Comments Add Comment

लमजुङका नवनिर्वाचित प्रतिनिधिले खाए सपथ, जनहितमा समर्पित हुने प्रतिबद्धता

८ जेठ, लमजुङ । लमजुङमा सबै स्थानीय तहमा निर्वाचित पदाधिकारीले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, राईनास नगरपालिकाका, मर्स्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र क्व्होलासोँथर गाउँपालिकाका निर्वाचित सबै पदाधिकारीले सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहणसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले देश र जनताप्रति पूर्ण बफादार भई काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिकामा निर्वाचित प्रमुख जनकराज मिश्र, उपप्रमुख ज्ञानु शाह लगायत ११ वटै वडाका वडाध्यक्षहरुलाई निर्वाचत अधिकृतको कार्यालय सुन्दरबजारका प्रमुख भोलानाथ गुरागाईँले शपथ खुवाएका थिए ।

यस्तै ११ वटै वडाका अन्य पदाधिकारीहरुलाई नगरका मेयर जनकराज मिश्रले सपथ खुवाए ।

शपथ ग्रहणपश्चात बोल्दै सुन्दरबजार नगरपालिकाका प्रमुख मिश्रले निष्पक्ष ढंगले नगरको समग्र पक्षको विकासमा सबैसँग हातेमालो गरी अघि बढ्ने बताए । युवाहरुलाई नगरभित्रै रोजगारीको अवसर दिलाउने खालका कार्यक्रमहरु अघि सारिने पनि उनले बताए ।

नगरमा रहेका श्रोत, सम्पदाको संरक्षण, सम्वर्द्धन र परिचालन गरी सुन्दरबजारलाई साँच्चै सुन्दर बनाउन आफ्नो टिम लाग्ने उनको भनाइ छ । नगरबाट गरिबी, पछौटेपन हटाउनु आजको आवश्यकता रहेको उनको आशय थियो ।

यसैगरी, नगरपालिकाका उपप्रमुख ज्ञानु शाहले महिलाहरुको सशक्तिकरणका क्षेत्रमा काम गर्ने बताइन् । नगरभित्र महिला हिंसा अन्त्यका लागि पहल कदमी चाल्ने उनको भनाइ छ ।

यस्तै, वेसीशहर नगरपालिकाका निर्वाचित मेयर गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी र ११ वटै वडाका वडाध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले शपथ ग्रहण गराएका थिए । वडा सदस्यहरुलाई भने बेसीशहर नगरपालिकाका प्रमुख अर्यालले सपथ खुवाए ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे, उपप्रमुख राजकुमार श्रेष्ठ र वडाध्यक्षहरुलाई निर्वाचन अधिकृत होतराज लम्सालले सपथ खुवाएका हुन् । वडा सदस्यहरुलाई नगरका मेयर पाण्डेले शपथ ग्रहण गराए ।

शपथ ग्रहणपश्चात बोल्दै मेयर पाण्डेले भ्रष्टाचारमुक्त समाज निर्माणमा आफू लाग्ने प्रतिबद्धता जनाए । नगरका श्रोतसाधनलाई उपयोग गरी सबैलाई रोजगारीको अवसर दिलाउन अग्रसर हुने उनको भनाइ छ ।

यस्तै, राईनास नगरपालिकाका मेयर सिंहबहादुर थापा, उपमेयर धनकुमारी गुरुङ र १० वटै वडाका वडाध्यक्षहरुलाई निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले शपथ ग्रहण गराइन् । वडा सदस्यहरुाई भने मेयर थापाले सपथ खुवाएका थिए । शपथ ग्रहण कार्यक्रममा बोल्दै मेयर थापाले नगरको विकासमा सबैसँग हातेमालो गरी अघि बढ्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment