१३ भदौ, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लघु वित्त संस्थाको लागि ‘रिक्स मेनेजमेन्ट टुलकिट’ जारी गरेको छ । नेपालमा माइक्रोफाइनान्स गतिविधिलाई सघाउ पुर्याउने र सरोकारवालाबीचको सम्बन्ध बलियो पार्ने उदेश्यले बैंकले आरएमडिसीको सहयोगमा उक्त टुलकिट जारी गरेको हो ।
टुलकिटले कर्जा, सञ्चालन, वित्तीय र रणनीतिक जोखिम व्यवस्थापनलाई समेटेको बैंकले जनाएको छ । टुलकिटबारे जानकारी गराउने उदेश्यले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले माइक्रो सेभको सहयोगमा राजधानीमा डेढ दिने गोष्ठी आयोजना गरेको छ ।
भोलि शुक्रबारसम्म चल्ने गोष्ठीमा विदेशी विज्ञ र नेपाली लघु वित्त संस्थाका प्रतिनिधि गरी करिब ५० जनाको सहभागिता रहेको छ । माइक्रो सेभले भारत, इण्डोनेशिया, बंगलादेश, केन्यालगायत मुलुकमा ‘जोखिम व्यवस्थापन उपकरण’ अबलम्बन गर्न सघाउ पुर्याएको छ । आरएमडिसीले नेपालका लघुवित्त संस्थाहरुलाई होलसेल कर्जा दिने गरेको छ ।
बिहीबार गोष्ठीको उद्घाटन गर्दै गभर्नर डा. युवराज खतिवडाले लघु वित्त संस्थामा अन्य वित्तीय संस्थाभन्दा बढी जोखिमहरु रहेको हुनाले थप सचेतता अपनाउन आग्रह गर्नुभयो । बजार जोखिम, सञ्चालन जोखिम र कर्जा जोखिमको अलावा लघु वित्तलाई राजनीतिक प्रभावबाट मुक्त पार्नु पनि चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो । ‘संस्था प्रोफेसनल हुनुपर्छ, राजनीतिकरणबाट जोगाउनुपर्छ’, उहाँले भन्नु भयो ।
नेपाली बैंकिङ्ग प्रणालीमा बर्षे भेलजस्तो ब्याज दर तल माथि हुने हुँदा पँुजी लागतमा पनि जोखिम रहेको गभर्नर खतिवडाले बताउनुभयो । जोखिमहरु अरुसँग बाँडेर र आफैंले घटाएर व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै गभर्नर खतिवडाले दुवै विधि अवलम्बन गर्न सुझाव दिनुभयो । लघु वित्तको पुँजी आधार सानो तर कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर स्प्रेड उच्च भएको भन्दै गभर्नरले आन्तरिक सुदृढीकरणमा ध्यान दिन आग्रह गर्नुभयो ।
करिब सबै जिल्ला समेट्ने गरी कम्तीमा १८ लाख व्यक्तिले लघु वित्तको सेवा पाएको उल्लेख गर्दै गभर्नर खतिवडाले सेवामा पर्याप्त सुधारको खाँचो औंल्याउनुभयो । ‘अन्य मुलुकमा लघु वित्तको ब्याजदर २५ वा ३० प्रतिशत पनि छ, नेपालमा २० प्रतिशतभन्दा कम छ भन्दैमा यो जायज हो भन्ने तर्क गर्न मिल्दैन’, उहाँको भनाइ थियो, ‘नेपाली ग्राहकले त्योभन्दा सस्तो ब्याजमा ऋण अपेक्षा गरेका छन्, तपाईंहरु त्यसतर्फ अग्रसर हुनुपर्छ ।’
संस्था जोगाउन मुनाफा आवश्यक भए पनि सामाजिक विकासलाई नबिर्सन उहाँले लघु वित्त कम्पनीलाई सचेत पार्नुभयो । ‘तपाईहरुले छिट्टै मुनाफा गर्ने तर ग्राहक तलको तलै रहने अवस्था रहनु हुन्न’, उहाँको आग्रह थियो । लघु वित्त सामाजिक सेवा, सामाजिक बिजनेश र कमर्सियल बिजनेश भएको गभर्नरको भनाइ थियो ।
लघु वित्त बैंकहरुलाई प्रभाव पर्ने नीति ल्याउनुअघि केन्द्रीय बैंकले सरोकारवासँग राय लिने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । ‘हामीले सरप्राइज दिने गरी नीतिहरु ल्याउँदैनौं’, उहाँको भनाइ थियो, ‘तपाईहरुसँग छलफल गरेर मात्र नीति आउनेछ ।’
राष्ट्र बैंक लघु वित्त विभागका कार्यकारी निर्देशक नारायण पौडेलले लघु वित्त बैंकले औचित्य स्थापित नहुने गरी बढी ब्याज असुल गरेको अवस्थामा स्पष्टीकरण सोध्ने गरेको जानकारी दिनुभयो । उहाँले लघु वित्त संस्थामा मुख्यतः संस्थागत सुशासनको अभावले सञ्चालन जोखिम रहेको उल्लेख गर्नुभयो ।
चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भनासले लघु वित्त गतिविधिको लागि जोखिम व्यवस्थापन विधिहरुको महत्वमा जोड दिनुभयो । उहाँले यस क्षेत्रको विकासको लागि आफूहरुले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरुलाई निरन्तरता दिंदै जाने उहाँले बताउनुभयो ।
आरएमडिसीका सिईओ शंकरमान श्रेष्ठले संख्यात्मक आधारमा लघु वित्त बैंकिङ्ग सेवा विस्तार भएको बताउनुभयो । तर एकै व्यक्तिले धेरै संस्थाबाट ऋण लिने प्रवृत्ति बढेकोले जोखिम पनि बढेको उहाँको विचार थियो ।
चार्टर्ड बैंक होलसेल बैंकिङ्ग विभाग प्रमुख गौरव राणाले लघुवित्त संस्थाहरुमा क्राउडिङ्गको समस्या रहेको विचार राख्नुभयो । ‘एउटै भूगोल र ग्राहकमा लघु वित्त कम्पनी केन्दि्रत भएका छन्’, उहाँले भन्नुभयो, ‘यसलाई विविधिकरण गर्न नसके जोखिम बढेर जानेछ ।’
आरएमडिसीका अध्यक्ष एवम् नेपाल बैकर्स संघका पूर्व अध्यक्ष अशोक राणाले विपन्न कर्जा र लघु कर्जामा ठूलो रकम छरिएको उल्लेख गर्नुभयो । यसको सूक्ष्म निगरानी र सुपरीवेक्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भारतीय विज्ञ मनोज शर्माले लघुवित्तहरुको सञ्चालन खर्च बढी भएको हुनाले कर्जाको ब्याजदर उच्च हुने धारणा राख्नुभयो । बिनाधितो कर्जा प्रवाह गर्नुपर्ने हुँदा लघु वित्तमा जोखिमको मात्रा उच्च रहने भएकाले जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया 4