Comments Add Comment

‘पुरानो पोखरा’का संकलित फोटोहरुको प्रदर्शनी सुरु

१२ चैत, पोखरा । ५० वर्ष भन्दा अगाडिको ‘पुरानो पोखरा’का संकलित फोटोहरुको प्रदर्शनी पोखरामा सुरु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको सभाहल र अमृत कक्षमा ‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनीको फोटो संकलक डगलस हलले शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले आफूसँग जे जति संकलित फोटोहरु थिए ति सबै नेपालको सम्पति भएकाले हस्तान्तरण गरेको बताए ।

पोखरा लेखनाथ महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख ओमराज पौडेलले पुरानो सम्झनालाई जोगाई राख्नु चुनौतिपूर्ण कार्य भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले इतिहास जोगाइदिएकोमा खुसी व्यक्त गर्दै सुन्दर पोखराको पर्यटन प्रवर्द्धनको लागि पुराना फोटाहरु सहायक हुने बताए ।

अग्रज फोटो पत्रकार विश्वरत्न शाक्यले पोखराको फोटोग्राफी इतिहाससँग पोखराको पनि इतिहास जोडिएको बताए ।

शनिबारदेखि सुरु भएको फोटो प्रदर्शनी सोमबारसम्म चल्नेछ । प्रदर्शनीमा १९६२ मा पोखरा आएको ‘अमेरीकन पिस कर्प भोलन्टियर’ का १०७ जनाले खिचेका १८ हजार तस्वीरहरु मध्ये पुराना र पोखराको तत्कालिन अवस्था बोल्ने ८४ फोटोहरु राखिएका छन् ।

‘अमेरीकन पिस कर्प भोलन्टियर’का १०७ जना सदस्यहरुले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएका हुन् । ति फोटोहरु खिचेकै समयमा डगलसले प्रतिलिपी अधिकार लिएका थिए ।

प्रदर्शनीमा पोखराको सबैभन्दा पुरानो तस्वीर पनि राखिएको तस्वीर संकलक तथा कार्यक्रम संयोजक सुनिल उलकले जानकारी दिए ।

वि.स.१९८१ सालमा नेपालकै पहिलो फोटोग्राफर दिर्घमान चित्रकारले खिचेका तस्वीर पनि प्रदर्शनीमा राखिएको उनले बताए । उक्त तस्वीर पोखराकै पहिलो र सबैभन्दा पुरानो तस्वीर भएको उनको दाबी छ ।

पचास वर्ष पहिलेका १८ हजार फोटो संकलन गरेका डगलस फोटो प्रदर्शनीको उद्घाटन गर्न नेपाल आएका हुन् । यद्यपी फोटो प्रदर्शनीमा राखिएका ८४ वटा फोटोमा उनले खिचेका फोटो भने समावेश गरिएका छैनन् । तर संकलित १८ हजार फोटोमा भने आफैले खिचेका करीब एक सय फोटो रहेको डगलसले जानकारी दिए ।

उनले आफूसँग भएका सबै फोटो शनिबारै पोखरा लेखनाथ महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा पोखरेलीहरुको उपस्थितमा फोटो प्रदर्शनीका संयोजक सुनिल उलकलाई हस्तान्तरण गरे । उनले ती फोटो सुरक्षित राख्दै बढी भन्दा बढी पोखरेलीलाई देखाउन आग्रह गरे ।

फोटो खिचेको पचास वर्ष पुगेपछि फोटोको प्रतिलिपी अधिकार हस्तान्तरण गर्नुपर्ने अन्र्तराष्ट्रिय नियमानुसार डगलसले प्रतिलिपी अधिकार आफूलाई दिएको उलकले बताए । उनले प्रदर्शनीमा व्यक्ति विशेषको भन्दा पनि स्थान विशेषका फोटोहरु राखिएको जानकारी दिए । जुन फोटोहरुले पोखराको इतिहास झल्काउनुका साथै पोखराको परिवर्तनको आभास दिलाउने उनको विश्वास छ ।


प्रदर्शनीमा सन १९५५ देखि १९५७ सम्म खिचिएका भिडियो क्लिप्स पनि प्रदर्शन गरिएको थियो । उलकले फोटो प्रदर्शनी पछि ती फोटोहरुलाई पोखरा अन्तर्राष्ट्रिय संग्रहालयमा पनि केही समय प्रदर्शनीका लागि राखिने जानकारी दिए ।

फोटो प्रदर्शनी सुनिल उलकको एकल प्रयासमा भएको हो । प्रदर्शनीको सहआयोजकमा पोखरा लेखनाथ महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघ रहेका छन् ।

पोखरा बिग्रिएछः डगलस दम्पती

‘पुरानो पोखरा’का फोटो संकलक डगलस हलले पहिलेको भन्दा पोखरा बिगि्रएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले पोखरामा पहिले पाटी/पौवा तथा चौतारीहरु प्रशस्त भएपनि अहिले सबै मासिएको भन्दै चिन्ता व्यक्त गरे ।

डगलससँगै पोखरा आएकी उनकी श्रीमती केट हलले पनि चौतारी नदेख्दा मन खिन्न भएको बताइन् ।

टुटेफुटेको नेपाली बोल्ने हल दम्पतीले एकै स्वरमा भने,-‘पहिले पाटी/पौवा तथा चौतारीहरु प्रशस्त थिए, कति राम्रो थियो त्यतिबेलाको पोखरा, अहिले त थकाई मार्ने चौतारी सबै मासिएछन्, पोखरा त बिगि्रएछ ।’

उनीहरुले धुवाँ, धुलो र पोल्युसन बढेको देखेर दिग्दारी लागेको बताए । यद्यपी विद्युत आएर झलमल्ल भएको तथा गाग्रीमा पानी बोक्ने दुःख हटेको देखेर खुशी व्यक्त गरे ।

डगलस दम्पती जतिखेर पोखरा आए त्यतिबेला उनीहरु वैवाहिक जीवनमा प्रवेश गरेका थिएनन् । उनीहरु वि.स. १९६२ सालमा नेपाल आएका थिए । नेपालमै आउँदा डगलस र केटबीच माया पि्रती बसेको र अमेरीका फर्केर विवाह गरेको उनीहरुले सुनाए । भोलन्टियर सर्भिसका लागि ‘अमेरीकन पिस कर्प भोलन्टियर’ समूहमार्फत दुबै नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment