Comments Add Comment

तथ्यमा हेरौं : तालमेलबाट कसलाई लाभ, कसको विलाप ?

दोस्रो चरणमा कांग्रेस, माओवादी, फोरम र जातीय पार्टीबीच गठबन्धन !

 

काठमाडाैंमा चुनावी तालमेल गरेका एमालेका विद्यासुन्दर शाक्य र राप्रपाका राजाराम उम्मेदवारी दर्ता गर्ने क्रममा ।

१९ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचनमा तालमेल फलदायी नभएको भन्ने दलहरु दोस्रो चरणको चुनाव करीव एक महिना बाँकी हुँदै उम्मेदवार चयनदेखि नै तालमेलमा जुटिसकेका छन् ।

ताप्लेजुङ, भोजपुर, कैलाली लगायतका जिल्लाको प्रारम्भिक चुनावी तालमेल हेर्दा कांग्रेस माओवादी गठबन्धन दोस्रो चरणमा अझ कसिलो बन्ने देखिन्छ । यो गठबन्धनभित्र पूर्वी पहाडमा संघीय समाजवादी फोरम पनि मिसिँदैछ ।

पहिलो चरणमा एमालेसँगको तालमेलबाट अपेक्षित सफलता नपाएको राप्रपा र राष्ट्रिय जनमोर्चा दोस्रो चरणमा झस्किएका छन् । त्यसो त एमाले पनि राप्रपासँग तालमेल अपेक्षित सफल नभएपछि एक्लै शक्ति परीक्षण गर्ने मूडमा देखिन्छ ।

पहिलो चरणको चुनावपछि दोस्रो चरणको चुनावमा जानुअघिका यी प्रारम्भिक संकेत हुन् । दलहरु एक्लै चुनाव लडेर आफ्नो वास्तविक जनमत परीक्षण गर्ने भन्दा पनि दुई वा दुई भन्दा बढि मिलेर जित्ने अभियानमा केन्द्रित छन् ।

तथ्यहरु के भन्छन् ?

तालमेलका सन्दर्भमा गोलमाल कुरा गर्नुभन्दा पनि तथ्यमा गएर टिप्पणी गर्नुपर्ने हुन्छ । पहिलो चरणमा कुनै पनि दल तालमेलका मामिलामा अछूतो रहेनन् । एकले अर्कोलाई मुख्य प्रतिस्पर्धी ठानेका कांग्रेस र एमाले समेत सल्यान र कालिकोटका केही स्थानीय तहमा मिलेर माओवादी विरुद्ध चुनाव लडे ।

राप्रपासँग मिलेको भनेर एमालेलाई आरोपित गर्ने माओवादी केन्द्रले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका लगायतका कतिपय स्थानीय तहमा राप्रपासँग चुनावी तालमेल गरेको थियो । बरु पहिलो चरणको चुनावमा कांग्रेस र राप्रपाबीच कुनै पनि स्थानीय तहमा घोषित तालमेल भएको देखिएन ।

अहिले एकले अर्कोलाई चुनाव जित्नका लागि जो जोसँग पनि तालमेल गरेको आरोप लगाइरका दलहरुनै तालमेलबाट सबैभन्दा फाइदा लिनेमा देखिएका छन् । बरु तालमेलबाट फाइदा नपाउनेमा मूलतःराप्रपा,मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा देखिए ।

एमाले-राप्रपा र एमाले-राजमो तालमेल आधा सफल

एमालेसँग काठमाडौं र ललितपुर महानगरपालिका तथा बागलुङ र बेनी नगरपालिकामा तालमेल गरेको राप्रपाले चारै ठाउँमा उपमेयर पाएको थियो । उसले बागलुङ र बेनीमा सफलता पाए पनि काठमाडौं र ललितपुरमा पाएन ।

ललितपुरमा एमालेका मेयर र राप्रपाका उपमेयर दुवै पराजित भए । म्याग्दीको बेनी नगरपालिकामा एमालेका मेयर उम्मेदवार ४५ मतले पराजित हुँदा राप्रपाका उपमेयर भने बिजयी भए । त्यहाँ कांग्रेस-माओवादीबीच पनि तालमेल थियो तर कांग्रेसका मेयर जित्दा माओवादीका उपमेयर हारे ।

बागलुङमा एमाले र राष्ट्रिय जनमोर्चाको तालमेल आंशिक सफल भयो । बागलुङ नगरपालिकामा राप्रपा र एमालेको तालमेल पूर्ण सफल भयो ।

यो बाहेक एमालेले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा नेपाल मजदूर किसान पार्टीसँग तालमेल गरेको थियो । एमालेका मेयर भारी मतान्तरले जित्दा नेमकिपाका उपमेयर भने पराजित भए ।

काठमाडौंमा एमालेका मेयरले जित्दा राप्रपाका उपमेयर भारी मतले पराजित भए । उपमेयरमा ७६  हजार मत बदर हुनु उनको लागि दुर्भाग्य भयो । तर राप्रपाले महानगरपालिकाका ३२ वडामा पाएको मत जम्मा ८ हजार पनि कट्न नसक्दा उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले ३४ हजार कटाएका छन् । त्यो एमालेकै मतबाट सम्भव भएको हो । यद्यपि एमालेका सबै मत उनले पाएनन् ।

एमाले-माओवादी तालमेल पनि आंशिक सफल

योबाहेक एमालेले तनहुँ र लमजुङका केही स्थानीय तहमा माओवादी केन्द्रसँग तालमेल गरेको थियो । त्यहाँको तालमेल पनि आंशिक रुपमा सफल भयो । लमजुङको सुन्दर बजार र मध्यनेपाल नगरपालिकामा एमाले र माओवादी मिलेका थिए ।

सुन्दर बजारमा एमालेका मेयर जितेर माओवादीका उपमेयर पराजित भए । मध्यनेपालमा पनि माओवादीका मेयर पराजित भए । तरल एमालेका उपमेयर बिजयी भए । माओवादीले मस्र्याङदी र दोर्दी गाउँपालिकामा एमालेको समर्थनमा सफलता पायो ।

समग्रमा लमजुङका ८ मध्ये ५ स्थानीय तहमा तालमेल गरेका एमाले र माओवादीले अधिकतम सफलता पाएको देखिन्छ । तनहुँमा भने कांग्रेस बलियो भएको ब्यासमा दुवै मिलेर पनि जित्न सकेनन्ज । जहाँ एमाले र माओवादीले जिते उनीहरु एक्लै लडेका थिए ।

एमाले र कांग्रेसको यस्तो तालमेल

चुनावी लडाइँमा एकले अर्कोलाई प्रमुख दुश्मनको व्यवहार गरेका कांग्रेस र एमालेको केन्द्रीय नीति एक आपसमा तालमेल गर्ने नभए पनि ६ नम्बर प्रदेशमा स्थानीय कार्यकर्ताले तालमेल गरे ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कांग्रेसको समर्थनमा एमालेका जिल्ला अध्यक्ष गोविन्द पुन मेयर निर्वाचित भए तर कांग्रेसका उपमेयर पराजित भए । उनीहरु त्यहाँ माओवादीका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीलाई पराजित गर्न मिलेका थिए ।

सल्यानको दार्मा गाउँपालिकामा पनि कांग्रेस एमालेको गठबन्धन भएको थियो । तर, उनीहरुले माओवादीलाई पराजित गर्न सकेनन् । कालिकोटको महाबै गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसले तालमेल गरेरै जितेका हुन् ।

जहाँ माओवादी र कांग्रेस मिले

माओवादीसँगको तालमेलबाट एमालेले भन्दा कांग्रेसले उल्लेख्य फाइदा लिएको छ । पहिलो चरणको चुनावमा कांग्रेस र माओवादी दुई महानगरपालिकामा केन्द्रीयस्तरबाटै मिलेका थिए भने एकमात्र उपमहानगरपालिकामा पनि केन्द्रीय तालमेलमै लडेका थिए ।

भरतपुरको मतगणना अवरुद्ध भएको बेला पोखरा महानगर र हेटौंडा उपमहानगरपालिकामा कांग्रेस माओवादी तालमेलले एमालेलाई पराजित गर्न सकेन । मकवानपुरकै थाहा नगरपालिकामा माओवादीले मेयर र कांग्रेसले उपमेयर जितेर तालमेलको सफलता चाखेका छन् ।

तर, मकवानपुरकै भिमफेदी गाउँपालिकामा राप्रपा सहित मिल्दा पनि तीन दलले एमालेका युवा नेता हिदम लामा र पार्वती रानाको टिमलाई हराउन सकेनन् । कांग्रेस र माओवादीबीच धादिङ र दोलखामा जिल्लास्तरीय तालमेल भएको थियो ।

दोलखामा तालमेलबाट कांग्रेसले बैत्यश्वर र बिगु गाउँपालिकाको अध्यक्ष जिते पनि माओवादीले आफ्नो भागमा परेका गाउँपालिका जित्न सकेन । दोलखाका ९ मध्ये ७ स्थानीय तहमा एमालेले जितेर तालमेलकर्तालाई कमजोर साबित गर्‍यो ।

धादिङका पनि १३ मध्ये अधिकांश स्थानीय तहमा कांग्रेस माओवादी तालमेल भएको थियो । तर तालमेल निलकण्ठ नगरपालिका,बेनिघाट रोराङ र ज्वालामुखी गाउँपालिका मात्र सफल भयो ।

त्यसमा पनि ज्वालामुखीमा कांग्रेसले अध्यक्ष जित्दा उपाध्यक्ष भने माओवादी उम्मेदवार जित्न सकेनन् । जिल्लाका १३ मध्ये ८ स्थानीय तहमा एमाले एक्लैले जित्यो । ३ नम्बर प्रदेशको कांग्रेससँगको तालमेलमा माओवादी फाइदा लिएको थाहा नगरपालिकाको मेयर र धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्षमात्र हो ।

कांग्रेस राप्रपा पनि मिलेका थिए

यसअघि कांग्रेस र राप्रपाबीच कतै औपचारिक तालमेल नभएको भनिएकोमा पाठकहरुको प्रतिक्रियालाई सम्बन्धित ठाउँबाट बुझ्दा यी दुई पार्टीबीच पनि केही ठाउँमा तालमेल भएको भेटिएको छ ।

कांग्रेस र राप्रपाबीच कालिकोटको रास्कोट गाउँपालिका र लम्जुङको मस्र्याङ्दी गाउँपालिकामा तालमले भएको थियो । कालिकोटको रास्कोटमा माओवादीले जित्दा कांग्रेस राप्रपा गठबन्धन तेस्रो भयो । लमजुङको मस्र्याङ्दीमा यो गठबन्धन एमाले माओवादी गठबन्धनसँग पराजित भएको थियो ।

तालमेलका तीता-मीठा

समग्र स्थानीय चुनावमा राजनीतिक दलहरु आम रुपमा एक्ला एक्लै लडेका हुन् । २८३ स्थानीय तहमध्ये करीव ४० स्थानीय तहमा दलहरुले आ-आफ्नो सुविधा अनुसार तालमेल गरेका हुन् । तर तालमेलमा जालझेल भएको भन्दै एकले अर्कोलाई धोका दिएको आरोप सबैले सबैलाई लगाइरहेकै छन् ।

विशेष गरि चार महानगरपालिका र एकमात्र उपमहानगरपालिकामा दलहरुबीच तालमेल भएकाले त्यसको असर समग्र देशभर अमूक दलहरुबीच तालमेल भएको सन्देश प्रवाह हुन पुग्यो ।

भरतपुर महानगरपालिका सत्ता गठबन्धनको तालमेल र त्यसमा पनि प्रधानमन्त्रीको छोरी उम्मेदवार भएकाले अहिलेसम्म चर्चा र विवादमै छ ।

तालमेल भएका ठाउँमा स्वभाविकरुपमा कांग्रेस र एमालेका उम्मेदवार साना दलको मत पाएर जित्न सफल भएका छन् । माओवादी, राप्रपालगायत साना दलका उम्मेदवार भने तालमेलबाट पनि कतिपय ठाउँमा सफल हुन सकेका छैनन् । ठूला दलका उम्मेदवारले पाएको सबै मत तालमेलमा नपरेको देखिन्छ ।

दोस्रो चरणमा के होला ?

कतिपयले भरतपुरमा रेणु दाहालले जितेमा दोस्रो चरणमा कांग्रेस र माओवादीबीच आम रुपमा सहमति हुने आँकलन गरेका छन् । तर रेणुले जिते पनि हारे पनि दोस्रो चरणमा तालमेल हुने कांग्रेस माओवादीबीचमै हो । पूर्वी पहाडमा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमबीच गठबन्धन हुँदैछ ।

पूर्वी पहाडका कतिपय जिल्लामा सत्तारुढ गठबन्धनसँग खम्बुवान, लिम्बुवान लगायत जातीय पार्टीहरु पनि एमाले विरुद्ध एकजुट हुने देखिन्छ । त्यसको असर एमालेलाई पूर्वी पहाडमा मात्र नभएर इटहरी, धरानजस्ता नगरमा पनि सामान्य रुपमा पर्न सक्छ ।

तर एमालेका उम्मेदवार पनि राई लिम्बू नै हुने भएकाले जातीय प्रभाव हुँदैन भन्ने कुरा ०७० को संविधानसभा चुनावले पुष्टि गरेको छ ।

अशोक राईको नेतृत्वमा एमालेका प्रभावशाली नेताहरुले पार्टी छाडेर संघीय समाजवादी बनाउँदा एमाले विरुद्ध जनजाति विरोधीको आरोप थियो । तर, चुनावमा एमालेले जित्यो, अशोक राईको पार्टीले भोजपुर १ मा बाहेक जमानत पनि जोगाउन सकेन ।

दोसो चरणमा ५ र ७ नम्बर प्रदेशमा पनि कांग्रेस माओवादीबीच धेरै ठाउँमा तालमेल हुने सम्भावना छ । ती प्रदेशमा बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको पनि राम्रो उपस्थिति छ । तर, उनले कोसँग तालमेल गर्छन् भन्ने प्रष्ट छैन ।

मधेसवादी दलहरु एकजुट भएमा २ नम्बर र ५ नम्बर प्रदेशको तराई क्षेत्रमा उनीहरुले कांग्रेसलाई कमजोर बनाउन सक्छन् । कांग्रेस र मधेशवादी दलहरुबीच चुनावी तालमेलको सम्भावना भने कमै देखिन्छ । किनकि हुलाकी राजमार्ग दक्षिणको कोर मधेशका अधिकांश स्थानीय तहमा कांग्रेस र मधेसवादी दलको प्रतिस्पर्धा हुने देखिन्छ ।

कतिपय ठाउँमा एमाले र मधेशवादी दलबीच स्थानीयस्तरमा तालमेल हुन सक्छ भने कतिपय ठाउँमा माओवादी र मधेसवादीबीच हुन सक्छ । तर, एमालेसँग तालमेल गर्दा समग्र मधेसमा मधेस बिरोधीसँग तालमेल गर्‍यो भन्ने आरोप लाग्ने भएकाले राजपा र फोरम दुवै हच्किन सक्छन् ।

एमालेको एक्लै लड्नुपर्ने दुःख

एमालेले मधेसका कतिपय स्थानमा फोरम लोकतान्त्रिकसँग तालमेल गर्न सक्ने देखिन्छ ।

दोस्रो चरणको चुनावमा एमाले एक्लै चुनाव लड्नुपर्ने अवस्था दुई कारणले देखिएको छ । एउटा त एमालेसँग तालमेल गरेका राप्रपा,जनमोर्चा र नेमकिपाले धोका भएको महशुस गरेका छन् । अर्कोतिर एमालेले पनि तालमेल नगरेको भए काठमाडौंको उपमेयर पनि जितिने र ललितपुर महानगरपालिका जितिने रहेछ भन्ने समीक्षा गरेको छ ।

पोखरामा एक्लै लड्दा कांग्रेस माओवादी गठबन्धन पराजित गरेको र भरतपुरमा पनि कांग्रेस माओवादी गठबन्धनलाई पराजयको डिलमा पुर्‍याएको एमालेले काठमाडौंमा जितको मजा लिन सकेको छैन । त्यसैले उसले मूततः एक्लै लड्ने मूड बनाएको देखिन्छ ।

राष्ट्रिय जनमोर्चाले पहिलो चरणको बागलुङको तालमेल समीक्षा गर्दै दोस्रो चरणमा प्युठानमा हुन लागेको तालमेल भंग गरेको छ । यद्यपी एमालेका कार्यकर्ताले जनमोर्चासँग जिल्ला तहमा गरिएको तालमेल अश्वीकार गरेकाले भंग गर्नुपरेको जनमोर्चाले बताएको छ ।

दोस्रो चरणमा एमाले र राप्रपाबीच नेपालगन्ज उपमहानगरपालिका, भैरहवा र दमक जस्ता नगरपालिकामा तालमेलको सम्भावना थियो ।

तर, पहिलो चरणको अनुभवले एमाले आफैं अनिच्छुक देखिएको छ । जिते पनि हारे पनि एक्लै लड्ने र जनताको वास्तविक मत कति रहेछ भन्ने जाँच गर्ने पक्षमा एमाले देखिएको छ ।

तालमेल गर्नेनै हो भने…

दलहरुबीचको पहिलो चरणको तालमेल अनुभवले देखाएको निर्मम यथार्थ के हो भने-तालमेलमा जालझेल वा अन्तर्घात भन्दा पनि चुनाव चिन्हले धोका दिएको देखिन्छ । गठबन्धनका उम्मेदवारको अलग अलग चुनाव चिन्हमा मत हाल्नुपर्ने भएकाले मतदाता झुक्किएर धेरै मत बदर भएको छ ।

काठमाडौंमा उपमेयरमा ७६ हजार मत बदर हुनुले यसलाई प्रष्ट पार्छ । हेटौंडा उपमहानगरपालिकामा कांग्रेस माओवादी गठबन्धन पराजित हुनुमा पनि बदर मत निर्णायक भएको पराजित उम्मेदवारले बताएका छन् ।

उम्मेदवारी दर्ता गरिसकेपछि मौखिक गठबन्धन हुँदा पनि तालमेल सफल नभएका उदाहरण देखिएका छन् ।

अब दोस्रो चरणमा दलहरुले तालमेल गर्दा सकेसम्म एउटै चुनाव चिन्ह लिएर उम्मेदवारीमा मनोनयन गर्दा बदर मत कम हुने र तालमेल सफल हुने सम्भावना बढी हुन्छ । तर, आमरुपमा जनताले तालमेललाई अस्वीकार गरेको सत्य पनि भूल्न हुँदैन ।

मतदाताले राजनीतिक दल, तिनका उम्मेदवार र एजेण्डा मन पराएर भोट दिएका छन् । उनीहरुले दलहरुलाई आफ्नै शक्तिमा चुनाव लड्नू भन्ने सन्देश पनि दिएको बुझ्नुपर्छ ।

महानगर, उपमहानगर र नगरपालिकाहरुका मतदाताले तालमेललाई पराजित गरेर आफ्नो मत अभिव्यक्त गरेका छन् ।

तालमेलले कार्यकर्तालाई बाँध्न सकिएला, तर स्वतन्त्र मतदाता र कुनै दलमा आस्था मात्र राख्ने सर्वसाधारणले तालमेल मान्दैनन् भन्ने प्रष्ट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment