Comments Add Comment

गोरखाल्यान्डबाट फर्किन थाले नेपाली विद्यार्थी

९ भदौ, काठमाडौं । छिमेकी भारतको दार्जीलिङ क्षेत्रमा गोरखाल्यान्ड आन्दोलनका कारण त्यहाँका विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरु स्वदेश र्फकेर नेपालकै विद्यालयमा भर्ना हुन थालेका छन् ।

नेपालमा आन्दोलन र हडतालको असर तथा भारतमा जस्तो गुणस्तरीय शिक्षा हुँदैन भन्ने आधारमा दार्जीलिङ, खर्साङ र कालिङपोङलगायत क्षेत्रमा बर्सेनी हजारौँ नेपाली विद्यार्थीहरु पढ्न जाने गर्छन् । खर्साङस्थित सेन्ट हेलेन आवासीय माध्यामिकमा कक्षा ३ मा अध्ययनरत रोबिता श्रेष्ठ हालै काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा सोही कक्षामा भर्ना भएकी छन् ।

सन् १८९० मा स्थापित सेन्ट हेलेन विद्यालयले पहाडी क्षेत्रमा आन्दोलनका कारण अर्को सूचना जारी नभएसम्मका लागि भन्दै विद्यालय बन्द घोषणा गरेको छ ।

धरानका रोसेस श्रेष्ठ र विनु श्रेष्ठकी छोरी रोबिता सेन्ट हेलेनमा गत दुई वर्षदेखि हेस्टेलमा बसेर पढ्दै आएकी थिइन् । आफूले पढेको स्कुलबाट स्थानान्तरण प्रमाणपत्र नल्याएपछि श्रेष्ठले सोही कक्षामा शैक्षिकसत्रको बीचमा भर्ना हुनाको कारण खुलाई प्रवेश परीक्षा दिएपछि ग्यालेक्सीले भर्ना लिएको छ ।

यस्तै ललितपुरको शुभतारा स्कुलमा पनि भारतबाट र्फकेर आएका केही विद्यार्थीहरु भर्ना भएको पाइएको छ । गोरखाल्यान्डको माग गर्दै गरिएको हडतालले विद्यालय नखुलेपछि आफूसहित त्यहाँ पढ्ने अधिकांश नेपाली विद्यार्थी स्वदेश र्फकेको रोबिताले बताइन् । श्रेष्ठले खर्साङबाट फर्केर दुई महिना धरानमा बस्दा पनि त्यहाँको आन्दोलन मत्थर नभएपछि काठमाडौँ आएको जनाउँदै भारतमा भन्दा नेपालमै बसेर पढ्न पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिइन् ।

भारतमा आन्ध्र प्रदेशलाई विभाजन गरी तेलङ्गा राज्य बन्ने भएपछि नेपालीभाषीले अलग्गै गोरखाल्यान्डको माग गर्दै गोरखा जनमुक्ति मोर्चाको अगुवाइमा पुनः आन्दोलन जारी छ । गत साता सो पार्टीका सहसचिव विनय तामाङसहितका नेता कार्यकर्ता पक्राउ परेपछि अनिश्चितकालीन हडताल चलिरहेको छ । जुनसुकै कारणले भए पनि यसरी विद्यार्थी स्वदेश र्फकेकामा यहाँका विद्यालय सञ्चालकहरु भने खुसी भएका छन् ।

नेपालबाट शिक्षामा पुँजी पलायन नहुने वातावरण होस्, यहाँ अभिभावकले खोजेको जस्तो शिक्षा दिन तयार छौँ भनी ती सञ्चालक बताउँछन् । ग्यालेक्सी स्कुलका प्रधानाध्यापक तथा निजी तथा आवासीय विद्यालय एसोसिएन (एनप्याब्सन) का अध्यक्ष गीता राणाले गोरखाल्यान्ड आन्दोलनका कारण केही विद्यार्थी फर्कन थालेको बताउनुभयो । अध्यक्ष राणाले स्वेदेशी विद्यार्थी र अभिभावकको चाहनाअनुसार आफूहरुले शिक्षा दिँदै आएको र थप अवसर आउँदा तयार रहेको पनि बताउनुभयो ।

निजी आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का महासचिव डिके ढुङ्गानाले भारतबाट विद्यार्थी स्वदेश फर्कनुलाई सकारात्मक मान्दै आफ्नो माटामा बसेर पढ्न त्यस्ता विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँका अनुसार हाल भारतभरि गरेर विद्यालय तहमा मात्रै करिब पाँच लाख नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् । स्वदेशमा राम्रो पढाइ हुँदैन भन्ने भ्रम र खुला सीमानाका कारण भारतमा नेपाली विद्यार्थी जाने गरेको उहाँको बुझाइ छ ।

जोरपाटीस्थित राय स्कुलका प्रधानाध्यापक केपी पाण्डेले हालसम्म आफूहरुकामा त्यसरी फर्केर आएका विद्यार्थी भर्ना नभए पनि पाठ्यक्रम मिलेको सन्दर्भमा त्यसरी आउने विद्यार्थीलाई सहयोग गर्नु नेपालमा सञ्चालित विद्यालयको दायित्व भएको बताउनुभयो ।

प्रकाश सिलवाल/ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment