Comments Add Comment

सरकार बिस्तारमा ढिलाइ गरेको भन्दै कांग्रेस नेताले गरे नेतृत्वको आलोचना

९ साउन, काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न ढिलाई गरेको भन्दै कांग्रेस नेताहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । कांग्रेस नेताहरुले मन्त्रिपरिषदलाई छिटो पूर्णता दिएर सरकारको काम कार्वाहीलाई प्रभावकारी गराउन पनि ध्यानाकर्षण गराएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेताहरुले प्रधानमन्त्री देउवाको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका हुन् ।

मन्त्रिपरिषद विस्तार नहुँदा सरकारले आफ्नो काम प्रभावकारी ढंगले सम्पादन गर्न नसकेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

देउवा र पौडेल गुटका कारण कांग्रेसले मन्त्री चयन गर्न सकिरहेको छैन । पौडेल पक्षले सम्मानजनक मन्त्रालय नपाएसम्म सरकारमा जान नसक्ने बताएपछि देउवा अप्ठेरोमा परेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्रसमेत सरकारमा भइरहेको ढिलाइप्रति असन्तुष्ट छ ।

सबै तहको निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पनि समयमै सक्न प्रधानमन्त्री देउवालाई सुझाव दिइएको पौडेलले बताए ।

कांग्रेस नेताहरुले स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा पार्टी पहिलो शक्ति बन्न नसक्नुमा पार्टी नेतृत्वको कमजोरी रहेको बताएका थिए । पौडेल पक्षले पहिलो र दोस्रो चरणको निर्वाचनमा देउवाले आफ्ना पक्षलाई मात्रै उम्मेदवार बनाएका कारण पनि पार्टीले अपेक्षा गरेअनुसार नतिजा ल्याउन नसकेको आरोपसमेत लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment