Comments Add Comment

मेयरले नगरपालिकाको खातामा जगेडा रकम राख्न खोज्दा नगरसभा नै स्थगित

भानु नगरपालिका मेयर भन्छन्- एमालेले बहुमतको दम्भ देखायो

भानु नगरपालिकाका मेयर उदयराज गौली र उपमेयर आशा थापा

१ साउन, तनहुँ । तनहुँको भानु नगरपालिकाका कार्यपालिका सदस्यहरु बीचमा विवाद भएपछि असार ३१ गतेका लागि तय गरिएको नगरपरिषद स्थगित भएको छ । नगरपालिकाका मेयर उदयराज गौलीले मेयर र उपमेयरको मातहत रहने गरी १ करोड ३० लाख रकम नगरपालिकाको खातामा राख्न खोजेको भन्दै कार्यपालिकाका एमाले सम्वद्ध सदस्यहरुले बिरोध गरेका थिए ।

उनीहरुले नगरप्रमुखको तजविजले खर्च गर्ने गरी कुनै पनि रकम राख्न नपाउने माग राख्दै आएका छन् । सोही विवादका कारण नगरपरिषद अनिश्चितकालसम्मका लागि स्थगित भएको हो ।

१ करोड ३० लाख रकम नगरपालिकाका १३ वटै वडामा दामासाहीले बाँड्नुपर्ने माग उनीहरुको छ ।

यता, नगरपालिकाका मेयर गौलीले नगरपालिकामा भोलि आउन सक्ने योजना, पर्नसक्ने प्राकृतिक विपत्ति र अन्य समस्या पर्दा रकम आवश्यक पर्ने भएकाले सोका लागि जगेडा रकम राख्न खोजिएको प्रष्टिकरण दिएका छन् । उनले नगर कार्यपालिकामा एमालेले बहुमतको दम्भ देखाएर मेयरलाई भूमिकाविहीन बनाउन खोजेको गुनासो गरे ।

उनले तयारी समितिले समयमा नै काम समेत नभ्याएको र केही विवाद पनि भएकाले नगरपरिषद् स्थगित भएको जानकारी दिए ।

२३ सदस्यीय कार्यपालिकामा एमाले सर्मथित १४ जना सदस्यहरु छन् । नगरपालिकाले प्रत्येक वडाका लागि ४० लाख रकम अहिले छुट्टाउन खोजेको छ । पछि अरु पनि रकम थप गरिने नगर प्रमुख गौलीले बताए ।

भानु नगरपालिकाको परिषद स्थगित भएको भन्दै नगर कार्यपालिकाका सदस्यहरुले प्रेस विज्ञप्ति जारी गरी तत्काल नगर सभा सम्पन्न गर्न माग गरेका छन् । नगर कार्यपालिकाका १४ जना सदस्यहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘हामी परिषदका सदस्यहरु तोकिएको कार्यक्रम स्थल नगरपालिका हातामा उपस्थित हुँदा नगरपालिकाका प्रमुख, उपप्रमुख अनुपस्थित हुनका साथै परिषद स्थगित भएको सूचना टाँस भएको पाइएकोले त्यस्तो गैरजिम्मेवार कार्य प्रति गहिरो दुःख व्यक्त गर्दछौं’ ।

विज्ञप्तिमा भानु नगर कार्यपालिकाका सदस्यहरु दल नारायण श्रेष्ठ, पूर्ण बहादुर लौडारी भाट, रामकृष्ण देवकोटा, भरतराज ढकाल, निलम सञ्जिव श्रेष्ठ, विमल गुरुङ, सिताराम सुर्खाली, लक्ष्मण मजकेटी, देवबहादुर भुजेल, राममाया कुमाल, रामकला विक, सूर्यकला घर्ती, मैया विक, रेवती श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment