Comments Add Comment

फेसबुकबाट ‘घृणा फैलाउने’लाई मृत्युदण्ड

फेसबुकमा निन्दा तथा घृणाजन्य सामाग्रीहरु पोष्ट गरेको अभियोगमा एक व्यक्तिले मृत्युदण्डको सजाय सुनाइएको छ ।

इस्लाम धर्मका प्रवर्तक मोहम्मदबारे फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको अभियोग लागेका तैमुर राजा नामक व्यक्तिलाई पाकिस्तानको एक अदालतले मृत्युदण्डकोे फैसला सुनाएको हो ।

सोसल मिडियासँग सम्बन्धित मुद्दामा कुनै अभियुक्तलाई मृत्युदण्डको फैसला गरिएको यो सायद पहिलो घटना भएको बताइएको छ ।

उता फेसबुकमा लेखेको विषयलाई लिएर मृत्युदण्ड दिने फैसलाको विषयमा मानव अधिकारवादीहरुले चासो व्यक्त गरेका छन् ।

यस विषयमा फेसबुक आफैंले चाहिँ कुनै टिप्पणी गरेको छैन ।

गत मार्चमा फेसबुकले एक जानकारी दिँदै पाकिस्तानमा फेसबुकका घृणाजन्य सामाग्रीहरु सम्बन्धी सरकारी चासोलाई सम्बोधन गर्न एक टोली पाकिस्तान पठाउन लागेको जनाएको थियो । तर आफ्ना प्रयोगकर्ताको गोपनियता तथा अधिकारको रक्षा गर्ने अझै पनि आफ्नो इच्छा रहेको फेसबुकको भनाइ थियो ।

धार्मिक निन्दा गर्ने विषयलाई क्षमा गर्न नसकिने अपराध रहेको पाकिस्तानी प्रधानमन्त्रीले बताउने गरेका छन् ।

पाकिस्तानको राजधानी इस्लामावादभन्दा ४९८ किलोमिटर टाढा रहेको बहावालपुरस्थित आतंकवादविरोधी अदालतले अभियुक्त राजामाथिको मुद्दामा सुनुवाई गरेको थियो ।

अभियुक्तका वकिलका अनुसार राजाले फेसबुकमा कुनै अमूक व्यक्तिसँग इस्लाम धर्मबारे बहस गरेका थिए । राजाले धर्मका बारेमा बहस गरेका व्यक्ति अन्ततः आतंकवादविरोधी निकायका सरकारी अधिकारी भएको खुलेको वकिलको भनाइ छ ।

सरकारी वकिलहरुका अनुसार बस स्टपमा आफ्नो फोनबाट धार्मिक निन्दायुक्त भाषण तथा अडियो सामग्रीहरु सुनाएसँगै उनलाई पक्राउ गरिएको थियो । पछि उनको फोन बरामद गरेर अनुसन्धान गरिएको थियो ।

आफूमाथिको मृत्युदण्डको फैसलाविरुद्ध राजाले लाहोर उच्च अदालत तथा अन्त्यमा पाकिस्तानको सर्वोच्च अदालतमा पनि पुनरावेदन गर्न सक्नेछन् ।

स्मरण रहोस् केही दिनअघि सोसल मिडियामा धार्मिक निन्दायुक्त सामग्री पोष्ट गरेको अभियोगमा एक प्राध्यापकमाथि पनि मुद्दा चलेको थियो र उनलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो ।

एम्नेष्टी इन्टरनेसनलले मृत्युदण्ड सुनाइएका तैमूर राजालाई तत्कालै रिहा गर्न पाकिस्तान सरकारसँग आग्रह गरेको छ ।

सोसल मिडियामा निन्दा गरेको अभियोगमा कसैलाई मृत्युदण्ड दिनु अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लंघन भएको र यसले खतरनाक नजिर बसाल्ने पनि एम्नेष्टीले जनाएको छ ।

अनलाइनमा आफ्ना वाक् स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रता तथा धर्म र विश्वासका बारेमा राखेको विचारकै आधारमा कसैलाई आतंकवाद विरोधी अदालतमा हुल्न नहुने एम्नेष्टीको भनाई छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment