Comments Add Comment

‘सँगै बस्छौं भन्नेहरुलाई राष्ट्रवादको औंलो देखाउनेलाई जवाफ हो संशोधन’

५ भदौ, काठमाडौं । कांग्रेस नेता प्रदीप गिरीले राष्ट्रवादको नाममा सँगै बस्न चाहन्छौं भन्नेहरुमाथि प्रश्न नउठाउन चेतावनी दिएका छन् । उनले संविधान संशोधन विधेयक उनीहरुका लागि जवाफ भएको पनि बताए ।

संविधान संशोधन विधेयकमाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै गिरीले भने, ‘कांग्रेस र सरकारका सहयात्रीहरुको तर्फबाट यो संशोधन सिंगो राष्ट्रलाई सन्देश हो । हामी तीन करोड नेपाली जनतासँग सँगै बसेर, डुबेर र पौडी खेलेर बाँच्न चाहन्छौं ।’

मुलुकमा छुट्टनि चाहने शक्तिहरु रहेको र उनीहरुको शान्तिपूर्ण रुपमा सामना गरिने गिरीले बताए । तर, छुट्टनि नचाहने शक्तिलाई पनि त्यही समूहमा गाम्भ खोज्ने शक्तिहरुले राष्ट्रवादको खेल खेलिरहेको बताउँदै उनले भने, ‘ए बाबा, हामी छुट्टनि चाहँदैनौं भन्ने समूहलाई राष्ट्रवादको नाममा औंलो देखाउने समूहलाई यो संशोधन जवाफ हो । संशोधनको मर्म मैले यसरी बुझेको छु ।’

कांग्रेस नेता गिरीको विचार उनकै शब्दमा

यहाँ बोलिएका कुराहरु सिंगो मुलुकले थाहा पाउन जरुरी छ । क्यामेरा र टेलिभिजन दुरुस्त हुन जरुरी छ । र, दैनिक हामीले आज केके छलफल गर्दैछौं, सबै कुराको जानकारी सिंगो राष्ट्रले पाउन जरुरी छ ।

राष्ट्रको कुनै निश्चित परिभाषा हुँदैन । राष्ट्रलाई कुनै गुट र समूह विशेषले यही हो राष्ट्रवाद भन्न थाल्यो भने राष्ट्रको सुरक्षाका नाममा उसले विघटन जन्माउँछ

संसद वा कुनै पनि विधायिका सरकार बनाउने थलो मात्र होइन । विभिन्न प्रश्नमा संसद विभाजित छ, उहाँहरु सबैका आफ्ना तर्क, मूल्य र मान्यता छन् । आजको यस पुस्तामा आफ्नो मूल्य, मान्यताका खातिर सबैले ज्यान हत्केलामा राखेर हिँडेको समूह पनि छ । उहाँहरु किन विभाजित हुनुहुन्छ ? हामी किन विभाजित छौं ? यो कुरा सिंगो नेपाललाई सुसुचित गराउने दायित्व पनि सिंगो नेपालकै हो ।

संविधान संशोधनको प्रश्नमा जुन कुरा हामी सुन्दैछौं, त्यसको खास पुष्ठभूमि पूर्ववक्ता विमलेन्द्र निधिले भनिसक्नु भयो । त्यहाँ कमरेड केपी ओलीजीको हस्ताक्षरसमेत छ भनेर देखाइसक्नुभयो । यो सिंगो देशले हेर्न जरुरी थियो । तर, त्यति मात्र होइन, त्यसै सिलसिलामा राष्ट्र, राष्ट्रवाद र राष्ट्र विद्रोहको कुरा आएको छ । पार्टीगत कुरा राजनीतिमा सधैं हुने सत्ता संघर्षको विषय हो । त्यसमा म कहाँ उभिएको छु, मैले सभामुखलाई बताउनु पर्दैन ।

तर, कुरा त्यति मात्र छैन । बातैपिच्छे राष्ट्र र राष्ट्रवादको जुन कुरा हामी गरिरहेका छौं, त्यहाँ शायद एकोहोरो कुरा गरेर हुँदैन । राष्ट्र कांग्रेसका लागि मात्र चिन्ताको विषय छैन । एमाले, माओवादी केन्द्रलगायत सबै पार्टीका लागि चिन्ताको विषय छ । राष्ट्र एउटा गतिशील धारणा हो । राष्ट्रका बारेमा अनेकौं विचार बदलिन्छन् । नेपालमा राष्ट्रवादका लागि बीपी कोइरालाले जस्तो दुःख कसैले पाएन, संघर्ष पनि कसैले गरेन ।

जसले छुट्टिन चाहन्छु भने भने हामीलाई मतलव छैन । शान्तिपूर्ण ढंगले तिनको पनि सामना गरौंला । ए बाबा, हामी छुट्टनि चाहँदैनौं भन्ने समूहलाई राष्ट्रवादको नाममा औंलो देखाउने समूहलाई यो संशोधन जवाफ हो

अगाडि बीपीका सुपुत्र हुनुहुन्छ । बीपी कोइरालाले राष्ट्रिय कांग्रेसको स्थापना अधिवेशनमा के भौगोलिक, के सांस्कृतिक, के राजनीतिक, के आर्थिक दृष्टिकोणले नेपाल र भारत अभिन्न छन् भनेर ००३ सालमा भन्नु भएको थियो । उही बीपी कोइराला ५० वर्षपछि आउँदा/नआउँदा हाम्रो राष्ट्रिय शक्ति महत्वपूर्ण रहेछ, यसको स्वायत्तता महत्वपूर्ण रहेछ, यसलाई हामीले उत्तर, दक्षिण, पूर्व र पश्चिम चारैतिरबाट जोगाउनु पर्छ भन्नु भएको थियो । त्यसैले राष्ट्रको कुनै निश्चित परिभाषा हुँदैन । राष्ट्रलाई कुनै गुट र समूह विशेषले यही हो राष्ट्रवाद भन्न थाल्यो भने राष्ट्रको सुरक्षाका नाममा उसले विघटन जन्माउँछ ।

राष्ट्रको कुनै निश्चित परिभाषा हुँदैन । राष्ट्रका लागि भाषा र संस्कृति महत्वपूर्ण हुन्छन् र भूगोल चाहिन्छ । तर, तपाईहरुलाई थाहा छ, भूगोल नभएका पनि राष्ट्र छन् । लामो समयसम्म यहुदीहरुको आफ्नो राष्ट्र नै थिएन । आज पनि यहुदीहरुको संघर्षमा भाग लिएका प्यालेस्टिनीहरुको आफ्नो भौगोलिक राष्ट्र छैन । भूगोलबिना पनि राष्ट्र बाँच्न सक्छ, भाषाबिना पनि बाँच्न सक्छ । भाषाले मात्र पनि बाँच्दैन । पाकिस्तान विघटनको कहानी तपाईंहरुलाई थाहै छ । अब पनि पाकिस्तान र बंगलादेशमा के हुनेवाला छ, हामीलाई थाहा छैन ।

त्यसैले सिंगो संसदले नोट गरोस्, राष्ट्रका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा सँगसँगै बस्ने, सँगसँगै बाँच्ने, सँगसँगै डुब्ने र सँगसँगै पार हुने इच्छा हो । राष्ट्रका बारेमा सबैभन्दा पहिले ऐतिहासिक मान्य ग्रन्थ लेख्ने व्यक्तिले आजभन्दा डेढ सय वर्ष पहिले लेखेका थिए, ‘सबै परिभाषा दिन्छु, भाषा पनि चाहिन्छ, जाति पनि चाहिन्छ, इतिहास पनि चाहिन्छ, ऐतिहासिक स्मृति पनि चाहिन्छ । तर, सँगसँगै बस्ने तिमीहरुको इच्छा र आकांक्षा छ कि छैन, त्यो सबैभन्दा बढी चाहिन्छ ।’

म के भन्न चाहन्छु भने यो संशोधन पारित हुन्छ/हुँदैन थाहा छैन । म संशोधनको पक्षमा भोट दिन्छु । तर, कांग्रेस र सरकारका सहयात्रीहरुको तर्फबाट यो संशोधन सिंगो राष्ट्रलाई सन्देश हो । यो सरकार तीन करोड नेपाली जनतासँग सँगै बसेर, सँगै डुबेर, सँगै पौडी खेलेर बाँच्न चाहन्छ । यो संशोधनको अरु अर्थ छैन । यसको धारा-धाराको अर्थ छैन । यसको एउटै अर्थ छ, हामी तीन करोड नेपाली छुट्टनि चाहँदैनौं । छुट्याउन चाहने शक्तिलाई यो एउटा करारा जवाफ हो ।

छुट्याउँछु भन्ने मान्छे पनि छन् । नामै लिन्छु, गोइतजी हुनुहुन्छ, राउतजी हुनुहुन्छ । यसलाई छुट्याउन दिन्नौं, छुट्याउन दिन्नौं भनेर छुट्टनि नचाहने शक्तिलाई पनि त्यही समूहमा गाभ्न चाहने शक्ति पनि राष्ट्रवादको खेल खेलिरहेका छन् । जसले छुट्टिन चाहन्छु भने भने हामीलाई मतलव छैन । शान्तिपूर्ण ढंगले तिनको पनि सामना गरौंला । ए बाबा, हामी छुट्टनि चाहँदैनौं भन्ने समूहलाई राष्ट्रवादको नाममा औंलो देखाउने समूहलाई यो संशोधन जवाफ हो । संशोधनको मर्म मैले यसरी बुझेको छु ।

सत्ता संघर्ष त चलिरहन्छ, शेरबहादुरजी पनि गर्नुहुन्छ, कम हुनुहुन्न । प्रचण्डजी झन सिपालु हुनुहुन्छ, अल्पमत भएर बहुमतको नेतृत्व गर्नुभयो । ओलीजी किन पछि हट्ने ? यसमा मलाई आपत्ति छैन । तर, राष्ट्र, राष्ट्रवाद र राष्ट्रघातको नाममा डर देखाउँदै एउटा ठूलो समूहलाई झन् पर बनाएर राष्ट्रको संरक्षण हुँदैन । राष्ट्र विनासपट्टी जान्छ ।

जाँदा जाँदै एउटा कुरा भन्न चाहन्छु, भारतले आफ्नो पक्षमा बाँध लगाएकाले नेपाल डुबानमा परेको छ । मलाई त्यसको प्राविधिक पक्षको ज्ञान छैन । हो, होइन यसै भन्न सक्दिनँ । तर, त्यो हुँदै होइन, भारतले त्यसो गरेको छैन भन्ने जरुरत कांग्रेसलाई छैन । त्यो हो भने प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक बुझेर भारत सरकारसँग कुरा उठाउनुपर्छ, उठाउनुहुन्छ भन्ने मलाई विश्वास छ । तर, राष्ट्रवादका नाममा भारतले हात्ती पठाइदियो, गोमनसाप पठाइदियो, भारतले भुइँचालो पठाइदियो भन्ने प्रवृत्ति गरेर राणाकालीन र महेन्द्रकालीन राष्ट्रवादले कल्याण गर्दैन ।

चीनले पनि कल्याण गर्दैन, भारतले पनि गर्दैन । यो जिम्मेवारीपूर्वक बुझ्नुपर्छ, हाम्रो यो मजबुरी छ कि हामी भारत र चीनको छिमेकमा छौं । यदि हामीले चाहेको हुने भए त अमेरिकाकै छिमेकमा बस्थ्यौं होला, त्यो पनि क्युबाजस्तो कि ब्राजिलजस्तो बस्थ्यौं आज भन्न सकिँदैन । त्यसैले प्रत्येक विपत्तिलाई अवसर बनाउनु पर्छ । महान राजनीतिज्ञ त्यो हो, जसले विरोधीले फ्याँकेको ढुंगालाई जम्मा गरेर घर बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment