Comments Add Comment

निजी क्षेत्रमा जीडीपीको ७८ प्रतिशत बराबर कर्जा लगानी, अर्थतन्त्रलाई सुखद संकेत

१४ असार, काठमाडौं । नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिका बढ्दै गइरहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार देशको कुल गार्हस्थ उत्पादन (जीडीपी/अर्थतन्त्रको आकार) को तुलनामा निजी क्षेत्रमा आन्तरिक लगानी बढ्दै गएको छ ।
सन् २०१३ मा जीडीपी र निजी क्षेत्रमा आन्तरिक लगानीको अनुपात ५७.४ रहेको थियो । यो बढेर २०१५ मा ६५ प्रतिशत र २०१६ मा ७५.३ प्रतिशत पुगेको छ । सन् २०१७ मा यो अनुपात ७८.१ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । विश्व बैंकको एक तथ्यांकअनुसार नेपालमा सन् १९६० मा यो अनुपात १ प्रतिशत मात्र थियो ।

जीडीपीको तुलनामा निजी क्षेत्रमा आन्तरिक लगानी अनुपातले कुनै पनि देशको आर्थिक विकास एवं सम्वृद्धिको स्तर कस्तो छ र निजी क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा कस्तो भुमिका रहेको छ भन्ने संकेत दिन्छ । निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्था लगायतले दिएको ऋण तथा अन्य वित्तीय स्रोत सबैलाई जीडीपीसँग तुलना गरेर यस्तो अनुपात निकालिन्छ ।

यो अनुपात जति धेरै भयो त्यति नै राम्रो मानिन्छ । यसले कुनै पनि देशमा निजी क्षेत्रलाई कत्तिको अवसर प्रदान गरिएको छ भन्ने जानकारी पनि दिन्छ । यद्यपि विकास र सम्वृद्धिको मानकको रुपमा यो सुचकलाई मात्र आधार मान्न नसकिने विज्ञहरु बताउँछन् ।

नेपालको सन्दर्भमा भने यो अनुपातले बैंक तथा वित्तीय संस्थाको अर्थतन्त्रमा कस्तो प्रभाव रहन सक्छ भन्ने जानकारी पनि मिल्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

‘हाम्रो देशमा निजी क्षेत्रले वित्तीय स्रोत प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाबाटै हो, वित्तीय क्षेत्र वास्तविक क्षेत्रसँग जोडिएको हुन्छ,’ थापाले भने, ‘यो क्षेत्र तलमाथि हुँदा अर्थतन्त्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने जानकारी पनि यसले दिन्छ ।’

नेपाल आयातमूखी अर्थतन्त्र भएकोले निजी क्षेत्रमा गएको कर्जामध्ये उत्पादनको लागि कति गएको छ भन्ने विषयले पनि महत्व राख्ने कतिपय मान्छन् । तर, शोधानान्तर बचत धनात्मक भइरहदा र बैदेशीक मुद्रा सञ्चिती पर्याप्त रहदासम्म यस विषयमा धेरै चिन्ता गर्नुपर्ने अवस्था भने नआउने थापा बताउँछन् ।

त्यस्तै, आयात तथा सेवा क्षेत्रको विस्तारले पनि अर्थतन्त्र नबढ्ने भने होइन । नेपालमा पछिल्लो समय जीडीपीमा सेवा क्षेत्रको हिस्सा बढ्दै गइरहेकोले आर्थिक वृद्धिमा यसको योग्दान पनि रहेको छ ।

विश्वका विकसित देशहरुको यो अनुपात निकै उच्च रहने गरेको छ । विश्व बैंकको तथ्यांकले सन् २०१५ मा विश्वकै यो अनुपात भने १२८ प्रतिशत र १६४ देशहरुको औसत अनुपात ५४.७८ प्रतिशत रहेको देखाउँछ । नेपालको अनुपात औसतभन्दा माथि हो ।

विश्व बैंकको तथ्यांक अनुसार चीनमा सन् २०१३ मा यो अनुपात १३३.७ प्रतिशत रहेको थियो भने २०१५ मा १५२.६ प्रतिशत पुगेको थियो । सन् २०१५ सम्ममा द्रुततर रुपमा आर्थिक वृद्धि हुने राष्ट्रमा चीन शीर्ष स्थानमा रहेको थियो । धेरैले मान्छन् कि चीनले कम्युनिज्म मात्र नभनेर निजी क्षेत्रलाई वित्तीय अवसर प्रदान गरेकोले नै त्यहाँ उच्च आर्थिक वृद्धि हुन सकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment