Comments Add Comment

बाढीले रौतहटका ग्रामिण क्षेत्र तहसनहस, जनताको आक्रोश- कहाँ बस्ने, के खाने ?

२ भदौ, रौतहट । २४ वर्षपछि आएको विनाशकारी बाढीले रौतहटको सबै क्षेत्र तहसनहस छ । प्राकृतिक विपत्तिले जनताको जनजीवन, कृषि, व्यापार व्यवसायलगातका हरेक क्षेत्र बर्बाद बनाएको छ ।

बाढीका कारण ३० हजार भन्दा बढी घरहरु भत्किएका छन्, ५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

विनाशकारी बाढीका कारण रौतहटमा चार अर्व भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीले खाद्यान्न, किराना, रेडिमेड, इलेक्ट्रोनिक्स, कपडा, औषधि लगायतका पसलेहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

सदरमुकाम गौरमा मात्रै गल्ला (खाद्यान्न) व्यापारीको १५ करोड भन्दा बढीको क्षति भएको छ भने कपडा तथा इलेक्ट्रोनिक्सको झण्डै १२ करोड भन्दा बढीको क्षति छ । गोदाम तथा पसलहरु भित्रसमेत ५ देखि १० फिटसम्म डुवानका परेका थिए ।

बाढीले कटान गरेका कारण गौर-चन्द्रनिगाहपुर सडक खण्डसँगै जिल्लाका अधिकांश सडकहरु क्षतिग्रस्त भएका छन् । बाढीका कारण रौतहटमा खाना पकाउने ग्यास र पेट्रोलको अभाव भएको छ भने खाद्यान्न तथा तरकारीको मूल्यसमेत आकाशिएको छ । बाढीका कारण रौतहटका सबै सामुदायीक विद्यालयहरु ९ गते सम्मका लागि बन्द गरिएका छन ।

ग्रामिण भौतिक संरचना तहसनहस

रौतहटको ग्रामिण क्षेत्रहरुमा सबै भन्दा बढी घरहरु भत्कीएका छन् । बाँस तथा फुस र इँटाले बनाएका कच्ची घरहरु भत्कँदा स्थानीयको सबै सम्पत्ति नै पुरिएको छ । रौतहटको बडहर्वामा मात्रै तीन सय भन्दा बढी घर भत्किएका छन् । घर भत्कीएकाहरु विद्यालय, सडक तथा बाँधहरुमा आश्रय लिएर बसेका छन् ।

‘तिन बिघा खेतमा धान रोपेको थियौं । ६ कोठा भएको घर थियो ।’ बडहर्वा-४ की इन्दु देवीले भनिन् ‘खेतबाटै खोला बगेपछि, खेत पोखरी भएको छ । घरको छानो भुईंमा छ ।’

घर भत्किएपछि सबै सामान त्यसैमा पुरेकोले इन्दुसँग एकसरो कपडा बाहेक अरु केही छैन । ५५ वर्षीय इन्दुलाई आˆना तीन नातीहरुले खान नपाएकोमा धेरै पीडा छ । ‘गाँउकै ठेकेदार साबले चामल, च्यूरा र एउटा त्रिपाल दिनु भएको छ, तर १२ जनाको परिवारलाई अपुग छ ।’ उनी दुखेसो पोख्छिन्, ‘सरकारको राहत देख्नसमेत पाएका छैनौं, प्रहरीले नाम लेखेर लगेको छ ।’

बडवहर्वा बाँधमा अहिले १५० जना त्रिपाल र प्लास्टीकको छानो हालेर शरणार्थी जस्तै बसेका छन् । बाँधबाट पश्चीमतर्फ देखिने गाँउ/खेतको भयावह दृश्य देखेर उनीहरु मन थाम्नै सकिरहेका छैनन् ।

वडहर्वा रौतहटका सयौं गाँउहरुको एक प्रतिनिधि गाँउ मात्रै हो जसको नियती अहिले अन्य भन्दा केही फरक छैन । लालबकैया र झाँझ नदीको ताण्डवले तहसनहस भएको बस्तीका स्थानीयहरु खाने लाउने र बास स्थानको खोजीमा छन ।

रौतहटको देवाही, गोनाही, इनर्वा, लौकाहा, बन्जरहा, पि्रपा रजवाडा, बसन्तपट्टी, कचोर्वा लगायत दर्जनौ गाँउमा अहिले खानेपानीको अभाव छ । बाढी पसेका कल र धाराका पानी खाइरहेका स्थानीयवासीमा झाडापखाला देखा पर्न थालेको छ ।

कृषिमा २ अर्बको क्षति

बाढीले रौतहटको कृषि क्षेत्रमा झण्डै २ अर्ब १५ करोडको क्षति भएको अनुमान गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयबाट प्राप्त तथ्यांकअनुसार धान खेती र माछापालन क्षेत्रमा सबै भन्दा बढी क्षति भएको छ । रौतहटको १७ हजार हेक्टरमा लगाइएको धानबाली नष्ट हुँदा १ अर्व २० करोड क्षति भएको छ भने माछापालन तर्फ ७२६ हेक्टरमा रहेको पोखरीलाई बाढीले क्षति पुर्‍याउँदा ८७ करोड बराबरको क्षति भएको बताइएको छ ।

वरिष्ठ कृषि अधिकृत राजनारायण यादवले ३ सय हेक्टरमा रहेको तरकारी खेती नष्ट हुँदा ६ करोड, ३ सय हेक्टरमा केरा खेतीलाई डेढ करोड, ३० हेक्टरमा रहेको वागवानी नर्सरी तर्फ १ करोड गरी रौतहट जिल्लामा बाढीबाट दुई अर्व १५ करोडको हाराहारीमा क्षति भएको जानकारी दिए । त्यसै गरी कुखुरापालन तथा हासपालनमा पनि ठूलो क्षति भएको छ ।

धान खेती तर्फ ५ देखि १० प्रतिशत सम्म नोक्सानी बढ्न वा घट्न सक्ने संकेत गर्दै वरिष्ठ कृषि अधिकृत यादवले २०५० सालमा आएको बाढी भन्दा यस पटकाको बाढी अझै विनासकारी भएको बताए ।

रौतहटको कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक विभागमा पठाइसकेको र केन्द्रबाट राहतको प्याकेज आएमा किसानहरुलाई क्रमिक रुपमा उपलब्ध गराउने उनले बताए ।

निकै ठूलो मात्रामा घरहरु भत्कीएकाले र अझै पनि कतिपय स्थानमा यातायातका साधनहरु पुग्न नसक्दा राहत वितरणमा ढिलाई भइरहेको छ । निजी स्तरबाट सम्भावित उम्मेदवार, संघसंस्था तथा व्यक्ति विषेशलेसमेत बाढी प्रभावितहरुलाई राहत दिइरहे पनि सरकारी स्तरबाटै ठोस रुपमा राहतका प्याकेज आउनु पर्ने स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment