Comments Add Comment

अस्थायी पुल बन्यो आम्दानीको स्रोत

९ चैत, भीमदत्तनगर । नदी तर्दा पुलबाट तरेबापत पैसा तिर्नुपर्छभन्दा पत्यार नलाग्न सक्ला, तर कञ्चनपुर–कैलालीको सीमा छुट्याउने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा यहाँको अमरबस्तीका स्थानीयवासीले रकम बुझाउनुपर्ने बाध्यता रहेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ अमरबस्तीका नागरिक धनगढीलगायत अन्य स्थानमा जान मोहना नदीमा बनाएको बाँसको अस्थायी पुलबाट तरेबापत वर्षौंदेखि पैसा तिर्दै आएका छन् । वारि कञ्चनपुरको अमरबस्ती र पारि कैलालीको बरहरा बस्तीको बीचमा पर्ने नदीमा स्थानीयवासीले समूहमार्फत अस्थायी पुल बनाएका छन् ।

पुलमा ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल  १० र प्रतिव्यक्ति  पाँच रूपैयाँ रकम तिर्नुपर्ने हुन्छ । “नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोर–दोहारमै समस्या पर्छ ।” पुलका चौकीदार सुन्दर चौधरीले भने–“पुल नहुँदा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ ।”

अमरबस्तीका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको चौधरीको भनाइ छ । “पुल नभएको भए गाउँमा उत्पादन गरिएको तरकारी बजारमा पु¥याउन पनि गाह्रो थियो ।” चौधरीले भने–“बर्सातमा पुल रहँदैन, घुमाउरो बाटो प्रयोग गर्नुको विकल्प रहँदैन ।”

पुलबाट दैनिक रु ६ सय देखि नौसयसम्म रकम सङ्कलन हुने गरेको उनले बताए । “पुनर्वास घटनाका बेला एक दिनमै ६ हजार सङ्कलन भयो ।” उहाँले भने–“झोलुङ्गे पुलका लागि स्थानीयवासीले माग गरेको भए पनि सुनुवाइ भएको छैन ।”

उनले सङ्कलन भएको रकम बर्सातपछि नयाँ पुल निर्माणमा खर्च हुने गरेको बताए । “गाउँले समूहमा आबद्ध भएर पुल मर्मतसम्भारदेखि रकम सङ्कलनसम्म गर्छौं”, उनले भने–“झोलुङ्गे पुल बने यहाँको धेरै समस्या समाधान हुने थिए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment