Comments Add Comment

इटहरीका मेयरले एमाले अध्यक्षबाट राजीनामा दिने

दोलखाका अध्यक्षको प्रश्न-प्रधानमन्त्रीले पार्टी अध्यक्ष छाड्छन् ?

६ साउन, काठमाडौं । नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पार्टीको कार्यकारी पदबाट राजिनामा दिने भएका छन् ।

चौधरीले चाँडै पार्टीको बैठक राखेर अध्यक्ष पदबाट राजिनामा दिने तयारीमा गरेका हुन् । उनले यसबारेमा पार्टी केन्द्रको कुनै सर्कुलर नआए पनि पार्टीको कार्यकारी जिम्मेवारी अर्को कमरेडलाई हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

चौधरीले अनलाइनखबरसँग भने- ‘दुईतिरै टाँसियो भने पार्टीमा पनि र जनताको पनि राम्ररी काम अघि बढाउन सकिँदैन । मैले चाँडै जिल्ला कमिटी बैठकमा चुनावको समीक्षा गरेर राजिनामा दिने सोच बनाएको छु ।’

चौधरीले अगाडि भने- ‘आखिर पूर्वजिल्ला अध्यक्षको हैसियतले प्रदेश कमिटी सदस्य भइहाल्छु, त्यसैले किन दोहोरो पद ओगट्ने भन्ने निर्णयमा पुगेको हुँ ।

मेयर चौधरीले अहिले भइरहेका पदाधिकारीबाटै कसैलाई अध्यक्षको जिम्मेवारी दिने र जिल्ला अधिवेशनका लागि आयोजक समिति गठन गर्ने बताए । पार्टीको कार्यकारी पदमा रहेकाहरुले जनप्रतिनिधि भइसकेपछि जिम्मेवारी अर्को कमरेडलाई हस्तान्तरण गर्नु ठीक हुने उनले बताए ।

उता एमालेका दोलखा जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलको भने चौधरीको भन्दा अलि फरक धारणा छ । उनी तामाकोशी गाउँपालिकको अध्यक्ष निर्वाचित भएका छन् । तर, जनप्रतिनिधि हुँदैमा पार्टीको काममा कुनै असर नपर्ने र राजीनामा दिनु नपर्ने उनको तर्क छ ।

पोखरेलले अनलाइनखबरसँग भने-पार्टीको कार्यकारी पदमा रहँदैमा जनप्रतिनिधिको भूमिका कमजोर हुन्छ भन्ने कुरा चाहिँ म मान्दिनँ । मैले पार्टी र गाउँपालिका दुबै चलाइरहेकै छु । जनताका अधिकांश काम वडाबाटै हुन्छन्, हामीले त बजेट तर्जुमा गर्ने र नीतिगत काममात्रै गर्ने हो ।

प्रधानमन्त्री हुने नेताले पार्टी अध्यक्षबाट राजीनामा दिएको अहिलेसम्म कुनै पार्टीमा नदेखिएको उदाहरण दिँदै गाउँपालिका अध्यक्ष पोखरेलले जनताको काम गर्न पार्टीको जिम्मेवारीले सहज र उत्तरदायी बनाउने बताए ।

यद्यपि अब जिल्ला अधिवेशन गरेर पार्टी अध्यक्षबाट बिदा लिने निर्णय उनले गरेका छन् । पोखरेलले आगामी असोज २७ र २८ मा जिल्ला अधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताए ।

त्यसो त दोलखामा एमालेका जिल्ला अध्यक्ष पोखरेल, उपाध्यक्ष नरवहादुर श्रेष्ठ र सचिव भरत दुलाल तीनैजना विभिन्न गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका छन् ।

कसले जिते, कसले हारे ?

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ७५ मध्ये १८ जिल्लाका अध्यक्षलाई नै चुनावी मैदानमा उतारेको थियो । ती जसमध्ये आधाले चुनाव जिते भने आधाले हारे ।

पहिलो र दोस्रो चरणको चुनावी परिणाम आइसक्दा गाउँपालिका र नगरपालिका प्रमुख उम्मेदवार बनेका १८ मध्ये ९ जना एमाले जिल्ला अध्यक्ष सफल भए भने ८ जना पराजित भए ।

एमालेले यसपटक दुईवटा महानगर र दुई उपमहानगरपालिकामा पार्टीका जिल्ला अध्यक्षलाई मेयरमा उतारेको थियो । महानगरको मेयर उठेका दुबै अध्यक्षहरुले चुनाव हारे भने उपमहानगरको उम्मेदवार बनेका दुवै जिल्ला अध्यक्ष जिते ।

ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार ललितपुर महानगरपालिकामा र मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाल बिराटनगर महानगरपालिकामा पराजित भए । काठमाडौं महानगरपालिकाको मेयरमा काठमाडौंका जिल्ला सचिव विद्यासुन्दर शाक्यले जिते ।

चुनावी मैदानमा गएका जिल्ला अध्यक्षहरुमध्ये सुनसरी, भोजपुर, ओखलढुंगा, दोलखा, काभ्रे, गुल्मी, रुपन्देही, सल्यान र बाजुराका अध्यक्षले चुनाव जितेका छन् ।

सुनसरीका द्वारिकलाल चौधरी इटहरी उपमहानगरको मेयर जितेका छन् । भोजपुरका प्रेमकुमार राई जिल्लाका एमाले बाहेक सबै दलहरुको महागठबन्धनलाई हराएर हतुवागढी गाउँपालिका अध्यक्ष भएका छन् ।

ओखलढुंगाका अध्यक्ष मोहनकुमार श्रेष्ठ सिद्धिचरण नगरपालिकाको मेयर जितेका छन् भने दोलखाका ईश्वरचन्द्र पोखरेल कांग्रेस माओवादी गठबन्धनल ३ बुथ कब्जा गरेको भन्दै चुनावी मैदान छाडेर हिँड्दा पनि तामाकोशी गाउँपालिका अध्यक्ष जिते ।

त्यस्तै काभ्रे जिल्ला अध्यक्ष टोकवहादुर वाइबा मण्डन देउपुर नगरपालिकाको मेयर निर्वाचित भएका छन् । रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै बुटवल उपमहानगरको मेयर निर्वाचित भएका छन् ।

त्यस्तै गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्त पनि कांग्रेस माओवादी गठबन्धनलाई हराएर छत्रकोट गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् । सल्यान जिल्ला अध्यक्ष गोविन्द पुन सल्यानको बगगाढ कुपिण्डे नगरपालिकाको मेयर भएका छन् भने बाजुरका जिल्ला अध्यक्ष कालिवहादुर शाही पाण्डवगुफा गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् ।

हार्ने जिल्ला अध्यक्षमा पाँचथरका राजकुमार भण्डारी फिदिम नगरपालिका मेयरमा पराजित भए । त्यस्तै झापाका चिन्तन पाठक बुद्धशान्ति गाउँपालिका अध्यक्षमा पराजित भए । मोरङका बिनोद ढकाल बिराटनगर महानगरपालिकामा पराजित भए भने ललितपुरका हरिकृष्ण ब्यन्जनकार ललितपुर महानगरपालिकामा पराजित भए ।

सिन्धुपाल्चोक जिल्ला अध्यक्ष इन्द्रावती गाउँपालिका अध्यक्षमा पराजित भए भने बर्दिया जिल्ला अध्यक्ष हरि ज्ञवाली गुलरिया नगरपालिका र प्युठनका तुल्सीराम शर्मा प्युठान नगरपालिकामा पराजित भए । त्यस्तै रुकुमका बिमल पुन र मुगुका धर्मवहादुर शाही पनि पराजित भए ।

हार्नेले नैतिक जिम्मेवारी लिने कि नलिने ?

एमालेभित्र अहिले अर्को बहस पनि भइरहेको छ । चुनाव जितेकाहरुले मात्र होइन, हारेका जिल्ला अध्यक्षले नैतिकरुपमा राजिनामा दिनुपर्छ कि पर्दैन ?

जस्तो- सुनसरी जिल्ला अध्यक्ष द्वारिक चौधरीले चुनाव जितेपछि राजीनामा दिने निर्णय गरेका छन् भने चुनाव हारेका झापाका जिल्ला अध्यक्ष चिन्तन पाठक र मोरङका जिल्ला अध्यक्ष विनोद ढकालले अब नैतिकताका आधारमा राजीनामा देलान् कि नदेलान् ?

कतिपय जिल्ला अध्यक्षहरुले चुनाव हारे पनि जिल्लामा पार्टीले राम्रो नतिजा ल्याएको छ । उदाहरणका लागि सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष झम्क नेपाल इन्द्रावती गाउँपालिका अध्यक्षमा पराजित भए । तर, जिल्लाको समग्र नतिजामा एमालेले बहुमत जित्यो ।

कतिपय जिल्ला अध्यक्ष भने आफूमात्रै हारेनन्, पार्टीले समेत अपेक्षित नतिजा ल्याउन सकेन । विशेष गरी झापा र मोरङका जिल्ला अध्यक्षमात्रै पराजित भएनन्, जिल्लामा एमालेले अन्तर्घातकै कारण धेरै स्थानीय तह गुमायो । र, त्यहाँ पार्टीले छानविन अघि बढाउन लागेको छ ।

यस्तै प्रश्न प्युठान, बर्दिया, पाँचथर लगायतका जिल्ला अध्यक्षहरुमाथि पनि उठेको छ ।

चुनाव हारेका जिल्ला अध्यक्षहरु भने यो प्रश्नले आफूहरुलाई थप पीडा दिने बताउँछन् । चुनाव हारेको चोट निको नहुँदै नैतिक जिम्मेवारीको प्रश्न उठाएर पार्टीको जिम्मेवारीबाट पनि खेदाउने कुरा अमानवीय रहेको चुनाव हारेका एक जिल्ला अध्यक्षले बताए ।

तर, एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा अध्यक्ष आफैं हार्ने र पार्टीले समेत चुनाव हारेको सन्दर्भमा हारको जिम्मेवारी लिनु नैतिक रुपमा उचित हुने बताउँछन् ।

थापाले अनलाइनखबरसँग भने- ‘पार्टीको जिल्ला अध्यक्षले समग्र परिस्थितिको विश्लेषण गरेर चुनाव हाँक्नुपर्छ । आफैं उम्मेदवार बनेको ठाउँमा घेराबन्दी हुनसक्छ भन्ने बुझेर चुनाव लड्नुपर्छ । आफू पनि हार्ने र पार्टीले पनि हारेको जिम्मेवारी लिनु राम्रो हो ।’

महासचिव ईश्वर पोखरेल के भन्छन् ?

एमालेभित्र पार्टी कमिटीको अध्यक्ष र सचिवलाई कार्यकारी पद मानिन्छ । अब बिभिन्न स्थानीय तहको प्रमुखमा जितेका पार्टीका जिल्ला अध्यक्षहरुले दुवैतिरको कार्यकारी पद ओगटेर बस्छन् कि पार्टीको कार्यकारी जिम्मेवारी अर्कोलाई हस्तान्तरण गर्छन् ? एमाले वृत्तमा यो बहस सरु भएको छ ।

पार्टीमा यसबारे बहस शुरु भएपछि महासचिव ईश्वर पोखरेलले पार्टीको कार्यकारी जिम्मेवारीमा रहेकाहरुले जनप्रतिनिधि भइसकेपछि जनताको काममा केन्द्रित हुनुपर्ने भन्दै पार्टी जिम्मेवारीबाट मुक्त गरिने संकेत दिएका छन् ।

पोखरेलले शुक्रवारमात्रै अनलाइनखबरसँगको अन्तर्वार्तामा भनेका छन्- ‘५ वर्ष जनताको प्रतिनिधि हुने भएपछि पार्टीको कार्यकारी पद छाड्नु उपयुक्त हुन्छ । पार्टीको काम पनि कमजोर हुने र जनताको काम पनि कमजोर हुने अवस्था आउन दिनुहुँदैन । हामी यसबारे पहिले एउटा पोलिसी पास गर्छौं, त्यसअनुसार गाइडेड हुन्छ ।’

एमालेले यसबारेमा चाँडै सर्कुलर पठाउने तयारी गरेको छ । जिल्ला अध्यक्षका साथै जिल्ला उपाध्यक्ष र सचिवहरु धेरैले चुनाव जितेका छन् । उपाध्यक्षको पद कार्यकारी नभए पनि अध्यक्ष र सचिवहरुले भने पार्टीको जिम्मेवारीबाट अलग हुनुपर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

 

यो पनि पढ्नुस्

एमाले महासचिवको विश्लेषणः बुलेटमा लेखेर राख्नुहोला, २ नम्बर प्रदेशमा पहिलो बन्छौं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment