Comments Add Comment

निर्वाचन बिथोल्ने रणनीतिमा मोर्चा

१४ फागुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने तयारी गरेको राजधानी दैनिकमा समाचार छ ।

सरकारले ३१ वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको गठबन्धनको बैठकले सरकारलाई बुझाएको २६ बुँदे माग कार्यान्वयन नगरी निर्वाचनको मिति घोषणा भएकाले निर्वाचन बिथोल्ने चेतावनी दिएको हो ।

‘गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैंमा असंवैधानिक छ,’ गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकार आफैंले संसद्मा दर्ता गरेको संशोधन विधेयक परिमार्जनसहित पारित नगरी २०७४ वैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरिएकाले स्थानीय तहको निर्वाचन हामीलाई मान्य छैन, त्यसकारण यसका विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरियो ।’

मधेसी मोर्चाले भने यसअघि नै निर्वाचनको विरोधमा आन्दोलन सुरु गरिसकेको छ । संविधान संशोधन परिमार्जनसहित पारित गरेर निर्वाचन गर्नुपर्ने माग मधेसी मोर्चासहितको गठबन्धनले गर्दै आएको छ ।

तराई–मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माग सम्बोधन नगरी हुन लागेको निर्वाचन मधेसी मोर्चासहितको गठबन्धनलाई कुनै हालतमा स्वीकार हुनै नसक्ने बताए । ‘निर्वाचन बिथोल्न के–के गर्नुपर्छ आन्दोलनमार्फत त्यो सबै गर्न हामी तयार छौं,’ यादवले भने । गठबन्धनको बैठकले अगामी आन्दोलन सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment