Comments Add Comment

मौसमले साथ नदिए चुनाव दुई चरणमा

६ भदौ, काठमाडौं । निर्वाचन आयोगले १० मंसिरका लागि तोकिएको चुनाव मौसमले साथ नदिए दुई चरणमा हुन सक्ने बताएको छ ।

सरकारले सोमबार मात्र प्रदेश र संसदको चुनाव देशभर एकै चरणमा गर्ने गरी मिति घोषणा गरेको थियो ।

आयोगको मंगलबार बसेको बैठकले तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । तर, निर्वाचनको तयारी र व्यवस्थापनमा विविध जटिलता रहने बताउँदै आयोगले मौसमको अनुकूलता नभएमा अर्को चरणमा समेत निर्वाचन गराउनु पर्ने अवस्था रहन सक्ने स्मरण गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘२०७० को संविधानसभा चुनावका बेला मंसिरको सुरुवातमै हिउँ परेको थियो । अहिले पनि त्यो सम्भावना छ, प्राकृतिक चुनौति आइपरे हामी दोस्रो चरणमा जानैपर्छ ।’

यसअघि प्रदेश र संसदको चुनाव एकै चरणमा गर्न सहमत हुँदा पनि आयोगले चुनाव भने दुई चरणमा गर्न प्रस्ताव गरेको थियो । उसले हिमालीसहितका ३१ जिल्लामा ४ मंसिर र बाँकीमा २१ मंसिरमा चुनाव गनर्ेे प्रस्ताव तीन दलसामू राखेको थियो ।

तर, सरकारले मंसिर १० को समय तोकेको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धी ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो दिन पनि सरकारसँग माग गरेको छ ।

दुबै विधेयक संसदको राज्य व्यवस्था समितिमा छ । साथै क्षेत्र निर्धारण आयोगले पनि प्रतिवेदन बुझाएको छैन । आयोगको म्याद भदौ दोस्रो सातासम्म छ ।

आयोगको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग सरकारबाट प्राप्त हुनेमा विश्वस्त समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment