Comments Add Comment

बचत र चल्ति निक्षेपको पैसा मुद्दती खातामा सर्यो


६ फागुन, काठमाडौं । व्याज नपाइने चल्ति र कम व्याज दर पाइने बचत खाताको रकम मुद्दतीमा सरेको देखिएको छ ।

गत पुसमा कुल निक्षेपमा चल्ति खातामा रहेको रकमको हिस्सा ८.६ प्रतिशत रहेको थियो भने बचतमा रहेको निक्षेपको हिस्सा ४३.८ प्रतिशत रहेको थियो । यस वर्षको पुसमा भने कुल निक्षेपमा चल्ति र बचतको हिस्सा ८.२ र ४२.१ रहेको छ । यता मुद्दती निक्षेप कुल निक्षेपको २९.२ प्रतिशत हाराहारीमा रहेकोमा बढेर ३२.७ प्रतिशतमा रहेको थियो ।

‘कुल निक्षेपमा कल र मार्जिन निक्षेपको हिस्सा १ प्रतिशतको तलमाथी हुनु ठुलो कुरा होइन तर चल्ति र बचतको रकम घटेर मुद्दती नक्षेपमा रकम राख्ने क्रम बढेको यसले देखाउँछ,’ सानिमा बैंकका कार्यकारी अधिकृत भुवन दाहालले भने ।

हाल बैंकहरुको निक्षेप खाता मध्ये चल्ति खातामा १ खर्ब ७८ अर्ब, बचतमा ९ खर्ब ९ अर्ब, मुद्दती निक्षेपमा ७ खर्ब ७ अर्ब र कल निक्षेपमा ३ खर्ब ४८ अर्ब र मार्जिन निक्षेपमा १८ अर्ब रुपैयाँ रकम रहेको छ ।

बैंकहरुले कर्जा लगानी योग्य पुँजी अभाव भएपछि मंसिरबाटै मुद्दती निक्षेपको व्याज दर बढाउन थालेका थिए । बैंकहरुले अहिले पनि ३ देखि ५ वर्षसम्मको स्थिर व्याज दरमा र पछिल्ला वर्षमा व्याज दर केही प्रतिशत मात्र घट्ने गरि निक्षेप योजना सञ्चालनमा ल्याएका छन् ।

बैंकहरुको कुल निक्षेपमा भने ७.२ प्रतिशतले बढेर २१ खर्ब ६१ अर्ब पुगेको छ । त्यस्तै कर्जा लगानी १२.७ प्रतिशतले बढेर १८ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।  यता बैंकहरुले राष्ट्र बैंकले अनुत्पादक भनेको ओभरड्राफ्ट कर्जामा ३ खर्ब ४१ अर्ब, घरजग्गा कर्जामा २ खर्ब ८६ अर्ब, गाडी कर्जामा १ खर्ब ४२ अर्ब र सेयर धितो कर्जामा ४० अर्ब कर्जा लगानी गरेका छन् । तर राष्ट्र बैंकको यो तथ्यांक अनुसार भने बैंकहरुको कर्जा लगानी सीमा भित्र रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment