Comments Add Comment

जयराम पुलको स्टील ट्रष्ट जडान सकियो

४ साउन,खोटाङ। जिल्लाको प्रमुख नाका जयरामघाटमा निर्माणाधीन पक्की पुल आगामी दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीस्थित जयरामघाटमा निर्माणाधीन पुलको स्टील ट्रष्ट जडान कार्य सम्पन्न भएको र साउन महिनाभित्रै ढलानको काम सम्पन्न गरेर दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

स्टील ट्रष्ट जडान कार्य सकिएलगत्तै ढलानका लागि फर्मा बिच्छ्याउन थालिएको र आवश्यक सामग्रीसमेत निर्माणस्थलमा ल्याई सकिएकाले भदौ अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको पुल निर्माण आयोजनाका प्रमुख इन्जिनियर उद्धव रानामगरले बताए ।

“जयरामघाटमा निर्माणाधीन पक्की पुल नेपालकै नमूना हो ।” उनले भने, “नमूना भएकै कारण सबै सामग्री र इन्जिनियर बाहिरबाट ल्याउनुपर्दा निर्माणमा ढिलाइ भयो ।”

निर्माणाधीन पक्की पुल जडानका लागि चीनबाट इन्जिनियर र सामग्री ल्याउनुपरेकाले पनि निर्माणमा ढिलाइ भएको इन्जिनियर मगरले जानकारी दिए । दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०६६ साल भदौमा सम्झौता गरेर हुलास कालिका कन्ट्रक्सन जेभीले पुल निर्माणको जिम्मा लिएको थियो ।

पुल निर्माण सम्पन्न भएपछि जिल्लाको समृद्धिको ढोका खुल्ने खोटाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद पाँचकर्ण राई (पिके)ले बताए। “जिल्लावासीको लामो प्रतिक्षापछि पुल निर्माण कार्य सम्पन्न हुन लागेको छ ।” उनले भने, “चाँडोभन्दा चाँडो सम्पन्न गर्न ठेकेदार कम्पनीलाई खबरदारी गरिरहेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment