Comments Add Comment

शिक्षक पेशा छाडेर गाविस अध्यक्ष, त्यसपछि गाईपालक किसान


७ असार, रामेछाप ।  पैसावालहरु राजनीतिमा लागेर स्थानीय चुनावमा उम्मेदवार बनिरहेका बेला रामेछापका एकजना पूर्व जनप्रतिनिधि भने राजनीतिमा पैसा सिध्याएर खेतीपाती पशुपालनमा फर्किएका छन् ।

धेरै अवसर र सम्भावनालाई छाडेर पूर्व गाविस अध्यक्ष एवं नेपाली काँग्रेसका नेता शंकर अधिकारीले कृषि र पशुवालबाट स्वरोजगार मात्र हैन अरुलाई रोजगारी पनि दिन सकिन्छ भन्ने नमूना पेस गरेका छन् ।

शिक्षकबाट गाविस अध्यक्ष अब किसान

हाल मन्थली नगरपालिका ३ मा पर्ने साविकको कठजोर गाविसमा दुई पटक अध्यक्ष निर्वाचित भएका शंकर अधिकारीले २०४९ मा गाविस अध्यक्ष उम्मेदवार हुनुअघि ६ वर्ष शिक्षण पेशा अपनाएका थिए ।

लगातार १० वर्ष कठजोर गाविसको अध्यक्ष निर्वाचित भएका अधिकारी नेपाली कांग्रेसको महासमिति सदस्य पनि थिए । माओवादी सशस्त्र द्वन्द्व चर्किदै जाँदा अधिकारी पनि गाउँ बस्न सकेनन् । उनी लगभग बिस्थापित जस्तै थिए ।

जब माओवादी शान्ति प्रक्रियामा आयो त्यसपछि अधिकारी गाउँ फर्किए । उनलाई गाउँको मायाँले छाडेन । गाउँमा नै केही गर्ने पाए हुन्थ्यो भन्ने सोच आयो र उनी गाईपालन गर्ने निश्कर्षमा पुगे ।

‘गाउँमा आएपछि केहीन केही पेशा त गर्नै पर्यो, अरु भन्दा गाई पालन राम्रो होला भनेर यो पेसा सुरु गरेँ’, अधिकारीले भने ।

रक्सौलबाट ६ वटा गाई ल्याएर व्यवसाय सुरु

गाई पाल्ने शोख जागेपछि अधिकारी गाई किन्न भारतको रक्सौल पुगे । त्यहाँबाट ५० हजारका दरले ६ वटा गाई ल्याएर अधिकारीले गाई फारम सुरु गरे । त्यस पछि यतै केही गाई किने । अहिले उनको र्फममा १५ वटा ठूला गाई छन् । २ वटा गोरु र २ वटा साँढे बहर पनि उनको र्फममा छन् । यी मध्ये अहिले ८ वटा गाई लैना छन् । २ वटा गाई व्याउने छन् । अनि ५ वटा कोरली बाच्छि साँढे लाग्न लायकका भएका छन् ।

६ जनालाई दैनिक रोजगारी

अधिकारीको गाईफार्ममा अहिले दैनिक ६ जनाले रोजगारी पाएका छन् । ती मध्ये २ जना २४ सै घण्टा फार्ममा बस्छन् र गाईको सेवा गर्दछन् । २ जना बिहान आएर बेलुका घर जान्छन् ।

एकजना बिहान र साँझ गाइर् दुहुन आउँछन् र अर्का एकजना बेलबेलामा गईको घास, स्वत्तर आदिको रखवारी गर्दछन् । उनको फार्मबाट अहिले दैनिक एक सय लिटर दुध उत्पादन हुन्छ । उत्पादित दुध मध्ये ७५ देखि ८० लिटर दुध जिल्ला सदरमुकाम मन्थली पठाउँछन् भने बाँकि दुध गाउँमा नै खपत हुन्छ ।

दुध ढुवानीमा समस्या

गाई फर्म राम्रै चले पनि अझै सोचेजस्तो बनाउन नसकेको अधिकारी बताउँछन् । ‘६ जनाले रोजगारी पाएका छन् । आफूलाई पनि थोर बहुत आम्दानी भएको छ । तर अझै सोचे जस्तो भएको छैन ।

दुध १५ किलोमिटर तलै लैजानु पर्छ, आप\mनो साधन छैन । सार्वजनिक यातायतले कहिले लैजान मान्दैनन् । त्यस्तो बेला सबै दुध विग्रन्छ’, अधिकारीले भने ।

राजनीति र गाईपालन संगसंगै

गाईपालन पेशामा लागेपनि अधिकारीले राजनीति छाडेका छैनन् । उनी अहिले पनि काँग्रेसको राजनीतिमा सक्रिय छन् । अनि सामाजिक काममा पनि । गएको स्थानीय तह निर्वाचनमा उनले नेपाली काँग्रेसबाट मन्थली नगरपालिकाको प्रमुखमा टिकट पाउने निक्कै चर्चा थियो ।

अन्तिममा गएर उनले टिकट पाएनन् । अहिले पनि उनी मन्थली नगर विकास समितिको अध्यक्ष छन् । उनी भन्छन्,’राजनीति मेरो सेवा हो, गाई पालन पेशा हो । त्यसैले दुवैलाई संगै जोडेर लैजान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment