Comments Add Comment

चीनसँगका चार कनेक्टिभिटी नेपालको मुख्य प्राथमिकता: प्रचण्ड

केरुङ-काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न प्रस्ताव

१३ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । चीन-काठमाडौं थप हवाई सेवा बिस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न उनले सुझाव दिए ।

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उदघाटन गर्दै प्रचण्डले भने, ‘भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो । कनेक्टिभिटी हाम्रो प्राथमिकतामा रहन्छ। पूर्वाधारसँगै विचारको कनेक्टिभिटी र बजारसँगै मनको कनेक्टिभिटी। सडक, रेलमार्ग र वेब लिंकको कनेक्टिभिटीले साझा समृद्धिको मार्गप्रशस्त गर्न सक्छ।’

भूकम्पपछि अवरुद्ध तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ नेतृत्वलाई आग्रह गरेका प्रचण्डले चिनियाँ व्यवसायीहरुलाई नेपालको जलस्रोत र पूर्वाधारका क्षेत्रमा लगानी गर्न आह्वान गरे । विशेष गरी सौर्य, वायो, हाइड्रो र वैकल्पिक ऊर्जामा चिनियाँ लगानीको आफूले अपेक्षा गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले चीन र नेपालबीच सहरी पूर्वाधार, सीमापार ट्रान्समिसन लाइन, टेलिकम्युनिकेसन र आइसिटीका क्षेत्रमा पनि सहकार्यको खाँचो औंल्याए ।

प्रधानमन्त्री प्रचण्डले गत वर्ष चीनसँग भएका व्यापार तथा पारवहन सन्धिको प्रोटोकलहरुमा थप सहमति जुटाउन नेपालले प्राथमिकता दिएको जानकारी गराए ।

बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुअघि प्रचण्डले ग्रेटवाल अवलोकन गरेका थिए । चीन भ्रमण सकेर प्रचण्ड नेतृत्वको टोली १६ गते स्वदेश फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment