्दो ‘दस्तावेज’ छाड्दैछ ।

तर, यी र यस्ता विषयमा लोकतन्त्रको जगमा स्थापित भएको भनिएको कांग्रेस भने ‘अर्थपूर्ण मौनता’ साँधेर बसेको छ, मानौं कांग्रेसका सामु दुई/अढाई वर्षपछि आउने महाधिवेशनको एजेण्डा बाहेक अन्य एजेण्डा नै छैन ।

पार्टीका नेताहरुको पछिल्लो कृयाकलापले पार्टीभित्रको अन्तरसघर्षलाई यति पेचिलो बनाउँदै लगेको छ कि, उनीहरुको एजेण्डामा सत्ताद्वारा गरिँदै आएको जनविरोधी कार्यसँगै जनजीविकाका सवालमा बोल्नु कुनै जरुरी नै छैन ।

नेपाली कांग्रेसको इतिहास निर्वाचनका सन्दर्भमा हार र जीतको इतिहास हो । तर, विगतका निर्वाचनमा हार ब्यहोर्दा पनि कांग्रेस जनताका वीचमा जितकै मनोवलमा प्रस्तुत हुने गर्दथ्यो । तर, योपटक इतिहासमै पहिलोपटक मनोवल गिरेको कांग्रेस आ-आफ्ना निजी र खुद्रे एजेण्डा बोकेर एकले अर्काको मानमर्दन गर्न कार्यकर्तामाझ गइरहेको छ ।

कांग्रेस र उसको नेतृत्वका लागि वीपी, सुवर्णसमशेर, गणेशमान, किसुनजी, गिरिजाप्रसाद, सुशील कोइराला, शैलजा, भीमबहादुर तामाङ जस्ता दिवंगत नेतालाई सम्झन कुनै अवसर नचाहिनुपर्ने हो । उनीहरुकै त्याग, आदर्श र समर्पणबाट कांग्रेस पार्टी यहाँसम्म आइपुग्यो । तर, पछिल्लो समय वीपी र गिरीजाप्रसाद कोइराला जस्ता नेताहरुका जन्मजयन्ती र स्मृति दिवस जस्ता कार्यक्रमसमेत कांग्रेसले संस्थागत रुपमा गर्न छाड्यो !

पछिल्लो समय गणतन्त्र प्राप्तिको अगुवाई गर्ने गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा माइतीघर मण्डलामा दीप प्रज्वलन बाहेक कांग्रेस पार्टीले संस्थागतरुपमा कुनै औपचारिक कार्यक्रम गर्न आवश्यक ठानेन । उक्त घटनालाई कोइरालासँगको प्रतिशोधका रुपमा पनि कतिपयले अर्थ लगाए । मृत्युपर्यन्त समेत प्रतिशोध साँधिने संस्कारले कांग्रेसको आकार बढ्ला वा झनै खुम्चला ? प्रश्न पेचिलो रुपमा अगाडि आएको छ ।

नेपाली कांग्रेस पार्टीको मुख्यालय ललितपुरस्थित सानेपामा छ । पार्टी मुख्यालय नेताको आगमनको प्रतिक्षारत छ । तर, नेताको निवास बुढानीलकण्ठ जाने सडक क्लियर राख्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको देख्न सकिन्छ ।

आफ्नो निवासमा निजी स्वार्थका लागि जम्मा भएको झुण्ड देखेर आफ्नो लोकपि्रयताको पारो हृवातै बढेको देख्ने प्रवृत्तिका कारण कांग्रेसको साइज दिनानुदिन खुम्चँदै गएको बुझ्न कठिन छैन । सवाल देउवाको मात्र होइन, नेता जिल्ला जाँदा जुन नेताको जुन स्वभाव छ, सोही प्रवृत्तिको ‘बनावटी गफ’ लगाइदिएर साखुल्ले बन्ने प्रवृत्तिका कार्यकर्ता छन् भन्ने नेता स्वयमले बुझ्न नसक्नुले पनि कांग्रेसको साइज घट्न मद्दत पुगेको हो ।

आज पनि नेता जिल्ला जाँदा गाडीका लावालस्कर अघिपछि दौडने र पाँच/सात सय किलोका माला लगाइदिने ‘बिहारी संस्कृति’ ले कांग्रेसलाई ढपक्कै ढाकेको छ । अर्कातिर तिनै गाडीको लावालस्कर र मालाकै कारण आफू लोकपि्रय रहेको आँकलनका साथ एउटाले अर्काको अस्तित्व स्वीकार गर्नै नसक्ने प्रवृत्ति देख्दा निर्वाचनमा ब्यहोरेको हारको ठक्करका बाबजुद पनि चेत्न नसकेको कांग्रेसको क्षयीकरणमा विश्राम लागिहाल्ने स्थिति देखिँदैन ।

आम चासोका विषयसँगै राज्यद्धारा सिर्जित जनविरोधी कामका विषयमा प्रतिपक्षी कांग्रेस राज्यसँग ‘सौदाबाजी’ गर्दैछ भन्नेलाई स्वयम कांग्रेसकै भुमिकाका कारण बल पुग्दैछ । राणा, राजा र पञ्चायतसँग लडेर शासन जनताको हातमा ल्याउने मात्र नभइ माओवादीको हतियारसमेत खोस्न सवल कांग्रेसकै अगुवाइमा गणतन्त्र प्राप्त भएको विषय बताइरहनुपर्ने विषय रहेन । तर, इतिहासको खातामा जम्मा भएका तिनै विषय उठाएर मात्र जनताले स्वतन्त्रताको उपभोगसँगै समृद्धि प्राप्त गर्ने होइनन् ।

आफ्नै अगुवाइमा नेपालमा दजनौं पटक परिवर्तन त भयो नै, कांग्रेसले अब आन्तरिक एकता र गुटविहीन आदर्शवाट समाजलाई नेतृत्व दिन सक्नुपर्दछ । कांग्रेसको आजको मूल समस्या भनेकै आदर्शवाट च्युत हुँदै जानु हो । पार्टीमा देखिएका दुई समूहमध्ये सभापति देउवा समूहमा देउवाद्वारा गरिएका कामको अनुमोदन बाहेक बाँकीमा ‘स्वतन्त्र विचार’ देखिँदैन ।

उता देउवाइञ्र प्रत्येक नेतामा स्वतन्त्र विचार बाहेक ‘साझा दृष्टिकोण’ पाउनै सकिँदैन । यही दोहोरो रस्साकस्सीका बीच च्यापिएको कांग्रेसलाई जनताको कांग्रेस बनाउने अभियानमा आज नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेताको खाँचो देखिएको छ । जसले कांग्रेस मात्र नभइ असहज परिस्थितिबाट गुज्रिरहेको देशलाई समेत नेतृत्व दिन सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment