Comments Add Comment

चीनलाई दक्षिण एसियासँग जोड्दै तिब्बती राजमार्ग

 

३ असोज, काठमाडौं । सिगात्से विमानस्थल र सिटी सेन्टरबीचबाट अगाडि बढ्छ, तिब्बत राजमार्ग । चिनियाँ राष्ट्रिय राजमार्गलाई नेपालको सीमासम्म जोड्ने यो एउटा सानो खण्ड मात्र हो ।

दक्षिण एसियामा आर्थिक र सामरिक दुवै कोणबाट आफ्नो पहुँच विस्तार गर्न यसले चीनलाई सहयोग पुर्‍याउने चिनियाँ विश्लेषकहरुको ठम्याइ छ ।

४० दशमलव चार किलोमिटर लम्बाइको राजमार्गले सिभिल र सैनिक विमानस्थल तथा तिब्बतको दोस्रो सबैभन्दा ठूलो शहरबीचको यात्रालाई एक घण्टाबाट ३० मिनटमा झार्ने आइतबार प्रकाशित तिब्बत फाइनान्सियल डेलीले उल्लेख गरेको छ ।

यो नयाँ सडक सिगात्से-ल्हासा रेलमार्गसँग समानान्तर रुपमा अगाडि बढ्नेछ । शहरका चक्रपथहरुलाई सांघाइदेखि झाङ्मुसम्म पाँच हजार चार सय ७६ किमि लामो जी-३१८ राजमार्ग नेपाल सीमामा जोडिनेछ ।

तिब्बत राजमार्ग जी-३१८ को अंश मात्र हो, जसले सीमा शहर झाङ्मुलाई तिब्बतको राजधानी शहर ल्हासासँग जोड्ने छ । यसले भविष्यमा चीन-नेपाल सीमापार रेलमार्गसँग गाँसिन सक्ने सांघाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजमा एसिया प्रशान्त अध्ययन केन्द्रका निर्देशक चाओ गेन्चेङको बिचार छ ।

चीन-नेपाल रेलमार्गमा तीन वटा लाइन हुनेछन् । पिपुल्स डेलीका अनुसार एउटाले नेपालका तीन सर्वाधिक महत्वपूर्ण शहरहरुलाई गाँस्नेछ र अर्को नेपाल-चीन सीमापार पुग्नेछ ।

‘चिनियाँ सीमा शहर झाङ्मु भएर अगाडि बढ्ने र नेपालका रुटहरुसँग जोड्ने चीन-नेपाल रेलमार्ग पहिलो हुनेछ, जसमार्फत् चीन दक्षिण एसियामा प्रवेश गर्नेछ,’ चाओ भन्छन्, ‘नेपाल र चीनबीच रेल कनेक्टिभिटी सैन्य प्रयोजनका लागि होइन, क्षेत्रीय आर्थिक विकासमा मात्र लक्षित छ । तैपनि यो कदमले भारतलाई चिन्तित तुल्याउन सक्छ ।’

आफ्ना छिमेकी मुलुकहरु चीनसँग नजिकिँदा भारत सधैं बेचैन हुने गरेको चाओको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment