Comments Add Comment

सेयर जारी गर्न ७ जलविद्युत् कम्पनीको तयारी

barun-hydro
३ माघ, काठमाडौं । रईरङ हाड्रोपावर कम्पनीले धितोपत्र बोर्डमा सेयर निष्कासन अनुमती मागेसँगै अब ७ जलविद्युत् कम्पनी सर्वसाधारणमा सेयर निकाल्न पाइपलाइनमा रहेका छन् । अहिले धितोपत्र बोर्डमा स्थानियको लागि सेयर जारी गर्न अनुमती माग्दै आँखु खोला जलविद्युत् ,मैलुङ खोला जलविद्युत् , राधी विद्युत् कम्पनी, जोशी हाडड्रोपावर, रईरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धितोपत्र बोर्ड पुगेका छन् ।

स्थानियमा सेयर जारी गरिसकेको युनाइटेड मोदीले भने सर्वसाधारणको लागि १७ लाख २५ हजार (१७ करोड २५ लाख रुपैयाँ बराबरको ) सेयर जारी गर्ने भएको छ ।

युनाइटेड मोदी

 

युनाइटेड मोदीले यसका लागि इक्रा नेपालबाट रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ३ रेटिङ प्रदान गरेको छ । समग्र अवस्थाको आधारमा प्रदान गरिने यो रेटिङले कम्पनीको आधारभूत पक्ष औसत रहेको सङ्केत गर्छ ।

प्रतिसेयर १ सय रुपैयाँ रहने यी कुल सेयरमध्ये ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको थियो । ९ दशमलव ९ मेगावाटको लोअर मोदी–१ सञ्चालन गरिरहेको कम्पनीले १० दशमलव ५ मेगावाटको लोअर मोदी–२ निर्माण गर्ने भएको छ । कास्केड प्रोजेक्टको रूपमा रहने यो आयोजनाको निर्माण लागत १ अर्ब ७७ करोड रहने अनुमान गरिएको छ ।

आँखुखोला जलविद्युत आयोजना

 

आँखुखोला जलविद्युत आयोजनाले २० लाख कित्ता (२० करोड रुपैयाँको) सेयर जारी गर्ने भएको छ । कम्पनीले यसको लागि इक्रा नेपालबाट रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।

समग्र अवस्थाको आधारमा प्रदान गरिने रेटिङले कम्पनीको आधारभूत पक्ष औषत भन्दा कमजोर रहेको संकेत गर्छ ।

प्रतिसेयर १०० रुपैयाँ रहने यि कूल सेयरहरुमध्ये ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याइने भएको छ । बाँकी रहेको सेयरमा कम्पनीका कर्मचारी, सामुहिक लागनी कोष र सर्वसाधरणले आवेदन दिन पाउनेछन् । कम्पनीले धादिङको सल्यानकोट र मार्पाक गाविसमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीले बैंक कर्जा घटाउन आईपिओ जारी गर्न लागेको हो । आईपिओबाट उठेको रकममध्ये ८० प्रतिशत कर्जा तिर्नको लागि प्रयोग गरिने भएको छ ।

राधि विद्युत् कम्पनी

राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको सेयर जारी गर्दैछ । ४ लाख १० हजार कित्ता सेयर स्थानीय प्रभावीत बासिन्दाका लागि र ६ लाख १५ हजार कित्ता सेयर सर्वसाधरणको लागि जारी गर्ने भएको हो ।

कम्पनीको सेयरलाई ईक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ । कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्वन्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

हाल लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत सेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कम्पनीले पहिलो चरणमा स्थानीयको लागि ३ करोड ७१ लाख रुपैयाँ (३ लाख ७१ हजार कित्ता) सेयर जारी गर्ने भएको हो ।

कम्पनीले स्थानिय जनताको लागि सेयर जारी गर्ने अनुमती माग्दै पुस १२ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । जलविद्युत् कम्पनीले स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्ने नियम रहेको छ । स्थानिय सहित सर्वसाधारणमा ३० प्रतिशत सेयर जारी गर्ने सम्भावनालाई आधारमान्दा ७ करोड ४२ लाख रुपैयाँको सेयर जारी हुन सक्ने सम्भावना रहेको छ ।

कम्पनीको पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको छ । बिसं २०७१ माघ १ गतेबाट यो आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन भएको नेपाल विद्युत् प्राधिकरण पावर ट्रेड डिपार्टमेन्टमा उल्लेख गरिएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । यसअघि समाचारहरुमा कम्पनीले रजदुवाली आयोजना समेत निर्माण थालेको खबर प्रकासित भएका थिए ।

गरज्याङ उपत्यका हाइड्रोपावर

गरज्याङ उपत्यका हाइड्रोपावरले स्थानियको लागि २ लाख कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट रहेको छ ।

यता, रईरङ हाड्रोपावर कम्पनीले ५ लाख ६० हजार कित्ता सेयर स्थानियमा जारी गर्ने भएको हो । कम्पनीको बिक्रीप्रबन्धकमा एस क्यापिटल रहेको छ । कम्पनीको वेबसाइट अनुसार दुई आयोजना रहेको छ । रइरङ २००४ यता सञ्चालनमा रहेको छ भने इवाखोला सञ्चालनमा आउँन बाँकी रहेको छ । मैलुङ खोला जलविद्युत् स्थानियमा ३ लाख ६८ हजार कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment