+
+
Shares
पौरखी प्रवासी :

पाँच सय दिराम कमाउने क्लिनर हुँदै ८० देशमा कस्मेटिक साम्राज्य 

१६ वर्षको उमेरमा ऋण लिएर यूएई पुगेका प्रकाश कार्कीले कस्मेटिक्स कम्पनीमा सरसफाइकर्मीका रूपमा काम सुरु गरे। पाँच वर्षमै महाप्रबन्धक बनेका उनी अहिले यूएई, इराक र पाकिस्तानमा प्रसाधन सामग्री उत्पादनसम्बन्धी उद्योग सञ्चालन गरिरहेका छन्। अहिले उनको कम्पनीका उत्पादन ८० भन्दा बढी देशमा पुग्छन्।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ मंसिर ८ गते १२:३४

सन् २००१ मा १६ वर्षको उमेरमा प्रकाश कार्की पहिलोपटक नेपाल छाडेर संयुक्त अरब इमिरेट्स (यूएई) पुगे। म्याग्दीको राखुमा जन्मिएका उनीसँग न उच्च शिक्षा थियो, न ठूलो पुँजी, न व्यावसायिक अनुभव। परिवारको कमजोर आर्थिक अवस्थाले उनलाई कलिलै उमेरमा काम खोज्दै विदेशिन बाध्य बनाएको थियो।

यूएई पुगेपछि उनले प्रसाधन सामग्री उत्पादन गर्ने एउटा कम्पनीमा सरसफाइकर्मीको काम पाए। कार्यालय सफा गर्ने, सामान ओसार्ने र अह्राइएको काम पूरा गर्नु उनको जिम्मेवारी थियो। मासिक तलब थियो, ५०० दिराम। खाने र बस्ने सुविधा कम्पनीले नै दिएको थियो।

तर प्रकाशले त्यो जागिरलाई कमाइको माध्यमका रूपमा मात्रै लिएनन्। जुन कम्पनीमा सरसफाइको काम गरिरहेका थिए, त्यही कम्पनीको व्यवस्थापन सम्हाल्ने र पछि आफ्नै व्यवसाय सुरु गर्ने सपना देखेका थिए।

‘मलाई सुरुदेखि नै त्यो कम्पनीको महाप्रबन्धक बन्ने र त्यहाँबाट सिकेका सबै कुरा प्रयोग गरेर आफ्नै व्यवसाय गर्ने लक्ष्य थियो,’ उनी सम्झन्छन् ।

सुरुमा सामान बोक्ने र कार्यालय सफा गर्ने काम गरेका प्रकाश अहिले प्रसाधन तथा व्यक्तिगत स्याहारका सामग्री उत्पादन र निर्यात गर्ने व्यवसाय सञ्चालन गरिरहेका छन्। उनका अनुसार, यूएईबाहेक पाकिस्तान र इराकमा पनि उनले उत्पादनसम्बन्धी उद्योग विस्तार गरेका छन् । विभिन्न देशमा वितरक तथा व्यावसायिक साझेदारको सञ्जाल बनाएका उनको कम्पनीका उत्पादन ८० भन्दा बढी देशमा पुग्छन् ।

क्लिनरको कामबाट सुरु भएको उनको यात्रा कसरी अन्तर्राष्ट्रिय बजारमा सामान पुर्‍याउने उद्यमसम्म पुग्यो ?

पारिवारिक बाध्यताले देखाएको परदेशको बाटो

प्रकाशको बाल्यकाल म्याग्दीको राखुमा बित्यो। परिवारको आर्थिक अवस्था कमजोर थियो। पढाइलाई निरन्तरता दिनुभन्दा काम गरेर परिवारलाई सहयोग गर्नु तत्कालीन आवश्यकता बन्यो ।

बुबाले यूएई जाने प्रक्रिया मिलाइदिए। त्यहाँको एउटा कस्मेटिक्स कम्पनीले भिसाका लागि सिफारिस गर्‍यो। विदेश जान करिब ५० हजार रुपैयाँ खर्च लाग्ने भयो। बुबाले केही रकम जुटाइदिए, बाँकी आफन्तसँग ऋण लिएर मिलाउनुपर्‍यो ।

यसरी ऋण र पारिवारिक जिम्मेवारी बोकेर उनी सन् २००१ मा यूएई पुगे ।

‘घरको आर्थिक अवस्था राम्रो थिएन। पढाइ छाडेर काम खोज्दै विदेश जानुपर्‍यो,’ उनी भन्छन् ।

विदेश पुग्दा उनी किशोरावस्थामै थिए। नयाँ देश, नयाँ भाषा र नयाँ कामसँग अभ्यस्त हुनु सजिलो थिएन । कम्पनीमा सरसफाइ गर्ने र सामान एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने कामबाट उनको व्यावसायिक जीवन सुरु भयो ।

तर प्रकाशले आफूलाई त्यही काममा सीमित राखेनन् । काम गर्दै कस्मेटिक्स कसरी उत्पादन हुन्छ, सामान बजारसम्म कसरी पुग्छ, कम्पनी कसरी सञ्चालन हुन्छ र व्यवसायमा निर्णय कसरी लिइन्छ भन्ने विषय बुझ्ने प्रयास गर्न थाले ।

जिम्मेवारी पाएको काम समयमै पूरा गर्ने, कामप्रति इमानदार रहने र सिक्न खोज्ने उनको बानीले कम्पनीभित्र थप जिम्मेवारी पाउने अवसर सिर्जना गर्‍यो ।

पाँच वर्षमै महाप्रबन्धक

प्रकाशले काम गरेको कम्पनीले क्रमशः उनलाई थप जिम्मेवारी दिन थाल्यो। उनको मेहनत र कामप्रतिको लगाव देखेर व्यवस्थापनले जिम्मेवारी बढाउँदै लग्यो। पाँच वर्षभित्रै उनी महाप्रबन्धकको पदमा पुगे ।

कार्यालय परिसर सफा गर्ने कामबाट सुरु भएको उनको जिम्मेवारी अब कम्पनीको समग्र व्यवस्थापनसम्म पुगेको थियो । कर्मचारी व्यवस्थापन, बजारको अवस्था बुझ्ने, व्यावसायिक निर्णय लिने र कम्पनीको सञ्चालनमा ध्यान दिने काम उनको जिम्मेवारीमा थपिए ।

त्यही अवधिमा उनले उत्पादनदेखि बिक्रीसम्मको प्रक्रिया बुझ्ने अवसर पाए । ग्राहकको आवश्यकता, बजारको प्रतिस्पर्धा, उत्पादनको गुणस्तर र व्यावसायिक सम्बन्धको महत्त्वबारे अनुभव बटुले ।

उनी काम गरेको कम्पनीका मालिक इरानी नागरिक थिए। प्रकाशका अनुसार, ती मालिकले उनलाई आफ्नै छोरासरह व्यवहार गर्थे। पछि प्रकाशले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गर्दा पनि ती व्यक्तिले सहयोग गरे ।

प्रकाशले करिब सात वर्ष त्यही कम्पनीमा काम गरे । उनका लागि त्यो अवधि जागिर खाएर पैसा कमाउने समय मात्रै थिएन। आफ्नै व्यवसाय सुरु गर्न आवश्यक ज्ञान, अनुभव र सम्बन्ध निर्माण गर्ने अवसर पनि थियो ।

जागिरबाट आफ्नै व्यवसायमा

महाप्रबन्धकसम्मको जिम्मेवारी सम्हालिसकेपछि प्रकाशले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरे। तर जागिरमा व्यवस्थापनको जिम्मेवारी लिनु र आफैँले लगानी गरेर व्यवसाय सञ्चालन गर्नु फरक कुरा थियो ।

आफूसँग ठूलो पुँजी थिएन। उत्पादन सुरु गर्नुपर्ने, ग्राहक खोज्नुपर्ने, साझेदार जुटाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान बनाउनुपर्ने चुनौती एकैसाथ थिए ।

यस्तो अवस्थामा पहिले काम गरेको कम्पनीका मालिकले उनलाई सहयोग गरे। सम्भावित साझेदार तथा लगानीकर्तासँग सम्पर्क स्थापित गर्न मद्दत गरेपछि प्रकाशले सीमित लगानीबाट आफ्नो व्यावसायिक यात्रा अघि बढाए ।

पहिले नै कस्मेटिक्स उद्योगमा काम गरेको अनुभव भएकाले उनले यही क्षेत्र रोजे। बजारको माग बुझ्ने, ग्राहकको आवश्यकता पहिचान गर्ने र उत्पादनप्रति विश्वास निर्माण गर्ने काममा ध्यान दिए ।

उनको व्यवसाय विस्तारमा साझेदारी र विभिन्न देशका व्यवसायीसँग बनाएको सम्बन्ध पनि उपयोगी रह्यो। कारोबार बढ्दै जाँदा उनी सामान किनेर बेच्ने व्यापारबाट उत्पादनमै संलग्न हुने उद्यमतर्फ अघि बढे ।

अहिले उनको व्यावसायिक समूहअन्तर्गत कस्मेटिक्स तथा व्यक्तिगत स्याहारका सामग्री उत्पादन र व्यापारसँग सम्बन्धित कम्पनी सञ्चालनमा छन् ।

‘फ्युचर ट्रेन्ड्स कस्मेटिक्स म्यानुफ्याक्चरिङ’बाट सुरु भएको व्यवसाय विस्तार हुँदै ‘ट्रेन्ड्स फर ब्युटी एन्ड पर्सनल केयर रिक्विजिट्स म्यानुफ्याक्चरिङ’, ‘अल हीरा जनरल ट्रेडिङ’ र ‘न्यू ट्रेन्ड्स इन्टरनेसनल’सम्म पुगेको उनले बताएका छन् ।

यी कम्पनीमार्फत आफ्नै उत्पादन बिक्री गर्नुका साथै ग्राहक तथा अन्य व्यवसायीका ब्रान्डका नाममा पनि सामग्री उत्पादन गर्ने काम भइरहेको छ ।

८० भन्दा बढी देशमा बजार

प्रकाशका अनुसार, उनको कम्पनीका उत्पादन ८० भन्दा बढी देशमा आपूर्ति हुन्छन् । करिब ४० देशमा आफ्नै वितरणसम्बन्धी संरचना रहेको उनको भनाइ छ ।

यूएई उनको व्यवसायको मुख्य आधार हो । त्यहाँबाट व्यवसाय सुरु गरेका उनले पाकिस्तान र इराकमा पनि उत्पादनसम्बन्धी उद्योग सञ्चालन गरेको बताएका छन् । विभिन्न देशका साझेदार र वितरकमार्फत कारोबार विस्तार भइरहेको छ ।

कस्मेटिक्स बजारमा उत्पादन बिक्री गर्नु मात्रै पर्याप्त हुँदैन । प्रयोग हुने सामग्रीको गुणस्तर, उत्पादन प्रक्रिया र उपभोक्ताको सुरक्षालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ । प्रकाश यही पक्षलाई व्यवसायको आधार मान्छन् ।

‘हामी कस्मेटिक्स उत्पादन गर्छौं, तर उत्पादनभन्दा पहिले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनी भन्छन् ।

उनका अनुसार, सस्तो मूल्यमा उत्पादन बिक्री गर्ने प्रतिस्पर्धामा मात्रै लाग्दा व्यवसायले दीर्घकालीन रूपमा ग्राहकको विश्वास गुमाउन सक्छ । उत्पादनको गुणस्तर कायम राख्नु र ग्राहकको आवश्यकताअनुसार सामग्री तयार गर्नु दीर्घकालीन व्यवसायका लागि महत्त्वपूर्ण हुन्छ ।

उनको व्यावसायिक यात्रामा बजारको विस्तारसँगै उत्पादन, प्याकेजिङ, आपूर्ति र वितरण व्यवस्थापनलाई पनि व्यवस्थित बनाउने चुनौती रहँदै आएको छ ।

घाटाले पनि सिकायो

प्रकाशको व्यावसायिक यात्राले स्वाभाविक रूपमा आरोहअवरोह बेहोरे । व्यवसाय विस्तार गर्ने क्रममा उनले जोखिम उठाउनुपरेको छ। लगानी गरेअनुसार परिणाम नआउने, बजारमा उत्पादनले अपेक्षित स्थान नपाउने र खर्च बढ्ने समस्या पनि भोगेका छन् ।

कहिलेकाहीँ ठूलो लगानीमा सुरु गरिएका योजना असफल हुँदा आर्थिक क्षतिसमेत व्यहोर्नुपरेको उनी बताउँछन् । ती अनुभवले उनलाई बजारको अध्ययन, योजनाबद्ध लगानी र सम्भावित जोखिमको मूल्याङ्कन कति आवश्यक हुन्छ भन्ने सिकायो ।

‘व्यवसायमा कहिल्यै हार मान्नु हुँदैन । घाटा भयो भन्दैमा सबै कुरा छाडेर हिँड्ने हो भने न व्यवसाय बन्छ, न आफ्नो लक्ष्य पूरा हुन्छ,’ उनी भन्छन् ।

तर यसलाई जथाभावी जोखिम लिने सल्लाहका रूपमा बुझ्नु नहुने उनको अनुभव छ । कुन बजारमा लगानी गर्ने, कस्तो उत्पादन बनाउने, कस्ता व्यक्तिसँग साझेदारी गर्ने र लगानीबाट कस्तो प्रतिफलको अपेक्षा गर्ने भन्ने विषयमा स्पष्ट योजना हुनुपर्छ ।

व्यवसायलाई उनी नाफा र घाटाको हिसाबमा मात्र सीमित राखेर हेर्दैनन्  । उत्पादनले ग्राहकको आवश्यकता पूरा गर्न सकेन भने कारोबार दीर्घकालीन हुन नसक्ने उनको बुझाइ छ ।

‘व्यवसायमा सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो उत्पादन र ग्राहकमाझको सम्बन्ध हो । उत्पादनले ग्राहकलाई फाइदा दिन सकेन भने व्यवसाय पनि लामो समय टिक्दैन,’ उनी भन्छन् ।

परदेशमा नेपाली उद्यमीको पहिचान

यूएईमा झन्डै २५ वर्ष बिताइसकेका प्रकाशले नेपाली समुदायको बदलिँदो अवस्था पनि नजिकबाट देखेका छन् । विदेशमा नेपालीलाई कामदारका रूपमा मात्रै हेरिने गरेको अनुभव सुनाउने उनी अहिले विभिन्न क्षेत्रमा व्यवसाय गर्ने, लगानी गर्ने र रोजगारी सिर्जना गर्ने नेपालीको संख्या बढिरहेको बताउँछन् ।

उनका अनुसार, नेपालीमा क्षमता र मेहनतको कमी छैन । तर सीप, अनुभव र मेहनतलाई व्यावसायिक योजनासँग जोड्न सक्नुपर्छ ।

कामदारका रूपमा विदेश पुगेका नेपालीले पनि उद्यम सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण स्थापित हुनु आवश्यक रहेको उनी ठान्छन् ।  आफूले सरसफाइको कामबाट सुरु गरेर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आफ्नै उद्योगसम्मको यात्रा तय गर्न सकेको अनुभवले अरूलाई पनि सम्भावना देखाउन सक्ने उनको विश्वास छ ।

तर विदेश जानु मात्रै व्यवसाय सुरु गर्ने आधार होइन । कुन क्षेत्रमा काम गर्ने, त्यहाँबाट के सिक्ने, बजार कसरी बुझ्ने र सिकेको ज्ञानलाई भविष्यमा कसरी प्रयोग गर्ने भन्ने योजना पनि चाहिन्छ ।

प्रकाशको हकमा आफ्नै व्यवसाय गर्ने लक्ष्य सुरुदेखि नै थियो । जागिरमा रहँदा उनले व्यवसाय सञ्चालनका विभिन्न पक्ष सिके, सम्बन्ध बनाए र अनुभव बटुले । त्यसपछि मात्रै आफ्नै लगानी र साझेदारीमा उद्यम अघि बढाए ।

व्यवसायबाट अन्य व्यक्तिले रोजगारी पाउन सके र समुदायमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्यो भने त्यसको महत्त्व अझ बढ्ने उनको बुझाइ छ ।

नेपालमा उद्योग खोल्ने योजना

विदेशमा व्यवसाय विस्तार गरिरहेका प्रकाशको योजना त्यतिमै सीमित छैन ।  नेपालमा पनि प्रसाधन सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरेर स्थानीय बजारसँग जोडिने उनको लक्ष्य छ ।

उनले सिमरामा कस्मेटिक्स उत्पादनसम्बन्धी उद्योग निर्माणको काम अघि बढिरहेको बताएका छन्। नेपालमा यस्ता सामग्रीको बजार विस्तार भइरहेको र स्थानीय उत्पादनको सम्भावना रहेको उनको बुझाइ छ ।

नेपालमै उत्पादन गर्न सके बजारको माग पूरा गर्न सहज हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने अवसर बढ्ने उनको अपेक्षा छ ।

तर नेपालमा उद्योग सञ्चालन गर्न लगानीमैत्री वातावरण, सहज प्रशासनिक प्रक्रिया र स्थिर नीतिको आवश्यकता रहेको उनी बताउँछन् । विदेशमा व्यवसाय गर्दा आफूले अनुभव गरेको व्यवस्थापन र प्रक्रियागत सहजताबाट नेपालले पनि सिक्न सक्ने उनको धारणा छ ।

प्रकाशको व्यावसायिक यात्रा अहिले पनि जारी छ । नयाँ बजारमा प्रवेश गर्ने, उत्पादनको दायरा विस्तार गर्ने र व्यवसायलाई थप व्यवस्थित बनाउने योजना उनीसँग छन् । नेपालमा उद्योग स्थापना गर्ने उनको योजना कार्यान्वयनमा गए त्यसले उनको व्यवसायलाई अर्को चरणमा लैजानुका साथै स्वदेशमै उत्पादन र रोजगारी सिर्जना गर्ने अवसर पनि खोल्न सक्छ ।

सन् २००१ मा १६ वर्षको उमेरमा मासिक ५०० दिराम तलबमा सरसफाइको काम सुरु गरेका प्रकाश आज प्रसाधन सामग्री उत्पादन र निर्यातमा संलग्न उद्यमी बनेका छन्  । यसबीचको यात्रामा श्रम र सिकाइसँगै अवसर चिन्ने क्षमता, व्यावसायिक सम्बन्ध र असफलताबाट पाठ सिक्ने अनुभव जोडिएको छ ।

उनका लागि परदेश सुरुमा पारिवारिक बाध्यता थियो । पछि त्यही ठाउँ काम सिक्ने, बजार बुझ्ने र आफ्नै व्यवसाय निर्माण गर्ने अवसर बन्यो । अहिले उनले विदेशमा हासिल गरेको अनुभव र बनाएको व्यावसायिक सञ्जाललाई नेपालमा पनि उपयोग गर्ने योजना अघि सारेका छन् ।

विदेशमा बिताएको समय केवल पैसा कमाउने अवधिमा सीमित हुँदैन, त्यसलाई सीप, अनुभव र भविष्यको सम्भावना तयार गर्ने अवसरका रूपमा उपयोग गर्न सकिन्छ भन्ने उनको यात्राले देखाउँछ ।

उनको सफलताको सबैभन्दा महत्त्वपूर्ण पक्ष सायद यही हो- परदेशमा अवसर खोज्न गएका प्रकाशले अन्ततः आफ्नै अवसर सिर्जना गर्न सिके ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?