News Summary
Generated by OK AI. Editorially reviewed.- लेखले राजनीतिक नेताहरूले धर्मलाई सार्वजनिक जीवनमा बढावा दिँदा लोकतन्त्र, नागरिकत्व र सार्वजनिक क्षेत्र कमजोर हुने दाबी गरेको छ।
- लेखकले भक्तिमार्ग, अलौकिक आस्था र धर्मसापेक्ष राज्य लोकतन्त्रसँग मेल नखाने बताउँदै सार्वजनिक धार्मिक अनुदान र लगानी नियन्त्रण गर्नुपर्ने उल्लेख गरेका छन्।
- लेखमा नेपालमा हिन्दु, आरएसएस, भीएचपीजस्ता सङ्गठनको प्रभाव बढ्दै गएको र देश धार्मिक–राजनीतिक दिशातिर धकेलिँदै गएको आशंका व्यक्त गरिएको छ।
मैले यहाँ स्मरण गराउनुपर्छ कि जात व्यवस्था र हिन्दु धर्म ‘शास्त्रीय’, राजनीतिक र सांस्कृतिक रूपमा जोडिएका हुनाले जातीय भेदभाव धार्मिक भेदभावकै एउटा विशिष्ट अभिव्यक्ति भनेर मान्नुपर्ने हुन्छ।
यसै पनि, भारतीय जनता पार्टी (भाजपा) को ‘मातृ संस्था‘ का रूपमा परिचित र विशेषगरी विश्व हिन्दु परिषद् (भीएचपी), राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) नेपालका अधिकांश जिल्ला र सहरहरूमा सक्रिय रहेको बताइन्छ। यसको अर्थ धेरै नेपालीहरू यी इकाइहरूका सङ्गठित सदस्य हुन्, जुन एक राष्ट्रिय शीर्ष संस्थासँग जोडिएका छन्। विस्तीर्ण र श्रेणीबद्ध सङ्गठनहरू प्रायः ठूलो परिचालन शक्ति बटुलेर बसेका हुन्छन्, जसलाई परिआएमा तुरुन्तै परिचालन गर्न सकिन्छ। उनीहरू भारतका अत्यन्त शक्तिशाली मुख्यालयका इकाइहरू हुनु वा कम्तीमा कुनै न कुनै रूपमा सम्बद्ध हुनुले उनीहरूलाई नेपालका अधिकांश सङ्गठनहरूभन्दा अझ बढी शक्तिशाली मान्नुपर्छ।
भारत र नेपाल- पहाडभन्दा पनि नेपालको तराई–मधेस क्षेत्र- एउटा झन्डै अविच्छिन्न सांस्कृतिक क्षेत्रझैं देखिन्छ। उत्तर भारत र तराई–मधेसबीचको प्रशंसितलगायत निर्भरता बढाउने ‘रोटी–बेटी‘, ‘भन्साररहित‘, र ‘भिसारहित‘ सम्बन्ध र नेपालको पहाड तथा भारतबीचको ‘बहादुर र मालिक‘ को सम्बन्धलाई अब साझा धर्म राख्ने अन्तर्राष्ट्रिय सङ्गठनहरूका माध्यमबाट अझ बलियो बन्ने खतरा उत्पन्न भएको छ। यस्ता सङ्गठनहरू चाँडै नै नेपालका लागि राजनीतिक रूपमा अत्यन्तै निस्सासिँदो बन्न सक्छन्।
यसअघिका कुनै पनि तर्कहरूको अर्थ अन्य सबै धर्महरूले अनुदान पाइरहँदा सनातन धर्मलाई भने सार्वजनिक कोषको पहुँचबाट वञ्चित गरिनुपर्छ भन्ने लाग्दैन। बौद्ध, इसाई, इस्लाम आदि सबै धर्ममा आधारित लगानीका स्रोतहरू पहिचान गरिनुपर्छ र तिनलाई रोक्नुपर्छ। यो प्रतिबन्ध धर्मसँग सम्बद्ध प्रत्यक्ष या परोक्ष रूपले भित्रिने अन्तर्राष्ट्रिय वित्तीय सहयोगमा पनि अनिवार्य रूपमा लागू हुनुपर्छ। सार्वजनिक तथा अन्तर्राष्ट्रिय धार्मिक अनुदान वा लगानीमा नियन्त्रण गरिएमा मात्रै लोकतन्त्र र असल नागरिकत्वको भावना फस्टाउने सम्भावना रहन्छ।
मैले बुझेअनुसार ‘धर्म’ का मुख्य तीनवटा भिन्न–भिन्न प्रयोग वा अर्थहरू रहेका छन्:
(क) आफ्नो कर्तव्य (कर्म) को पालनामा तत्पर रहनु र उत्कृष्टता हासिल गर्नु,
(ख) मानिसहरूका साथै सम्पूर्ण प्राणी जगत्प्रति नैतिक र सहानुभूतिपूर्ण सोच, वाणी तथा व्यवहार राख्नु,
र (ग) कुनै सर्वशक्तिमान् अलौकिक शक्तिप्रति पूर्ण निष्ठा राख्दै आफ्नो जीवन त्यसैमा समर्पित गर्नु।
यो अन्तिम प्रयोग सर्वपरिचित ‘भक्तिमार्ग‘ हो।
ध्यान दिनुपर्ने कुरा के छ भने, धर्मका अन्य प्रयोग वा अर्थहरूको तुलनामा हिन्दुहरूमाझ- र स्वयं हिन्दु धर्मभित्रै- यो भक्तिमार्ग विगत चार शताब्दीयता मात्र बढी हावी बन्दै गएको हो। ऋग्वेद (मण्डल १०, सूक्त १२९; नासदीय सूक्त), जसलाई धेरैजसो विशेषज्ञहरू ईसापूर्व १५०० तिरको मान्छन्, ले ‘ब्रह्माण्डको सृष्टि कुनै ईश्वरले नै गरेको हो त ?’ भनी प्रश्न उठाउँछ, र यो स्वतः अस्तित्वमा आएको हो भन्ने दाबी गर्दछ।
ऋग्वेद अहिले प्राचीन मानिने संस्कृत भाषामा रचिएको हुनाले यसको अर्थ बुझ्न कठिन छ भन्ने कुरा स्वीकार गर्नुपर्छ। तर, यदि धेरै आधिकारिक अनुवादहरूलाई पत्याउने हो भने सो ऋचाले के स्पष्ट पार्छ भने ईश्वरले ब्रह्माण्डको सृष्टि गरेका होइनन् र ईश्वरहरू पछि मात्र यो स्वतः उत्पन्न भएको ब्रह्माण्डमा आएका हुन्। अर्थात्, ईश्वरले जीवनको सृष्टि गरेका होइनन् र त्यसैले जीवनमाथि उनीहरूको कुनै आधिपत्य हुन सक्दैन।
पछि बौद्ध धर्मले पनि (ईसापूर्व पाँचौं शताब्दीमा) यसको पुष्टि गरेको थियो। बौद्ध धर्मले ‘हामी ईश्वरविहीन छौं’ भन्यो। बौद्ध धर्मले हामीलाई मध्यस्थकर्ता अर्थात् पुजारीविना र ईश्वरविना बोधि, निर्वाण वा ज्ञानको मार्गमा अगाडि बढ्ने सचेत प्रयास गर्न आह्वान गर्यो। दुःखको अन्त्य र मुक्तिका लागि यही मात्र एउटा मार्ग अवलम्बन गर्न प्रेरित गर्यो।

यसैगरी न्याय शास्त्रले (ईसापूर्व छैटौं शताब्दीदेखि ईसापूर्व दोस्रो शताब्दी) हामीलाई के भन्छ भने मुक्ति वा मोक्ष ईश्वरको अगाडि दण्डवत् गरेर होइन, वैध र प्रामाणिक ज्ञानका माध्यमबाट प्राप्त हुन्छ। जैन धर्मका साथै वैशेषिक, साङ्ख्य, चार्वाक/लोकायत आदि दर्शनहरूले पनि अलौकिक संसार र सोचका सन्दर्भमा न्याय शास्त्रको धारणालाई आत्मसात् गर्छन्।
इस्वी संवत् सोह्रौं शताब्दीको चैतन्य महाप्रभुको उदयसँगै भक्ति सम्प्रदाय उकालो लाग्यो। यो यति तीव्र रूपमा फैलियो कि सोह्रौं शताब्दीसम्म भारत र सम्भवतः नेपालमा पनि प्रकृति–प्रधान अज्ञेयवादी र नास्तिक दर्शनहरू लोकप्रिय थिए भन्नेमा अहिले भारत र नेपालमा थोरै मात्रै परिचित छौं।
त्यसपछि ईश्वरवादी अवधारणा किन झन्झन् हावी हुँदै गयो भन्ने विषयबारे गहिरो अनुसन्धानको आवश्यकता छ। के यो ‘विरोधी‘ इस्लाम, इसाई र अन्य धर्महरूसँगको जम्काभेट- सायद स्वयं धर्मसँग भन्दा पनि त्यस्ता धर्मका संवाहक र मठाधीशहरूसँगको प्रभुत्वका लागि भएको प्रतिस्पर्धाको परिणाम थियो ? के यो उपनिवेशवादले गर्दा भयो ?
वा सत्रौं शताब्दीमा इस्ट इन्डिया कम्पनीको आक्रामक आगमनपछि दक्षिण एसियाली क्षेत्रमा लागू भएको तीव्र वि–औद्योगिकीकरण (अर्थात्, उद्योगहरू बन्द हुने प्रक्रिया व्यापक र अत्यधिक) र समग्र आर्थिक मन्दीका कारण उत्पन्न भएको अत्यधिक अनिश्चितता यसको कारण थियो ? वा यो धर्म अझ जटिल र सङ्गठित भएको परिणाम थियो ?
कारण जेसुकै भए तापनि नेपाली राजनीतिक नेताहरूको वर्तमान पुस्ता सङ्गठित धर्मलाई बढावा दिएर आफ्नो भाग्य अजमाउने प्रयासमा लागेको देखिन्छ। पछिल्लो समयका नेताहरू केवल एक दशकअघिका राजनीतिक नेताहरूको तुलनामा स्पष्ट रूपमा अझ बढी ‘आस्थावान्‘ छन् वा आस्थाको अभिनय गर्न अत्यन्तै निपुण छन्।
९. भक्तिमार्ग, धर्म र अलौकिकतामा केन्द्रित हुने भएकाले यसले सचेत, आत्म–परावर्तन (अर्थात् आफू र आफ्नै कर्मबारे आफैंसँग विचारविमर्श गर्ने) र आलोचनात्मक सोचलाई अवमूल्यन गर्दछ। यसका अतिरिक्त यसले अन्य व्यक्तिहरूको परवाह गर्दैन; कुनै पनि भक्तको उत्थान वा पतन ईश्वरसँगको उसको (वा उनको) सम्बन्धमा आधारित हुन्छ। अरूसँगको भक्तको सम्बन्धको प्रकृति मोक्ष वा स्वर्ग वा अन्य कुनै स्थान प्राप्त हुँदैन।
भक्तिमार्गले समुदाय र समाजका अन्य सदस्यहरूलाई एक्लाएक्लै हिँड्ने यात्रीका रूपमा बाहेक अन्य किसिमले सम्मान गर्दैन। भक्तिमार्ग व्यक्तिगत कल्याण वा मुक्तिमा केन्द्रित हुने भएकाले यसले ‘म‘ मात्रै देख्छ। मानिस जीवनमा एकल यात्रामा तय हुन्छ। भक्तिमार्ग असामाजिक प्रकृतिको हुन्छ। भक्तिमार्ग समुदाय, लोकतन्त्र र नागरिकताको मूल मर्मविपरीत जान्छ। यस विषयमा केही समयपछि फेरि चर्चा गरिनेछ।

कार्ल मार्क्सको एउटा प्रसिद्ध उक्ति छ- ‘धर्म जनताका लागि अफिम हो।‘ (यो उद्धरण ए कन्ट्रिब्युसन टु द क्रिटिक अफ हेगेल्स फिलोसोफी अफ राइट, १८४३ बाट लिइएको हो; मार्क्सको अभिव्यक्ति जर्मन भाषामा ‘volkes’ थियो, जसलाई आमजनता वा सर्वसाधारणका रूपमा पनि अनुवाद गर्न सकिन्छ। यसबाहेक, मार्क्सले वास्तवमा यस बिन्दुलाई यसरी जोड दिएका थिए: ‘धर्म उत्पीडित प्राणीको सुस्केरा हो, हृदयहीन संसारको हृदय हो र आत्माविहीन परिस्थितिहरूको आत्मा हो। यो जनताका लागि अफिम हो।‘) म राम्ररी बुझ्न सक्छु कि कुनै व्यक्तिगत व्यक्तिको सन्दर्भमा धर्मले अफिमजस्तै काम गर्न सक्छ। यो कहिलेकाहीँ आमजनताको सन्दर्भमा पनि अफिमझैं बन्न सक्छ।
तर मार्क्सले ‘त्यो परिस्थिति सधैं समान हुँदैन’ भन्ने तथ्यलाई भने छुटाए। इतिहासका खास मोड वा चरणहरूमा, जब विशेषगरी एउटै धर्म मान्ने पुरुष युवाहरू एक ठाउँमा जम्मा हुन्छन् र एक जना अन्य धर्मावलम्बी आइपुग्छ, त्यतिबेला धर्म अफिमको रूपमा नभई विनाशकारी शक्ति र हतियारको रूपमा प्रकट हुन सक्छ। अनि जब धर्मलाई सरकार र राजनीतिक नेताहरूले आफ्नो अनुकूल ढाल्छन्, तब धार्मिक आस्था मानव जातिलाई थाहा भएको सबैभन्दा विनाशकारी शक्तिहरूमध्ये एक बन्न सक्छ।
यसरी, भक्तिमार्ग हामीमाझ अफिमको रूपमा पनि प्रस्तुत हुन सक्छ वा प्रभुत्व जमाउने र हतियार उठाउने आह्वानका रूपमा आउन सक्छ। यी दुवै त्याज्य छन्। हामीले भर्खरै देखेको मृत्यु र विनाश आगोसँग खेल्नुसरह थियो (र त्यो केवल परालको आगो मात्र नभई भुसको आगो थियो)। विगतका सबै धार्मिक युद्धहरू- र यस्ता युद्धहरूले निम्त्याएको मृत्यु र विनाश यसका पर्याप्त प्रमाण हुन्। खासगरी युरोप र अन्य ठाउँहरूमा त्यसयता बारम्बार भइरहने धार्मिक युद्धहरूको मुख्य कारक तत्त्वलाई मार्क्सले कसरी छुटाए भन्ने कुरा आश्चर्यजनक छ। क्रिस्चियन चर्च र राजाहरूले अन्य स्थान र धर्मावलम्बीहरूविरुद्ध रचाएको क्रुसेड आदि तथ्यहरूमा मार्क्सले किन आँखा चिम्लिए भन्ने कुरा पनि आश्चर्यजनक छ।
अन्तरधार्मिक द्वेषलाई बढावा दिने एउटा बहस र अभ्यास ‘पूर्वीय‘ र ‘पश्चिमी‘ लाई एकअर्काको विरुद्ध उभ्याउने अभ्यास हो, जसलाई नेपाल र भारतका धेरै विद्वान्हरूले बारम्बार दोहोर्याइरहने गर्छन्। (अनि यो केवल भारत–नेपालको धारणा मात्र पनि होइन। बम्बईमा जन्मेका नोबेल पुरस्कार विजेता अङ्ग्रेजी पत्रकार, उपन्यासकार र कवि रुडयार्ड किपलिङले हामीलाई एउटा प्रसिद्ध उद्धरण दिएर गए: ‘Oh, East is East, and West is West, and never the twain shall meet.’ अर्थात् पूर्व पूर्व नै हो र पश्चिम पश्चिम नै हो, यी दुईको मिलन कहिल्यै हुँदैन)। यो आह्वान प्रायः नेपाल र भारतमा विशेषगरी इसाई र इस्लामको विरुद्ध पूर्वीय सनातन (हिन्दु) धर्मको श्रेष्ठतालाई पुष्टि गर्नका लागि गरिन्छ। युरोपमा भने यो आह्वान क्रिस्तान धर्मलाई सर्वोच्च पुष्टि गर्नका लागि प्रयोग गरिन्छ।
भारत र नेपालमा पूर्वीय सभ्यता/संस्कृति/ज्ञान र पश्चिमी सभ्यता/संस्कृति/ज्ञानबीच बारम्बार गरिने तुलनालाई फिरङ्गी (foreigner को अपभ्रंश ?) पूर्वीय अर्थात् स्थानीय मूल्यमान्यता र अभ्यासहरूको रक्षाको लागि पनि प्रयोग गरिन्छ। यसलाई अझ सहज रूपमा बुझ्दा भारत र नेपालमा इसाई र इस्लाम धर्मको विस्तार र अतिक्रमणविरुद्धको प्रतिक्रियाका रूपमा पनि प्रयोग गर्ने गरिएको छ।
यद्यपि, सभ्यता, ज्ञान र संस्कृति मानव जीवन र समाजका स्थिर संरचना होइनन्; यी निरन्तर परिवर्तन भइरहन्छन् र विगत ४०० वर्षदेखि यी संरचना र प्रक्रियाहरू ‘पश्चिम‘ को पक्षमा प्रवाहित भएका छन् र ‘पूर्व‘ लाई धेरै पछाडि छाडिदिएका छन्। दोस्रो, यो बहसले ‘पूर्व‘ लाई दक्षिण एसियामा मात्र सीमित गर्छ र यसको सारमा पुग्दा केवल हिन्दु तथा केही हदसम्म बौद्ध धर्मावलम्बीहरूलाई भारत र नेपालमा खुम्च्याउँछ। यसले ‘पूर्व‘ मा नै पर्ने चीन, जापान, कोरिया र सम्पूर्ण दक्षिणपूर्वी एसियालाई मात्र नभई दक्षिण एसियाको इस्लामिक सभ्यता, ज्ञान र संस्कृतिलाई समेत बाहिरै छाडिदिन्छ।
तेस्रो, यो बहसले विश्वको पूर्वदेखि पश्चिम र दक्षिणदेखि उत्तरसम्म सबै आर्थिक, राजनीतिक र सांस्कृतिक लेनदेन र आदानप्रदानहरूलाई नकार्छ। यसले विगत ४०० वर्षयता विशेष रूपमा उदय हुँदै गएको स्थानीय र विश्वव्यापीको सांस्कृतिक सम्मिश्रणलाई पनि अस्वीकार गर्दछ। उदाहरणका लागि यस्तो सम्मिश्रणलाई स्थान दिँदै बेलायती औपनिवेशिक शासन हुँदा यो तर्क गरिएको छ कि भारतको जात व्यवस्थामा आएका परिवर्तनहरू भारत र बेलायत दुवैका कारणले भएका थिए (हेर्नुहोस्: निकोलस डर्क्सको ‘कास्ट्स अफ माइन्ड: कोलोनियलिज्म एन्ड द मेकिङ अफ मोडर्न इन्डिया‘ २००१, प्रिन्स्टन विश्वविद्यालय)। अर्थात् भूमण्डलीकरण र ’पश्चिम’ को दबदबा रहेका विगतको ३००–४०० वर्षमा एउटा छुट्टै ‘पूर्व’ र अर्को छुट्टै ‘पश्चिम’ को परिकल्पना फगत मिथ्या परिकल्पना हुन जान्छ।

यी सबै कारणहरूले गर्दा ‘पूर्व’ र ‘पश्चिम’ को बहस एउटा पूर्ण रूपमा रक्षात्मक रणनीति मात्र बन्न पुगेको छ र असफलता व्यहोरिसकेको छ। मलाई थाहा छ हामीमध्ये केही अझै पनि पूर्वीय सभ्यता, ज्ञान र संस्कृतिमा गर्व गर्छौं। तर जुन सभ्यता, ज्ञान र सनातन संस्कृति ४०० वर्षपहिले आफ्नो शिखरमा थियो तर त्यसयता भुइँमा पछारिएको छ; त्यसले न त हामीले आज सामना गरिरहेका चुनौतीहरूको समाधान गर्नेछ, न त हामीलाई भविष्यका लागि तयार नै गर्नेछ।
हो, पूर्वीय सभ्यता त्यस्तो पुरानो उपलब्धि हो जसबाट हाल हामी प्रेरणा लिन सक्छौं। अर्थात्, जसलाई हामी हाम्रा ‘पूर्वज‘ भन्न सक्छौं, उनीहरूले इतिहासको एउटा विशिष्ट चरणमा ज्ञान निर्माणको शिखर चुमेका थिए। यस्तो प्रेरणाले हामीलाई एउटा सुन्दर नयाँ भविष्यलाई पुनः आविष्कार गर्न गम्भीर प्रेरणा दिन सक्छ। बाँकी बहस सबै केवल व्यर्थ हुन्।
एउटा फुटनोटका रूपमा म के पनि थप्न चाहन्छु भने, नश्लीय ‘आर्य‘ शब्दावली (जसले संविधानमा ‘खस–आर्य’ अत्यन्तै भद्दा स्थान पाएको छ) लाई पनि प्रायः ‘पूर्व‘ र ‘सनातन‘ को बहस र अभ्यासलाई पुष्टि गर्नका लागि प्रयोग गरिन्छ। यो वर्ग अचानक आविष्कार गरिएको थियो। ‘आर्य‘ उपवर्गको आधार अत्यन्तै कमजोर र अस्वस्थ रहेको छ। तर जतिसुकै कमजोर भए पनि ‘आर्य’ ले बाँकी वर्गहरूसँग अन्यायपूर्ण वा द्वेषपूर्ण तुलना गरिरहने आधार प्रदान गरेको छ। त्यसयता यो जातीय–नश्लीयका साथै धार्मिक श्रेष्ठताको पर्खाल बनेको छ।
अलौकिक शक्तिप्रतिको आस्था र विशेषगरी धर्मसापेक्ष राज्यले मूलतः लोकतन्त्रको संरचना र भावनाविपरीत काम गर्छन्। लोकतन्त्र र धर्मसापेक्ष राज्य कहिल्यै पनि एकअर्काका सहवर्ती बन्न सक्दैनन्। धार्मिक राज्य लोकतान्त्रिक बन्न सक्दैन।
धर्मसापेक्षताले अन्य नागरिकहरूलाई पाखा लगाउँदै खास–खास आस्थावान्हरूलाई बढी प्राथमिकता दिन्छ- जसले नागरिकहरूबीचको समानता प्रदान गर्ने लोकतान्त्रिक मर्ममा प्रहार गर्छ र निष्प्रभावी तुल्याउँछ। यसबाहेक यसले अलौकिक तत्त्वलाई सर्वोच्च स्थानमा राख्छ, जसले गर्दा यसले लौकिक अर्थात् सांसारिक जीवनको मूल्य र महत्त्वको अवमूल्यन गर्छ। लौकिक सत्ताधारीहरू आफ्नो सांसारिक वा लौकिक स्वार्थ (निजी लौकिक स्वार्थसमेत) पूरा गर्नका लागि अलौकिकतासमेतको पुजारी बन्न पुग्छन्। भारत र नेपाललगायत धर्मभिरुतालाई प्रबलताका साथ अँगालेका मुलुकहरूमा यस्तो आडम्बर टड्कारो देख्न सकिन्छ।
अहिलेका विश्वका सबै दक्षिणपन्थी सरकारहरू, जस्तै: भारत, पाकिस्तान, हङ्गेरी, संयुक्त राज्य अमेरिका आदिले यही गरिरहेका छन्। उग्र बौद्ध धर्मलाई केन्द्रमा राखेर सिंहली बाहुल्य रहेको श्रीलङ्काले पनि केही वर्षअघिसम्म यही गरेको थियो। हाल थाइल्यान्डमा पनि यही भइरहेको छ।
भयाक्रान्त तुल्याउने कुरा के हो भने नेपाल बिस्तारै त्यही दिशातिर धकेलिँदैछ। पछिल्लो समयमा राँगाको पूजा, मठ–मन्दिरको तीर्थाटन अनि विभिन्न बाबाजीहरूको आशीर्वाद र सहमति पाउने प्रतिस्पर्धा स्वाभाविकजस्तै बनिसकेको थियो भने रुद्रीपाठ, टीका, फूलप्रसाद, ठाडो टीका, गेरुवस्त्र आदि नयाँ आविष्कारका रूपमा देखापरेका छन्।
एउटा रोचक विषयका रूपमा, मैले प्रधानमन्त्री बालेनको र्याप सङ्गीत- जुन मूलतः एउटा विरोधको सङ्गीत हो- र रुद्रको प्रार्थना, इन्जिनियरिङ र रुद्री, फेसबुक र रुद्री अनि धर्मनिरपेक्षता र रुद्रीबीच कुनै सङ्गति वा तादात्म्य देख्न सकेको छैन।
म यहाँ मनसा, वाचा र कर्मणाबीच गम्भीर असङ्गति देख्छु। मलाई लाग्छ, यी तीनवटा (मन, वचन र कर्म) बीचको सङ्गति नै सच्चारित्रताको मूल हो; चाहे त्यो राजनीतिक प्रणालीको होस्, राजनीतिक दलको होस्, राजनीतिक नेताको होस् वा तपाईं र म जस्ता सर्वसाधारण नागरिकको नै किन नहोस्।
मेरो विचारमा यस्तो सच्चरित्रताबाट नै अध्यात्मको जन्म हुन्छ। ‘पूर्वीय सभ्यता‘ को बहस गर्नेहरूले ‘पश्चिमी सभ्यता‘ र यसको तथाकथित ‘भौतिकवादी प्रकृति‘ को कटु आलोचना गर्दा अध्यात्मलाई आफ्नो प्रिय हतियार वा पहरेदारका रूपमा अघि सार्छन्। तर अध्यात्म ईश्वरप्रतिको विश्वासबाट उत्पन्न हुन पनि सक्छ र नहुन पनि सक्छ; यो त वास्तवमा आफ्नो कर्तव्य निष्ठापूर्वक र उत्कृष्टताका साथ पालना गर्दा, अरूसँग निष्कपट सहकार्य गर्दा तथा समानुभूति, दया र करुणाजस्ता गुण र भावनाहरूबाट पो जन्मन्छ।
आफूले आफूलाई जस्तै व्यवहार अरूलाई पनि गर्नु पनि अध्यात्मको सच्चा मन्त्र हो भन्ने मलाई लाग्छ। पक्कै पनि ईश्वरविहीन अध्यात्मको अभ्यास गर्न सकिन्छ। पूर्वीय संस्कृति र सभ्यताको तथाकथित पवित्रताको दुहाइ दिनेहरूले जस्तै गरेर ईश्वरको नाम जप्नु वा पुकार्नु मात्रलाई अध्यात्मको पर्याय मानिनु हुँदैन।
एउटा लोकतान्त्रिक राजनीतिक नेता नागरिकहरूले आफ्नो लौकिक मतदानबाट निर्वाचित हुन्छ। त्यो नेताबाट अलौकिक होइन, लौकिक उपलब्धि हासिल हुने अपेक्षा गरिन्छ। यसो गर्दा नेताले लौकिक (कानुनी, व्यावसायिक, वित्तीय, व्यवस्थापकीय आदि) साधनहरूको प्रयोग गर्ने अपेक्षा गरिन्छ, न कि अलौकिक (पूजा, जादु, मन्त्र आदि) माध्यमहरूको।
लोकतन्त्रमा अलौकिक तत्त्वहरूको सञ्चालन वा तुष्टीकरणका लागि कुनै राजनीतिक वा सार्वजनिक स्थान रहँदैन। नागरिकले पालिका, प्रदेश र सङ्घका सञ्चालक, सांसद, मन्त्री र प्रधानमन्त्रीलाई मत हाल्छन्; पुजारी, पण्डित, भट्ट आदिलाई होइन।
लोकतान्त्रिक राजनीतिको उद्देश्य जादुई र अलौकिक माध्यमबाट लौकिक लाभ हासिल गर्नु होइन, नागरिकहरूलाई कर्तव्यनिष्ठ र उत्कृष्ट नागरिक बन्न मद्दत गर्नु हो। लोकतन्त्र यसै संसारको, यसै देशको र देशका विभिन्न स्थानहरूमा रहने जनता तथा सार्वजनिक वृत्तको राजनीति हो। यो मानव निर्मित इतिहासको एउटा विशिष्ट समयरेखासँग सम्बन्धित छ- देवता र देवीहरूको अनन्त समयसँग होइन। यो ईश्वरीय संसारको नभई नागरिक अर्थात् लौकिक संसारको मामिला हो।
लोकतन्त्रलाई समृद्ध तुल्याउन ईश्वरमा होइन, जनतामाथि विश्वास हुनु आवश्यक छ। वास्तवमा, यदि राजनीतिक नेताहरूले आफूलाई देवताहरूको आशीर्वाद प्राप्त भएको महसुस गर्न थाले भने उनीहरूले आफ्ना मतदाताहरूले भोगिरहेका समस्याहरूलाई गम्भीरताका साथ सम्बोधन नगर्ने जोखिम रहन्छ।
धर्मले राजनीतिक र सार्वजनिक क्षेत्र ओगट्न थाल्यो भने लोकतन्त्रको अवमूल्यन गर्छ र यसले नागरिकत्वलाई पनि कमजोर बनाउँछ। चाहे त्यो राजनीतिक नेताको तर्फबाट होस् वा एक सर्वसाधारण मतदाताको तर्फबाट, अलौकिक शक्तिमाथिको अटल राजनीतिक आस्थाले सार्वजनिक जीवनलाई विश्लेषण र हस्तक्षेप गर्ने तीक्ष्णतालाई भुत्ते पारिदिन्छ। धर्मनिरपेक्ष नागरिकत्वका तत्त्वहरूलाई अभ्यास गर्ने तीक्ष्ण राजनीतिक नागरिकहरू नै वास्तवमा लोकतान्त्रिक प्रणालीका बलिया खम्बाहरू हुन्।
एउटा फुटनोटका रूपमा, म व्यक्तिगत रूपमा ‘लोकतन्त्र‘ को धारणाभन्दा ‘नागरिकतन्त्र‘ को धारणालाई बढी रुचाउँछु। ‘लोक‘ शब्द अलि अमूर्त छ र यो नागरिकतिर लक्षित छैन। अर्कोतर्फ, नागरिकतन्त्रले राष्ट्रिय राजनीतिमा रहेका हरेक वैध सरोकारवालाहरूलाई व्यक्तिगत र सामूहिक दुवै रूपमा प्रत्यक्षतः सबल बनाउन सक्छ। यसका अतिरिक्त, ‘नागरिक‘ को पहिचानले अरू सबै राजनीतिक पहिचानहरू- महिला र पुरुष, धनी र गरिब, पहाडी र मधेसी, जात र जाति आदिलाई- आफूभित्र समेट्छ; यद्यपि विशिष्ट समय र स्थानहरूमा ‘साना’ पहिचानहरूले पनि आफ्नो उचित स्थान पाउन सक्छन्। यसले हामीलाई राष्ट्रिय प्राथमिकताहरूलाई पुनः परिभाषित गर्न पनि घचघच्याउँछ- अर्थात् जुन प्राथमिकताहरू नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएका छन्, तिनैमाथि ध्यान केन्द्रित गर्नुपर्छ।
निष्कर्षमा, यो प्रस्तुतिको मुख्य ध्यान राजनीतिक नेताहरूद्वारा धर्मको सार्वजनिक अभिव्यक्ति र अभ्यासबाट उत्पन्न हुने विकृतिहरूमा केन्द्रित रहेको छ। सर्वसाधारण नागरिकहरूले गर्ने निजी आस्थाको पहुँच र अभ्यासलाई सीमित गर्ने पक्षमा होइन।
आफू स्वयं र आफ्नो घर–परिवार मुख्य रूपमा निजी क्षेत्र वा दायरा हुन्। निजत्वको हकमाथि हस्तक्षेप गर्नु अलोकतान्त्रिक कार्य हो। ती निजी क्षेत्रहरूमा मानिस धर्मको अभ्यास गर्नका साथै हरेक प्रकारका कल्पना, सपना, आशा, डर, सहानुभूति र करुणा जगाउन पूर्ण रूपमा स्वतन्त्र हुनुपर्छ।
अर्कोतर्फ, एकातिर लोकतन्त्र र लोकतान्त्रिक नागरिकत्वलाई र अर्कोतिर अलौकिकतालाई एउटै डालोमा हाल्नु भनेको सर्वथा अनुचित हुन्छ।
अनुवाद – कञ्चन
प्रतिक्रिया 4