Comments Add Comment

थाहा नगरको पानीको मुहानमा मेडिकलले फाल्यो फोहोर

१३ असार, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा रहेको थाहा पोलिक्लिनिकले खानेपानीको मुहानमै अस्पतालजन्य फोहोर फाल्ने गरेको पाइएको छ ।

स्वास्थ्य संस्थाबाट निस्कने औषधिका खाली सिसी, सुई, रगत लतपतिएका कपडा, कपास, औषधिका खोल र पञ्जा समेत थाहानगरपालिका वडा नम्बर ४ स्थित कुर्सीमोड नजिकैको गैरीमा रहेको पानीको मुहानमा फालेको भेटिएको हो ।

वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य संस्थाका फोहरको यथोचितव् यवस्थापनमा थाहा पोलिक्लिनिकको हेलचक्र्याँई पाइएको हो । क्लिनिकले प्रयोगशालामा प्रयोग गरिएको सामाग्री समेत वस्ती माथिको पानीको मुहानमाथि छेवैमा मनपरि ढंगले फालेको हो ।

पोलिक्लिनिकका सञ्चालक सदस्य सहदेव ढकालले पोलिक्लिनिकको फोहोर आफैले व्यवस्थापन गर्ने गरेको बताए । उनले सिरिन्जजलाउने मेशिन आफैसँग रहेको र अन्य फोहोर बाहिर लगेर जलाउने गरेको जिकिर गरे ।

नजिकैकोे जग्गा भाडामा लिएर फोहोर जलाउने गरिएकोमा केही समयदेखि उक्त कार्य अवरुद्ध भएको उनले बताए ।

धाराको पानी पिउनै छोडे

थाहा-४ काकारुल खोला खानेपानी उपभोक्ता समितिका उपभोक्ता दामन जाँदै गर्दा सेतो फोहोरको थुप्रो देखे । उनीहरुले रगत लतपतिएको कपास, सूईहरु, औषधिका बोत्तल, फोहोरै फोहोर भेटाए ।

पानीको मुहानमाथि अस्पतालजन्य फोहोर फालेको देखेपछि अहिले थाहा-४ भुईडाँडाका बासिन्दाले धाराको पानी पिउनै छोडेका छन् ।

स्थानीय भूसुने ओडारको मुहानबाट ल्याएको खानेपानी आयोजनाअन्तर्गत किटेनी र भुईडाँडाका करिब तीनसय परिवारले पिउने गर्थे । अहिले खानै छाडेका छन् ।

कानूनमा के छ ?

फोहर व्यवस्थापनसम्बन्धी ऐन २०६८ र नियमावली २०६९ मा स्वास्थ्य सस्थाले आफैँ फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

फोहोरमैला व्यवस्थापन ऐन ०६८ को परिच्छेद् ९ को दफा ३९ बमोजिम अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचक्र्याँई गर्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

फोहरमैला यवस्थापन ऐन, २०६८ को परिच्छेद ९ को दफा ३८ को खण्ड (ञ) बमोजिम जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सडक वाअन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वा निश्काशन गर्नेलाई तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने ब्यवस्था छ ।

सोही ऐनको दफा ३८ को खण्ड (ट), (ठ) र (त) बमोजिम स्थानीय निकायले पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भने पटक पटक यस्तो कार्य गरेमा कानूनबमोजिम अनुमुमति रद्द गर्नको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

यस्ता फोहोरलाई अन्य फोहोरसँग मिसाएर फाल्ने, जनस्वास्थ्य र वातावरणमा असर पुग्ने किसिमका फोहोरमैलालाई खुला स्थानमा फाल्नु फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार दण्डनीय कार्य हो ।

विज्ञ के भन्छन् ?

विज्ञका अनुसार वातावरण र मानव स्वास्थ्यकालागि स्वास्थ्य संस्थाकाफोहर घातक हुन्छ । स्वास्थ्य संस्थाबाट संक्रमणात्मक फोहर निस्कने हुँदात्यसले थपखतरा हुने विज्ञहरु बताउँछन् ।
पानीकै मुहानमा यस्तो फोहर फ्याँक्दा पानीमा एमोनियाको मात्रा बढाउँछ । अक्सिजन सोस्छ । माइक्रोन्युटेनजस्ता सूक्ष्म तत्वको मात्रा बढ्न गई पानीको गुणस्तर घट्छ ।

स्वास्थ्य संस्थाका फोहरलाई खुला ठाउँमा विसर्जन गर्न हुँदै हुँदैन । फोहर-प्रदूषणले वायुमण्डलमा कार्बनडाइअक्साइको मात्रा बढ्न गई पृथ्वीको तापमान वृद्धि हुने र त्यसले जलवायु परिवर्तन गराउने विज्ञहहरुको तर्क छ ।

अस्पतालहरूले लापरबाहीपूर्ण तरिकाले फोहोर फाल्ने गर्दा मानव स्वास्थ्य संकटमा परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालजस्तो विकासोन्मुख राष्ट्रमा उत्पादन हुने अस्पतालजन्य फोहोरमध्ये ८५ प्रतिशत सामान्य फोहोर, ५ प्रतिशत संक्रामक फोहोर र १० प्रतिशत असंक्रामक तर जोखिमयुक्त फोहोर रहने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

यस्ता फोहोरको समुचित व्यवस्थापनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न कानुनी व्यवस्था र मापदण्डहरूको तर्जुमा गरिएको भएतापनि तिनको सही पालना हुन नसक्दा अस्पतालजन्य फोहोर व्यवस्थापनको चुनौती दिनप्रतिदिन बढ्दै गएको हो ।

फोहोर व्यवस्थापनका सम्बन्धमा सरकारले ऐन नै बनाएको छ । तर, कार्यान्वयन हुन नसक्दा मानव स्वास्थ्यमा खतरा बढ्दै गएको छ ।

कागजमै सीमित नगर

सरकारले फोहरमैला व्यवस्थापन सम्बन्धमा विभिन्न ऐन, नियम बनाएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । फोहरमैला व्यवस्थापन ऐन २०६८ र नियमावली २०६९ को व्यवस्था मिचेर स्वास्थ्य संस्थाले फोहरसँग लापर्बाही गरिरहेका छन् ।

यस्तो लापरबाही गर्नेलाई स्थानीय तहले नै कारबाही गर्न सक्नेछ । अस्पतालजन्य फोहर र अन्य साधारण फोहरसँगै मिसाउन र विसर्जन गर्न नपाइने कानुनी प्रावधान छ । ऐनले फोहर उत्पादन गर्नेले नै फोहरको यथोचित व्यवस्थापन गर्नुपर्ने किटान गरेको छ ।
अस्पतालबाट निस्केको फोहरका कारण कोही मानिस बिरामी परेमाउजुरी गर्न पाइने कानुनी व्यवस्था छ । स्वास्थ्य संस्थाका फोहर जभाभावी फाल्ने अस्पतालमाथि पनि कानुनी कारबाहीको व्यवस्था छ ।

सुरजकुमार भुजेल/मकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment