+
+
Shares

जापान पुगेर धुर्मुस-सुन्तलीले भने- ‘जनताका लागि देशमा सरकार छैन’

फाउण्डेशनको सहयोगार्थ ३० लाख ६० हजार येन संकलन

शिरिष मगर शिरिष मगर
२०७४ वैशाख १९ गते १०:२३

टोकियो । पारिलो घाम अस्ताउँदै थियो । चन्द्रसुर्य अंकित नेपाली झण्डा साथमा लिएका मानिसहरुको टोकियोस्थित नाकानो जिरो हलतिर लम्कँदै थिए ।

साडीमा सजिएकी गुल्मीकी संगीता कुँवर पनि त्यही भिडमा देखिन्थिन् । उनले आफ्ना साथीहरुसँग गफफिदै भन्दै थिइन्, ‘धुर्मुस-सुन्तलीको सम्मानमा कन्जुस्याईं गर्नुहुन्न है ।’ त्यही भीडमा अर्कीले भन्दै थिइन्, ‘मेरो एक दिनको कमाई धुर्मुस-सुन्तली फाउण्डेशनलाई ।’

यसरी लम्कदै गरेको बालबच्चादेखि बुढापाकासम्मको भीड हल परिषर पुग्दा धुर्मुस-सुन्तलीको बेग्रप्रतीक्षामा देखिन्थे । हजारौंको सङ्ख्यामा उपस्थित रहेका जापानबासी नेपालीको भीडलाई सम्हाल्न आयोजक पनि तयार अवस्थामा थिए । बिस्तारै हल भरियो । हलभित्र फर्फराएका चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डाले जापानबासी नेपालीहरुमा राष्ट्र मोह झल्किन्थ्यो ।

लगत्तै हलमा उपस्थित हजारौं दर्शकदीर्घाको ब्यग्र प्रतीक्षाको घडीलाई समाप्त गर्दै जब उद्घोषक दिनेश डि.सीले धुर्मुस-सुन्तलीलाई स्टेजमा बोलाए तब धुर्मुस-सुन्तलीको सम्मान र स्वागतमा बजेको टालीले नाकानो जिरो हल गुञ्जायमान बन्यो । उनीहरुको प्रस्तुतले उपस्थित दर्शकहरु पेट मिचिमिचि हाँस्न बाध्य बने ।

धुर्मुस-सुन्तलीले आफ्नो प्रस्तुतीको धेरै समय देशको विकासमा बाधक बनेको फोहोरी राजनीतिप्रति तिखो व्यंग्य गरे । उनीहरुले जनताले अझैपनि सिटामोल पाउन गाह्रो रहेको अवस्थामा राज्यको ढुकुटीबाट पेश्की लिएर उपचारकै लागि विदेश पुग्ने नेता र शहीदको बलिदानप्रति अबुझ बनेको सरकारप्रति व्यंग्य गर्दै प्रस्तुति दिए ।

उनीहरुले कार्यक्रममा उज्यालो नेपालका अभियान्ता कुलमान घिसिङको भने खुलेरै प्रशंसा गरे । तर बेलाबेला भुकम्पपीडितको दुःख र वेदना सम्झँदा उनीहरु भुकम्प गएको दुई बर्ष बितिसक्दा पनि सरकार अझै पुर्णनिर्माणमा लचिलो बन्न नसकेकोमा निकै दुखी देख्न्िथे ।

सरकार लचिलो नबने पनि आफूहरुले सुन्दर नेपालको परिकल्पना गरेको कार्यक्रममा धुर्मुस-सुन्तलीले उद्घोष गरे । जब धुर्मुस-सुन्तली आफ्नो प्रस्तुतीमा राष्ट्रिप्रतिको मोहलाई झल्काउँथे हलमा उपस्थित दर्शकहरु निकै भावुक देखिन्थे । सरकारको उदासिनताका कारण होला उनीहरु प्रस्तुतीमै आँखाभरि आँशु लिएर देशमा सरकार छैन समेत भन्न बाध्य बने ।

त्यस्तै कार्यक्रममा सुन्तलीले ‘हाम्रो देशमा कि जुस पिइन्छ कि घुस लिइन्छ’ भन्दै गर्दा दर्शकदीर्घाबाट आएको तालीसहितको हुटिङ्गले हल गुञ्जायमान बन्यो । डा. गोविन्द के.सीको अनसनदेखि नेपाली जनतालाई बर्षौदेखि अन्धकारमा जीवन बिताउन बाध्य पार्ने देशद्रोहीलाई हुन नसकेको कार्वाहिसम्मको सन्दर्भलाई पनि उनीहरुले प्रस्तुतिमा समाबेश गरे ।

त्यस्तै धुर्मुस-सुन्तलीलले पछिल्लो समय सामाजिक सञ्जालले नेपाली समुदायमा पारेको नकारात्मक प्रभावलाई समेत आकर्षक तरिकाले प्रस्तुति दिएका थिए । उनीहरुलाई अर्का हाँस्यकलाकार दीपक आचार्य (बाङ्गे बा)ले प्रस्तुतिमा साथ दिए ।

सनराईज कर्पोरेशनले आयोजना गरेको ‘धुर्मुस-सुन्तली साँझ २०१७’मा पप गायक दिपक बज्राचार्यले आफ्ना आधा दर्जन गीत गाएर उपस्थित युवायुवतीलाई संगीतको नशामा झुमाए । ‘मायाको डोरीले’, ‘काली काली हिस्सी परेकी’ लगायतका गीत गाएका थिए ।

धुर्मुस-सुन्तली जोडी अभिनन्दित

हाँस्यकलाकारको परिचयलाई फराकिलो बनाउँदै समाजसेवामा सक्रिय जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई भव्य समारोहकाबीच जापानमा अभिनन्दन गरिएको छ ।

धुर्मुस-सुन्तलीलाई सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका सल्लाहकार जिज्ञानकुमार थापा, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष भुपालमान श्रेष्ठ, पत्रकार महासंघ जापानका अध्यक्ष मोहनसिंह घले, सनराईज कर्पोरेशनका व्यवस्थापक हरि सापकोटा, अध्यक्ष रविन्द्र श्रेष्ठ, जेमिट रेमिटका नविन न्यौरेलगायतले खादा ओढाएर अभिनन्दन गरे ।

फाउण्डेशनलाई सहयोग

आइतबार नाकानो जिरो हलमा सम्पन्न ‘धुर्मुस-सुन्तली साँझ २०१७’मा ३० लाख ६० हजार येन संकलन भएको सनराईज कर्पोरेशनका रविन्द्र श्रेष्ठले बताएका छन् । कार्यक्रममा उपस्थित दर्शकहरुबाट उठेको १५ लाख ३० हजार रकमलाई सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठले गरेको पुर्वघोषणा बमोजिम उठेको रकममा उत्तिकै थप गरेपछि ३० लाख ६० हजार येन पुगेको हो ।

‘बालमैत्री पर्यटकीय सङ्ग्रहालय’ वस्ती निर्माणको अभियानमा रहेका धुर्मुस-सुन्तली फाउण्डेशनका लागि थप रकम जुटाउने अभियानको थालनी सनराईज कर्पोरेशनको पहलमा अगाडी बढ्ने पनि अध्यक्ष श्रेष्ठले अनलाइनखबरलाई बताए ।

सङ्ग्रहालय निर्माणका लागि जापानबाट पहिलो पटक सनराईज कर्पोरेशनको पहलमा जापानबासी नेपालीहरुले रकम संकलन अभियान सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?