Comments Add Comment

दोस्रो संविधानसभाले गणतन्त्र मान्दैन : कमल थापा

१० भदौ, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अघिल्लो संविधानसभाले गरेको गणतन्त्रसम्बन्धी निर्णय शून्यमा परिणत भइसकेकाले आगामी संविधानसभाले त्यसलाई नमान्ने बताउनुभएको छ । सोमबार राजधानीको राष्ट्रिय सभागृहमा शुरु भएको राप्रपा नेपालको तीनदिने राष्ट्रिय राजनीतिक सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल उदाउँदो शक्ति भएको बताउनुभयो ।Kamal-thapa

पाँचवर्षको अवघिमै राप्रपा नेपाल मुलुकको पहिलो शक्ति बन्न लागेको बताउँदै थापाले यसलाई नोटिसमा लिन र राप्रपा नेपाललाई उपेक्षा नगर्न आग्रह गर्नुभयो ।पहिलो संविधानसभाले गरेको गणतन्त्रसम्बन्धी निर्णय शुन्यमा परिणत भैसकेको दाबी गर्दै अध्यक्ष थापाले अर्को संविधानसभाले त्यसलाई नमान्ने बताउनुभयो । नेता थापाले राष्ट्रपति डा. रामवरण यादवको समेत पदावधि समाप्त भैसकेको दाबी गर्नुभयो ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीले राम्रो काम गरेको भन्दै थापाले बधाइ दिनुभयो । साथै नयाँ बानेश्वरको सरकारी भवन चारदलले कब्जा गरेर कार्यालय राखेको भन्दै उनीहरुमाथि पनि कारवाही गर्न थापाले अख्तियार प्रमुख कार्कीसँग आग्रह गर्नुभयो ।

के-के भने पूर्वपञ्चले ?

राप्रपा नेपालका बरिष्ठ नेता केशरबहादुर विष्टले कांग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई देशद्रोहीको आरोप लगाउनुभयो । गिरिजाले नक्कली नोट छापेकाले आफूहरुको सत्ता आए कोइरालालाई कारवाही गर्ने विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नक्कली नोट छाप्ने देशद्रोही हो, मान्छे मार्ने डाका हो । गिरिजा देशद्रोही हुन्, प्रचण्ड डाका हुन् ।’एमाओवादीतर्फ व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो,’राणा, पञ्चायतले त हिसाव बुझाए । एमाओवादी कुन चराको नाम हो ? हिसाव बुझाउन तयार हुनुस् ।’ उहाँले एमाओवादीसंग एउटामात्रै इमान्दारीता रहेको भन्दै नेता बिष्टले भन्नुभयो,’गिरिजावावुले नक्कली नोट छापेर जनतालाई देशभर बाँडे भन्नुभएको थियो । तर एमाओवादीले भने नक्कली नोट छापेको छैन त्यही हो उसको इमान्दारिता ।’ एक सय ४ वर्षे लामो राणा शासनले समेत हिसाव किताव बुझाएको भन्दै उहाँले हिसाव बुझाउन तयार रहन एमाओवादीलाई आग्रह गर्नुभयो ।

चारसीट जितेको पार्टी सबैभन्दा ठूलो हुन्छ भन्दा पत्रकारहरु हाँसेको भन्दै विष्टले हिन्दू धर्मको पक्षमा तराईमा रथ यात्रा गर्दा ५० लाख मान्छेले समर्थन जनाएको बताउँदै ५० लाखको समर्थन जटाउने दल पहिलो पार्टी हुने तर्क गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले आफ्नो पार्टीलाई एक नम्बर बनाए संविधान बनाएर देखाइने वताउनुभयो ।राजतीनिक सम्मेलनमा बोल्दै अर्का राजनीतिज्ञ विश्वबन्धु थापाले राजा र बहुदलीय शक्तिहरु मिलेर राष्ट्र चलाउनुपर्ने बताउनुभयो । बहुदलीय नेताहरुले राष्ट्रियतालाई ख्याल नगरी दिल्ली जाने गरेको उहाँले बताउनुभयो ।

राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीले भने आफू भर्खरै दिल्ली गएको बताउनुभयो । दिल्लीको मेदान्त अस्पतालमा आफूले भेट्दा पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले आँशु झारेको भन्दै लावतीले रेग्मी सरकारले उहाँको उपचार नगरेकोमा आक्रोश पोख्नुभयो । ‘राजा महेन्द्रले वीपीलाई अमेरिकामा उपचार गराउँदा हुने, सूर्यबहादुर थापाको उपचार गराउँदा हुने, अनि यो अपराधीहरुको रेग्मी सरकारले मरिचमानको उपचार गराउन नहुने ?’ लावतीले भन्नुभयो- राष्ट्रपति रामवरणको आन्द्रामा घाऊ हुँदा सरकारले पैसा दियो, हाम्रो पनि छ आन्द्रमा घाऊ ।’

दुईतिहाइ नआए गणतन्त्र धरापमा

संघीय गणतन्त्रको विरोध गर्दै राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानसभामा एक तिहाइभन्दा बढी सीट जितेर गणतन्त्रलाई रोक्ने योजना बनाएको छ । अघिल्लो चुनावमा समानुपातिकतर्फ ४ सीटमात्रै जितेको राप्रपा नेपालका नेताहरुले आफ्नो दल पहिलो दल बन्ने दाबीसमेत गर्न थालेका छन् । नयाँ संविधान जारी गर्नका लागि दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले आगामी संविधानसभामा गणतन्त्रवादीको दुई तिहाइ बहुमत नआए संविधान पारित हुन सक्दैन । त्यो अवस्थामा राजतन्त्रवादीहरुले एक तिहाइभन्दा बढी मत ल्याएको अवस्थामा गणतन्त्रात्मक संविधानको प्रस्ताव पारित हुन सक्दैन भन्ने राप्रपा नेपालका नेताहरुले बुझेका छन् । यही रहस्य बुझेका कारण कमल थापा नेतृत्वको राप्रपा नेपालले गणतन्त्रलाई असफल बनाउने एउटैमात्र बैधानिक अस्त्रका रुपमा संविधानसभालाई उपयोग गर्ने प्रयत्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment