Comments Add Comment

महेन्द्रशिखरी माविका छात्रा रुन र चिच्च्याउन थाले

१४ भदौ, पर्वत । पर्वतको बाजुङ गाविसस्थित महेन्द्रशिखरी उच्चमाविमा अध्ययनरत छात्रामा केही दिनदेखि अनौठो रोग देखापरेको छ ।

विगत एक हप्तादेखि छात्रामा रुने-चिच्च्याउने रोग देखापरेको हो । विद्यार्थीमा यस्तो समस्या देखिएपछि पठनपाठनमा समेत समस्या हुन थालेको छ । विद्यालयले दिएको जानकारीअनुसार खासगरी ८ र ९ कक्षाका छात्रामा एक्कासि काँप्ने, चिच्याउने, कराउने र मुर्छा पर्ने रोग देखिएको छ । पहिले एकदुईजना विद्यार्थीबाट सुरु भएको रोग अहिले अधिकांश छात्रामा सरेको प्रधानाध्यापक यामप्रसाद अधिकारीले बताउनुभयो ।

“सुरुमा एकदुईजना विद्यार्थीमा मात्रै समस्या देखिएको थियो”-उहाँले भन्नुभयो-“अहिले अधिकांश विद्यार्थीमा समस्या देखिन थालेकाले पठनपाठनमा समस्या हुन थालेको छ ।” केही विद्यार्थीमा एक हप्तापहिले नै यस्तो समस्या देखिएपछि पोखरामा पुर्‍याई उपचार गरिएको थियो । तर पछिल्लो समयमा धेरै विद्यार्थीमा यो समस्या देखिन थालेको छ । बिहीबार दिउँसो दोस्रो पिरियडको पढाइ भइरहेको समयमा एक्कासि छात्राहरू चिच्याउन, कराउन र चक्कर खान थालेपछि अन्य छात्रामा पनि यस्ता लक्षण देखिने हुन् कि भनेर अभिभावक र विद्यार्थी त्रसित बनेका छन् ।

विद्यार्थीहरूमा यस्तो समस्या देखिनु एक प्रकारको मानसिक रोग भएको चिकित्सक बताउँछन् । यस्ता लक्षण मासहिस्टेरिया हुन सक्ने र विद्यार्थीलाई देखिने समस्या क्रमशः हराएर जाने चिकित्सक बताउँछन् । विद्यार्थीमा सङ्क्रमण बढेपछि विद्यालय बन्द गर्ने विषयमा समेत छलफल भइरहेको छ । समस्या बढेर गएमा पठनपाठन बन्द गर्ने तयारीमा रहेको प्राचार्य अधिकारीले बताउनुभयो । साउनको अन्तिम साता जिल्लाकै बनौ माविका विद्यार्थीमा पनि यस्तै समस्या देखिएपछि तीन दिन विद्यालय बन्द गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment