Comments Add Comment

जापानी परामर्श कम्पनीलाई सीतापाइला-नौबीसे सुरुङमार्गको जिम्मा

९९ करोडमा रुपैयाँमा १ वर्षभित्र डिजाइन पेश गर्नुपर्ने

१० चैत, काठमाडौ । सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी निप्पोन कोइलाइ चयन गरेको छ । सुरुङमार्गको नक्सा डिजाइन निप्पोन कोइले नै तयार पार्नेछ । साथै यसले निर्माण कम्पनीले गरेको कामको पनि निगरानी राख्नुपर्नेछ ।

सडक विभागले गत शुक्रबार निप्पोन कोइलाई परामर्शदाताको रुपमा चयन गरेको विभागका बैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनले भने- ‘सुरुङमार्ग निर्माणका लागि परामर्शदाताका रुपमा निप्पोन कोइलाई चयन गरेका छौं, यससँगै ज्वाइन्ट भेञ्चरका रुपमा एट जापानीज इञ्जिनियरिङ र इटेको नेपाल रहेका छन् ।’

नेपाली कम्पनीलाई पनि सुरुङमार्ग सम्बन्धी अनुभव होस् भन्ने उद्देश्यले परामर्शदाताले नेपाली कम्पनीसँग पनि परामर्शदाता कम्पनीले सहकार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्था सडक विभागले गरेको थियो, जसका कारण नै ‘इटेको नेपाल’ ले पनि यसमा परामर्शदाताको रुपमा काम गर्न पाएको हो ।

परामर्श तथा डिजाइन बापत ९९ करोड

निप्पोन कोइलाई सडक बिभागले डिजाइन तथा नियमन गरेबापत ९९ करोड रुपैयाँ दिने भएको छ । निप्पोन कोइले एक वर्षभित्रमा नै सुरुङमार्ग डिजाइन तयार पार्नु पर्नेछ ।

डिजाइनको अन्तिम रुप तयार नहुँदै सडक विभाग निर्माण कम्पनी चयन गर्ने सोचमा रहेको छ । श्रेष्ठले भने ‘डिजाइन तयार हुनुभन्दा अघि नै हामी निर्माण कम्पनी चयन गर्नेछौं, डिजाइन तयार हुनै लाग्यो भन्ने लागेपछि निर्माण कम्पनी चयन गर्ने हो । ‘

कस्तो कम्पनी हो निप्पोन ?

निप्पोन कोइ ६० वर्ष पुरानो परामर्शदाता कम्पनी हो । ६० वर्षमा यसले ३ हजार भन्दा बढी निर्माणमा परामर्शदताका रुपमा काम गरिसकेको छ । साथै यो कम्पनीले अहिलेसम्म १ सय ३५ वटा राष्ट्रमा आफ्नो काम सम्पन्न गरेको छ ।

सन् १९४६ देखि जापानमा सञ्चालनमा आएको यो कम्पनीको ९० मिलियन अमेरीकी डलर बराबरको चुक्ता पुँजी रहेको छ । साथै यो जापानको सेयर बजार टोकियो स्टक एक्सचेन्जमा पनि सुचीकृत भइसकेको छ ।

अब २० मिनेटमै सरर नौबिसे

सीतापाइला नौबिसे सुरुङमार्ग निर्माण भएसँगै काठमाडौंबाट नौबिसे २० मिनेटमै पुगीने छ । अहिले भने नागढुंगाको जामका कारण काठमाडौंबाट नौबिसे पुग्नको लागि ३ घन्टा भन्दा बढि समय लाग्ने गर्दछ ।

राजधानीबाट बाहिरिने मुख्य नाकामै हुने जामका कारण अहिले यो नाका हुँदै उपत्यका बाहिरिने तथा भित्रिने यात्रुले घन्टांै जाममा बस्नुपर्ने बाध्यता छ । यात्रुले अब जामको सास्ती भोग्नु नपरोस् भन्दै सडक बिभागले सुरुङमार्ग निर्माणको काम अघि बढाएको हो ।

यो सुरुङमार्ग निर्माण भएपछि यो क्षेत्रमा चल्ने सवारी साधनको इन्धन पनि बचत हुन्छ । यात्रुको समयसँगै सवारी साधनको इन्धन पनि बचत हुने भएका कारण यसबाट देशलाई आर्थिक लाभ हुने श्रेष्ठको भनाइ छ ।

नागढुङ्गाबाट करिब ८० मिटर तलबाट जाने यो सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकनका बारेमा अध्ययन सम्पन्न भइसकेको छ । रिपोर्टका अनुसार सुरुङमार्ग निर्माण गर्दा कुनै पनि वातावरणीय क्षति हुने देखिँदैन ।

तीन वर्षमा निर्माण सकिने, सुरुङको लम्बाइ २.४५ किमी

निर्माण सुरु भएको ३ वर्षभित्रै यसको काम सम्पन्न गर्ने सडक विभागको योजना छ । सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ऋण उपलब्ध गराउन लागेको छ । साथै यसको ऋणलाई नेपाल सरकारले पनि स्वीकृत गरिसकेको छ ।

सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १७ अर्ब रुपैयाँ ऋण दिने छ । श्रेष्ठका अनुसार जापानले नेपाल सरकारलाई ०.०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्ष भित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ ।

यो सडकखण्ड कुल ६ किलोमिटरको हुनेछ । सुरुङ २.४५ किलोमिटर को निर्माण गरिने भएको छ । यो सडक खण्डअन्र्तगतको सुरुङ सीतापाइला नजिकैको बस्नेतछापदेखि धादिङको सिस्नेखोलासम्म निर्माण गरिने श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment