Comments Add Comment

औषधि जलाउने जनस्वास्थ्य कार्यालयमा अख्तियारको छापा


११ साउन, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा छापा मारेको छ । मनमानी तरिकाले गरेको औषधि खरिद गरेको तथा म्याद रहेकै अवस्थामा औषधि जलाइएको समाचारहरु आएपछि बुधबार अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो ।

समाचार सार्वजनिक भए लगत्तै आफूहरुले चासो लिएको बताउँदै छापा मार्ने टोलीका नेतृत्वकर्ता अख्तियार अधिकारी बिष्णु कुमार फेगुवा लिम्बुले कसैलाई गलत गर्ने छुट नरहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयबाट आएको टोलीले म्याद रहेकै औषधि जलाइएको तथा सरकारले रोक लगाएको कम्पनीबाट औषधि किनिएको घटनाबारे कार्यालय प्रमुख नागेन्द्र चौधरीसहितका कर्मचारीसँग सोधपुछ गरेको छ । टोलीले कार्यालयको कागजातहरु समेत नियन्त्रणमा लिएको छ । ‘हामीले सोधपुछ गर्नुका साथै कागजातहरु पनि नियन्त्रणमा लिएका छौं’ टोली नेतृत्वकर्ता लिम्बुले भने, ‘गल्ती समातिए मुद्दा चलाइनेछ ।’

स्टारमा रहेको औषधि, जलाइएको औषधिको विवरणका साथै गरिएको आर्थिक कारोबारको सम्पूर्ण कागजात अख्तियारले लगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुले गत शुक्रबार म्याद रहेकै लाखौं मूल्य बराबरको औषधि जलाएका थिए । औषधि किन जलाइएको हो ? त्यसको उत्तर अहिलेसम्म कर्मचारीहरुले बताएका छैनन् ।

साथै कर्मचारीहरुले रकमको चलखेल गर्न सरकारले सुचिकृत नै नगरेका औषधि खरिद समेत भेटिएको छ । नेपाल सरकारले सन् २०१४ मै औषधि बन्देज लगाइसकेको सुनसरीको धरानस्थित मनोज फर्मास्यूटिकल्स औषधि कम्पनीबाट कर्मचारीहरुले गत आर्थिक बर्षमा औषधि खरिद गरेका थिए ।

नेपाल सरकारको सूचीमै नरहेको कम्पनीबाट औषधि खरीद गरेर यहाँका कर्मचारीहरुले रकमको चलखेल गरेको कार्यालय श्रोतले जनाएको छ । जबकी सरकारको सूचीमा रहेको जनआर्शिवाद औषधि कम्पनीबाट खरीद गर्नका निम्ति टेण्डर समेत गरिसकिएको थियो । ‘यो कम्पनीसँग ६७ लाखको औषधि खरीद गर्नुपर्ने थियो’ स्रोतले भन्यो, तर केहि कर्मचारीले भएको टेण्डरको वेवास्ता गर्दै सरकारको सूचीमै नरहेको मनोज कम्पनीबाट औषधि खरीद गरेर आर्थिक चलखेल गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment