Comments Add Comment

अमेरिकाबाट योगेश भट्टराईलाई चिठी

आउनुस् विकासका लागि सहयात्रा गरौँ

प्रतिस्पर्धी मित्र योगेश जी जय नेपाल

तपाईंले स्थानीय निकायको चुनावको मुखैमा आउँदा पार्टी कार्यालयमा पत्रकारका माझ सार्वजनिक रुपमा चेतावनी दिदैं भन्नु भएछ, एमालेका विरुद्ध उक्साउनेहरुको सूची हामीहरुले राखेका छौं र समयक्रममा यसको हिसाब किताब गरिनेछ | यता पार्टी मूख्यालयमा तपाईं एमाले विरोधीहरुलाई चेतावनी दिदैं गर्दा उता कपनतिर तपाईंका अल्लारे कार्यकर्ता तपाईं हाम्रै पुस्ताका चर्चित नेता गगन थापाजी विरुद्ध आक्रमण गर्ने दुष्प्रयत्न गर्दै वातावरण भड्काउने हर्कत गर्दै थिए | यो कस्तो संयोग हो योगेशजी ? म एक सामान्य शुभेच्छुकको रुपमा जान्न चाहन्छु |

तपाईं विलकूल राजनीतिक पृष्ठभूमिको एक भरोसायोग्य नेता हुनुहुन्छ | हाम्रो पुस्ता र दौंतरी उमेरका साथीहरुले नै भोलिको समुन्नत नेपालको निर्माण गर्ने हो | तपाईं हामी जस्तै अझ हामी भन्दा पनि कम उमेरका युवाहरुलाई भड्काएर दशकभन्दा बढी समय कम्युनिष्ट पार्टीका नाममा माओवादीले नेपालको मानवीय संरचना,भौतिक विकास र सामाजिक सद्भाव र एकतामा संगीन आक्रमण गरेर क्षतविक्षत बनायो |

अझ निकट अतीतमा बहुदलीय व्यवस्थाको आगमन भए लगत्तै आज तपाईं सचिव रहनु भएको नेकपा एमालेको विद्यार्थी जत्था, जहाँ तपाईं पनि नेतृत्वमा हुनुहुन्थ्यो, त्यही जत्थाले राजधानी तहस नहस बनाउथ्यो | राष्ट्रको सम्पतिका रुपमा रहेको सार्वजनिक रेलिङ्ग भाँच्ने, रत्नपार्कको विद्युत प्राधिकरणको भित्तोलाई आफ्नो मोहियानी हक लाग्ने जस्तो गरी विद्रुप बनाउने काम तपाईं र तपाईंहरु जस्तै अल्लारे नेताहरुले गर्नु भएको हो | यो तपाईं र तपाईंहरुले सिक्नु र सिकाउनु भएको स्कूलिङ्ग हो |

निषेधको राजनीति क्रुर निरंकुशता वा आजको सन्दर्भमा भन्दा उत्तर कोरियामा देखिएको छ | तपाईं भिन्न विचार,आदर्श र सिद्धान्त अवलम्बन गर्ने पार्टीको एक आशालाग्दो प्रतिनिधि पात्रबाट त्यस्तै निषेधको राजनीति बोल्ने भाषा प्रयोग गरेको अनलाईन खबरमा समाचार पढ्दा तपाईंप्रति आशा होइन,निराशा र आक्रोश बढ्यो | योगेशजी,हुन त म फेरि भन्छु, तपाईंको विचार र सिद्धान्तप्रति म कहीं जोडिन्न | तर, तपाईंलाई मैले मेरो आदर्श र विचारभन्दा बढी भरोसा गरेको रहेछु भन्ने लाग्दैछ जसले गर्दा तपाईंका अभिव्यक्ति मेरा लागि धम्की,त्रास र आतंकको पराकाष्ठा जस्तो लाग्यो |

यद्यपि तपाईंका धम्की र यस्ता भाषाहरु म र म जस्ता परदेशिएका तर नेपाल आमाको प्रगति र समुन्नतिको उज्यालो अनुहार देख्न चाहनेहरुका लागि भौतिक रुपमा खासै फरक नपर्ने विषय हो | तर, त्यही आमाको सन्तान भएकाले म र मजस्ता हामीहरुले नेपाल आमाको काखमा जसले जे गरे पनि,जसले जसो गरे पनि हेरेर मात्र बस्न मनले नमान्दो रहेछ,त्यही भएर मलाई हुटहुटी लाग्यो |

योगेश भट्टराई,रबिन्द्र अधिकारी,धनराज गुरुङ,विश्वप्रकाश शर्मा,गगन थापा,प्रदीप पौडेल,कल्याण गुरुङ,राजन भट्टराई जस्ता प्रतिनिधि नामहरु तपाईं हाम्रो पुस्ताका लागि सबैले सम्मान गर्न लायक नामहरु हुन् भन्दा हामीलाई गौरव लाग्नुपर्छ |

विचार र दलीय राजनीतिलाई चुनावमा मात्र सिमित गरेर देश बनाउने मामिलामा हामी जुट्नुपर्छ | कित्ता काटाकाटको राजनीतिले को कहाँ पुग्दैछन् भन्ने हिसाब त तपाईंसंग नै बढी होला | संयोगले सन् २००८ मा यहाँ अमेरिकामा तपाईं र म एकै मंचमा देश विकासमा युवाहरुको भूमिकाका बारे आ आफ्ना अवधारणा संगै पेश गर्दै थियौं र तपाईंले भन्नु भएको थियो, दाहालजीको कार्यपत्रमा विमति राख्नुपर्ने खासै त्यस्तो केही छैन |

गाैतम दाहाल

सम्भवत: तपाईंले भुलिसक्नु भयो होला | त्यही कार्यक्रममा आउंदै गर्दा त्यही थलोमा रहनु भएका कांग्रेस नेता सुशील कोइरालाप्रति तपाईंको अलिकति मानवीय सम्मान समेत नदेख्दा नै तपाईंको स्कूलिङ्गप्रति विचरा भन्ने लागेको हो | योगेशजी,

हाम्रो संस्कारले सम्मान,माया,ममता र स्नेह के हो भन्ने पाठ राम्रोसंग सिकाएको छ | तर त्यो बेला आफ्नो जिब्रोको उपचारका क्रममा यहाँ आउनु हुँदा संयोगले एकै मंचमा सुशील कोइरालासंग आतिथ्यता ग्रहण गर्ने अवसर तपाईंलाई मिलेको थियो | त्यसमा पनि तपाईंका पार्टी नेता झलनाथ खनाल नआएपछि | तर, तपाईंको बुवा समानको उमेर र राजनीतिमा पनि तपाईं भन्दा निकै उँचो कद बनाउनु भएका सुशील कोइरालाप्रति तपाईंको केटौले व्यवहार साँच्चै बिझेको थियो |

आखिर तपाईंको परिवारले सम्मान, आदर भाव र संस्कार नै नसिकाए जस्तो व्यवहार तपाईंले गर्नु भयो | हो पनि तपाईंको परिवारले सिकाएको संस्कार ताप्लेजुङ्गमै छाडेर तपाईं राजनीतिक स्कूलिङ्गमा राजधानीमा ढुंगा हान्ने र रेलिङ्ग भाँच्ने काँचा युवाहरुको प्रतिनिधित्व गर्नु हुन्थ्यो | अनि के अपेक्षा गर्नु तपाईंबाट ?

तपाईं र म त्यही पूर्वी नेपालको पानी पिएर अरुहरु जस्तै उच्च शिक्षा अध्ययन र आफ्नो भविश्य खोज्ने क्रममा अवसरका लागि झोला बोकेर राजधानी भासिएका हौँ | भलै आज विश्वव्यापीकरणको यो समय को कहाँ छ भन्ने विषयले फरक नपर्ला | तैपनि म र मजस्ता असंख्य युवाहरु आज विदेशमा छौं | हामीले भूगोलको देश छाडेका छौं तर भावनाको देश संगै बोकेर हिंडेका छौं र जहाँ छौं त्यहाँ कठोर मेहनेत गर्ने इमान्दार,सगरमाथा र बुद्ध अनि लुम्बिनीको देश नेपालका नेपाली भनेर आफुहरुलाई हामी चिनाउदै छौं |

यस अर्थमा हामीले नेपाललाई अझ फराकिलो बनाउँदै लगेका छौं | हाम्रो पनि आफ्नै दायित्व छ | तर हामी नेपालबाट टाढा छैनौं र निरपेक्ष पनि छैनौं | त्यो भन्दा ठूलो कुरा हामीले देशका लागि आर्थिक योगदान गरेका छौं | रेमिट्यान्स भित्रिएको छ,व्यापारमा विस्तार भएको छ, शहरीकरणमा सहयोग पुगेको छ,गाउँ गाउँका जनताहरुमा आर्थिक हैसियत बढेको छ | त्यही रेमिट्यान्सले व्यवसाय गर्ने क्रम बढेको छ अनि विदेशमा सिकेको सीप र आर्जनलाई आज स्वदेशमा नै लगानी गर्ने क्रम बढेको छ | के यो विकासको सकारात्मक पाटो होइन ? अनि आ आफ्नो रोजीरोटी गरी खानेहरुलाई देख्नै नसक्ने, एमालेलाई सहयोग गर्न नसक्ने तपाईंको निसानी बन्नुपर्ने ? वाह ! कस्तो विचार है ? के मार्क्स र लेनिनको दर्शन यही हो ? योगेशजी,

शास्त्रीय र दार्शनिक विचार भिन्न हुन्छ | तपाईंहरु आज न त शास्त्रीय न त दार्शनिक कुनै रुपमा नै मार्क्स र लेनिनको अनुयायी हुनुहुन्न | तैपनि हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो बोकेर वैतरणी पार गर्ने र भ्रम छर्ने काम गरिरहनु भएको छ | तर, यस्तो भ्रमको वास्तविक पर्दाफास जतिखेर हुनेछ, त्यो बेला तपाईंहरुसंग एमालेको साइनबोर्ड र हँसिया हथौडा झण्डा मात्र रहनेछ | सिद्धान्तमा च्यूत भैसकेपछि जे बोलेपनि हुन्छ भन्ने लागेको छ भने हो, तपाईंहरु सबै मार्क्स र लेनिनको सिद्धान्तबाट धेरै पहिले च्यूत भैसकेको पार्टीको नेतृत्वमा हुनुहुन्छ | तपाईंहरु न त साम्यवादी, न त लेनिनवादी | अर्थात् राजनीतिक टिप्पणीमा भनिए जस्तै लिङ्ग नभएको दल मात्र बन्नु हुनेछ |

एकपटक तपाईंका पार्टीका एक शीर्ष नेताले व्यक्तिगत कुराकानीमा भन्नु भएको थियो कि कांग्रेस र हाम्रो पार्टीका बीच उही झण्डा र पार्टीको नाम बाहेक के नै फरक छ र ? अब त्यो झण्डा र कम्युनिष्ट पार्टी भन्ने नाम नै छाडेपछि हाम्रो के औचित्य रहन्छ र ? त्यही भएर नाम र झण्डा बोकेर हिंडीरहेका छौं | त्यस बाहेक त हामी भाई कांग्रेस नै हौँ,हाम्रो प्रतिष्पर्धा कांग्रेससंग नै | यदी यसमा सत्यता छैन भने स्खलित नभएको ठाउँ कहाँ होला तपाईंको दल ? जवाफ पाउन है | त्यही झण्डा र साइनबोर्ड बाँकी रहेका कारण त पशुपतिमा धुनी जगाएर बस्नु परेको छैन | अन्यथा कम्युनिष्ट हुनु र नहुनुको भिन्नता के हो ?

प्रतिष्पर्धाको राजनीतिमा धम्की स्वीकार्य छैन | हिजो मदन भण्डारीको हत्यारालाई कारवाही गर | हत्यारा पत्ता लगा | हत्यारा सरकार राजीनामा दे जस्ता नाराबाजी गर्दै सडक तहसनहस बनाउने र सार्वजनिक सम्पति तोडफोड गर्ने तपाईंहरुले खै त हत्यारा पत्ता लागाएको ? माधव नेपाल,झलनाथ खनाल, अनि छानबीन गर्न गठित समितिका प्रमूख समेत रहेका केपी ओली सबै कार्यकारी प्रमूख बनेर सत्तारोहण गर्नु भयो | अन्य दलका नेताले त खैर, हत्यारा पत्ता लगाएनन् रे, ठीकै छ | तर आफ्नै हातमा कार्यकारी अधिकार हुँदा नेपाल,खनाल, ओलीले खै त दासढुंगाका हत्यारा पत्ता लगाएको ? कि केपी ओली अहिले दासढुंगामा जलयात्रा गरी हत्यारा पत्ता लगाउने र शीतल निवासमा डिनर गर्ने योजनामा व्यस्त हुनुहुन्छ ?

आज मदन भण्डारीलाई सम्झदैं गर्दा बडो दु:खका साथ भन्नैपर्छ मदन भण्डारीलाई भजाएर तपाईं र तपाईंको नेतृत्वले भण्डारीको आत्मालाई रुवाउने काम मात्र गरेको छ | तपाईंहरु एकथोक बोल्नुहुन्छ,अर्कोथोक गर्नुहुन्छ | यस्तो अडान नभएको दलको शीर्ष नेतृत्वका लागि अघि बढ्दै गर्दा तपाईंले केपी ओलीकै जस्तो बाटो अवलम्बन गर्नु भएको हो भने के भनौं र ? अन्यथा अलि जिम्मेवार भएर सार्वजनिक रुपमा प्रस्तुत हुनु हुनेछ भन्ने अपेक्षा गरेको छु |

केपी ओलीको नौटंकी राष्ट्रवादले आज देश विभाजनको खाडल बढेको छ | एकै देशलाई हिमाल र मधेशका बीच दूरी बढाएर भांडभैलो गर्न खोजिएको छ | जसका कारण मधेशमा एमालेप्रति आक्रोश बढेको छ | केपी ओलीले लगाएको चश्माले देशका सबै भू-भाग र जनता एकै हुन् भन्ने देख्न छाडेको छ | ओलीको स्वास्थ्य प्रतिकूल छ | औषधीले कहिले काहीं अलि बढी नै असर पु-याए जस्तो देखिने गरी उहाँ बोल्नुहुन्छ | के एक जिम्मेवार राष्ट्रिय नेताले बोल्ने यस्तै हो ? झूठको पुलिन्दा बोकेर बल्खुबाट शंखपार्क सर्नुभएका तपाईंहरु अझै धम्कीकै राजनीति गर्नु हुन्छ भने केपी ओलीकै जस्तो गरी उखान टुक्का सापट लिएर भन्नैपर्छ, १२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखे पनि जस्ताको तस्तै | के यही हो लोकतन्त्रप्रतिको प्रतिवद्धता ? के तपाईंको लोकतन्त्रको बुझाई भनेको अभिव्यक्तिमा छाडापन हो ? योगेशजी, यदि हिसाब गरेर राख्नु नै पर्ने अवस्था आएको छ भने एमाले विरुद्धको पहिलो सूचीमा मेरो पनि नाम लेख्नु होला | मलाई तपाईंको जुनसुकै चुनौती र धम्की पनि स्वीकार्य छ |

यदि तपाईंको जस्तो अराजक विचारलाई परास्त गर्न अग्रसर हुनुपर्छ भने म तपाईंको विरुद्ध उभिने अग्रपंक्तिको एक सदस्य हुनेछु | नेपाली वाम आन्दोलनको मूल प्रवाहको दावी गर्ने तपाईंहरुसंग वाम आन्दोलनलाई अघि बढाएको जश लिने ठाउँ छँदै छैन | तपाईंहरु भ्रमको खेती गर्न मूल प्रवाहमा हुनुहुन्छ | उखान टुक्काले मात्र देश बन्ने भए उपत्यकामा पहिले नै रेल गुडी सक्ने थियो होइन ? बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने तपाईंको नेतृत्व आज पनि लोकतन्त्र र संघीयतालाई खुला हृदयले स्वीकार्न सकिरहेको छैन | सडकमा संघीय लोकतन्त्रको नारा लाग्दै गर्दा केपी ओली भन्दै हुनुहुन्थ्यो यो गुलेलीको खेलले गणतन्त्र आउदैन | आफु असहमत हुने विचारलाई नजर अन्दाज गर्ने मनोरोगले एमाले भन्ने ढुलमुले र अवसरवादी दललाई बेसुराहरुको क्लबमा परिणत नगरोस्, अहिले यति कामना गरौँ |

स्वस्थ प्रतिष्पर्धाका लागि त आउनुस् विकासका लागि सहयात्रा गरौँ | देश बनाउन र समुन्नतिका लागि सहकार्य गरौँ | अब फेरि कसैलाई धम्क्याएर,तर्साएर राजनीति गर्छु भन्नु भनेको अहंकार मात्र हो है |

तपाईंको भाषा राष्ट्र सेवक कर्मचारी,सुरक्षाकर्मी,पेशागत र व्यवसायिक व्यक्तित्वहरुका लागि लक्षित छ, जसलाई धम्क्याएर देश र जनताका लागि काम गरिरहेकाहरुलाई हतोत्साही नबनाउनु होला | किनकि जनता विवेकशील छन् | तपाईंहरुको साम्यवादको सपना तपाईंकै पार्टी अध्यक्षको भाषामा भन्नुपर्दा बयलगाडा चढेर अन्तरिक्षको यात्रामा जान्छु भने जस्तै हो |

धैर्यशील बनौं, तपाईं हाम्रो राजनीतिक यात्रा लामो नै छ | तपाईंहरुका माझ त हीनताबोध बढी छ, त्यही ओकल्न खोज्नु भएको हो भने त्यो पनि गलत हो | योगेशजी, सिद्धान्त,आदर्श र विचारबाट च्युत भैसकेपछि त्यो राजनीतिक प्राणी कस्तो होला ? मलाई लाग्छ, त्यो साँच्चै अहिलेको नेकपा एमाले जस्तो नै हुनेछ | आफुले बोकेको सिद्धान्त यदि कम्युनिष्ट नै हो भने त्यो शास्त्रीय र दर्शनलाई कति पहिले तपाईंहरुले छाडिसक्नु भयो, इमान्दारीपुर्वक भन्नुस न ?

एकपटक अमेरिकाको भीषा आवेदनका लागि दश ठाउँमा म कम्युनिष्ट होइन र कम्युनिष्ट गतिविधिमा कहीं,कतै संलग्न छैन भनेर औंठाछाप र हस्ताक्षर गर्दा तपाईंहरुको दम्भ कहाँ कति स्खलित भएको छ र स्वाभिमान कहाँ लम्पसार भएको छ भन्ने हिसाब किताब पनि त गर्नु भएको होला नि, होइन ?

अहिले पहिलो चरणको निर्वाचनको प्रारम्भिक मत गणनामा अग्रता लिदै गरेको दलको सचिव तपाईं र तपाईंको नेतृत्वले आफु हार्दा सत्ता पक्षले सत्ताआतंक मच्चाएको भन्नु हुन्छ भने जितेको खण्डमा सत्ता आतंकका बावजुद पनि एमालेलाई जनताले न्याय दिए भन्दै परिणामलाई स्वीकार गर्ने वक्तव्यबाजी निकाल्ने दुई जिब्रे राजनीति गर्नु हुन्छ भन्नेमा हामी ढुक्क छौं | किनकी तपाईंहरुको चरित्र नै ढुलमुले हो,खोक्रो आडम्बर हो |

अहिलेलाई यत्ति नै योगेशजी,तपाईंको राजनीतिक भविश्य सुधारोन्मूख बन्नेछ भन्ने कामनासहित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment