Comments Add Comment

पार्टीमा अनुशासनको डण्डा चलाउने देउवाको दाउ

संशोधन अघि बढाउने आधार तयार

८ साउन, काठमाडौं । स्थानीय चुनावमा पार्टी सभापति शेरबहादुर देउवाकै गृहजिल्लामा नेपाली कांग्रेस हार्‍यो । यो पराजय वापत अब देउवाले कोमाथि कारवाहीको डण्डा चलाउलान् ?

देउवाकै गृहजिल्लामा पार्टीको हार यस अर्थमा अनपेक्षित भयो कि कुनै समय डडेलधुरामा कांग्रेसले उम्मेदवारीमात्रै दिए पुग्छ, प्रचारसमेत गर्नुपर्दैन भनिथ्यो । चुनावअघि देउवाले आफैं केही दिन गृहजिल्लामा बसेर असन्तुष्टि मिलाउने प्रयास पनि गरेका थिए ।

तर, स्थानीय चुनावमा जिल्लाका ७ स्थानीय तह मध्ये ४ वटामा मात्रै कांग्रेसले जित्न सक्यो । अमरगढी नगरपालिकासहित दुईवटा एमालेले जित्दा माओवादीले एक स्थानीय तह जित्यो ।

यो चुनावी परिणामको एउटै कारण अन्तरघात भएको कांग्रेस सभापति देउवाको बुझाइ छ । र, यसमा उनले पार्टीका जिल्ला सभापति कर्ण मल्ललाई दोषी ठानेका छन् ।

नेविसंघको महाधिवेशनदेखि नै मल्ल र देउवापत्नी आरजुबीच दुरी बढेको थियो । र, यसको असर स्थानीय तहको टिकट वितरणदेखि चुनावी परिणामसम्म परेको कांग्रेस नेताहरु बताउँछन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा अब पार्टीमा अनुशासन समिति बनाएर कर्णसहितका नेताहरुमाथि कारबाही गर्ने मुडमा छन् । जारी केन्द्रीय समितिको बैठकमा देउवा पक्षीय केन्द्रीय सदस्यहरुले पनि अन्तरघातीलाई कारबाही गर्नुपर्ने मत राखेर यसलागि वातावरण बनाइदिएका छन् ।

‘आफ्नै जिल्लामा कर्ण मल्लका कारण हारियो भन्ने सभापतिजीलाई परेको छ’ एक नेताले भने, ‘भोलि त्यसको परिणाम जेमा गएर टुंगिए पनि अब उनी अनुशासनको डण्डा चलाउने मुडमा छन् ।’

पार्टी सभापति देउवाले अनुशासन समिति बनाएर आइतबार नै बैठक समापन गर्न चाहेका थिए । तर, प्रमुख नेताहरुले बोल्न बाँकी रहेकाले कांग्रेस बैठक सोमबारसम्म लम्बिने देखिएको छ ।

हालै काठमाडौंमा भएको प्रदेश नम्बर २ को भेलालाईर् सम्बोधन गर्ने क्रममा पनि देउवाले अनुशासन आयोग बनाउने र अन्तरघातीलाई कारबाही गर्ने बताएका थिए । अन्तरघातीलाई कारबाही नगरेसम्म कांग्रेस ठूलो पार्टी हुन नसक्ने उनको विश्लेषण छ ।

कांग्रेस बैठकले संसदीय बोर्ड गठनको निर्णय गर्ने तयारी गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले संसदीय बोर्ड गठन गरेर त्यसमार्फत टिकट बाँड्नुपर्ने बताइरहेका छन् ।

संशोधन अघि बढाउने आधार बन्यो

बैठकमा कांग्रेस नेताहरुले प्रदेश नम्बर २ को टिकट वितरणमा त्यहाँकै नेताहरु राख्नुपर्नेमा जोड दिएका छन् ।

सोमबारको बैठकमा विमलेन्द्र निधिसहितका नेताहरुले प्रदेश नम्बर २ को प्रादेशिक भेलाले पारित गरेको निर्णयहरु पनि पेश गरेका छन । हालै काठमाडौंमा भएको भेलाले संविधान संशोधन विधेयकलाई अघि बढाउन माग गरेका थिए ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पनि संविधाान संशोधनलाई अघि बढाउन सुझाव दिएका छन् । इमान्दारितापूर्वक संशोधन पास गर्न प्रयास गर्नुपर्ने तर, पास फेल जे हुने भए पनि संसदमा विचाराधीन संशोधन अघि बढाउनुपर्ने उनीहरुले बताएका छन् ।

एक नेताले भने, ‘यदि अब संशोधन अघि बढाउने हो भने यो बैठकले त्यो आधार दिएको छ ।’

मन्त्रिपरिषद विस्तार गर्न सुझाव

चुनावी समीक्षा गर्न बोलाइएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइप्रति चासो व्यक्ति गरेका छन् । गगन थापाले सरकारको दैनिक कामसँग कांग्रेस धेरै जोडिएको भन्दै मन्त्रिपरिषद विस्तार गर्न सुझाव दिए ।

लगत्तै देउवाले माओवादीसँग कुरा मिलिसक्यो तर, साना दलहरुसँग मिल्न बाँकी छ भनेका थिए ।

नेता थापाले भने साना दलहरुसँग सहमति हुन बाँकी छ भने केही मन्त्रालय बाँकी राखेर कांग्रेस र माओवादी केन्द्रबाट भने मन्त्रीहरु थप्न सुझाव दिएका छन् । साथै उनले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गलत भएको धारणा राखेका छन् ।

नेता केशवकुमार बुढाथोकीले भने युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने हिम्मत छ ? भनेर प्रश्न गरेका थिए ।

युवा नेता प्रदीप पौडेलले पार्टी नेतृत्वको जनता र कार्यकर्तासँग होइन कि ठेकेदारहरुसँग मात्रै सम्वन्ध हुँदा ‘ग्राउण्ड रियालिटी’ थाहा हुन छाडेको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment