Comments Add Comment

हामी सबैको आँखामा आँसु थियो-अनिल गुरुङ

सुरेश भुसाल/राजकुमार श्रेष्ठ

२४ भदौ, काठमाण्डौ । अफगानिस्तानसँग पराजित भएपछि चेन्जिङ रुममा आउँदा नेपाली खेलाडीको आँखा भरी आँसु थियो । घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य आफ्नै गल्तीले गुमाउँदा दर्शक मात्र हैन, खेलाडीहरु पनि निकै दुःखी छन् । ‘लाइफमा यस्तो भएको थिएन होला’ नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले अनलाइनखबरसँग भने-‘चेन्जिङ रुममा आउँदा हामी सबैको आँखामा आसु थियो । यो भनेको कहिल्यै नसोचेको कुरा भयो ।’ यसो भनिरहँदा उनको गला अवरुद्ध हुन लागेको थियो, तर उनी सम्हालिए ।

खेलाडी बसेको होटलमा अनिललाई भेट्न हामी पुग्दा सबै निराश थिए । होटलबाट निस्कँदा सबैको अनुहार मलिन थियो । उनीहरुको अनुहार हेर्दा निकै ठूलो ग्लानी महसुस गरेको जस्तो देखिन्थ्यो । उसो त धेरैको अपेक्षा विपरित हार व्यहारेको खेल सकिएको संकेत गर्नासाथ खेलाडीहरु मैदानै थचक्क बसेर आँसु खसालेका थिए ।anil-gurung-1

साफ च्याम्पियनसिपमा नेपालको यात्राबारे अनिलको अनुभव उनकै शब्दमा :

०००

हामीसँग होम ग्राउण्ड र क्राउड थियो । हाम्रो आफ्नो माटो थियो । अहिले पनि कुराकानी गर्दा हामी हारेका छैनौं भन्ने लाग्छ । किनकी हिजोको खेलपछि पनि हामी हारेका हौं भन्ने फिल भएको छैन । प्रतियोगितामा हामीले मात्र हैन, विपक्षी टिम, समर्शक सबैले नेपाल इज द वेष्ट टिम भनेका हुन् । समूह चरणमा नेपालको र्फम निकै राम्रो रहृयो । भारत, बंगलादेश र पाकिस्तान जस्ता टप एशियन देशलाई पराजित गरेका थियौं हामीले । तर, नकआउट चरणमा हामी हार्न पुग्यौं, यो ‘व्याडलक’ हो । त्यो दुःख लाग्दो कुरा हो । हामीलाई मात्र हैन सबैलाई दुःख लागेको छ । फ्यानहरु नेपालले खेल हारेकोमा दुःखी छन् । तर, हामी खेलाडीहरुलाई कस्तो अनुभव भयो होला …. त्यो हामीलाई मात्र थाहा छ ।

पहिलो ११ मिनेटमा नै नेपालले गोल खान पुग्यो । त्यो काउन्टर गोल थियो । त्यसमा नेपाली गोलकिपरको किरणको सानो गल्ती पनि थियो । त्यस्तो नहुनु पर्ने थियो । कहिले काँही गल्ती हुन्छ । त्यो खेल खाएपछि हामी एकदमै दबावमा आयौं । हामीसँग समय थियो तर, प्रेसरमा खेल्नुपर्‍यो । अफगानिस्तानका खेलाडीहरु शारीरिक रुपमा निकै बलिया थिए । उनीहरुका ९ खेलाडी युरोपमा खेल्छन् । त्यसपछि पनि हामीले धेरै अवसर सिर्जना गरेका थियौं । नपाएको हैन, त्यस्तो अवसर फुटबलमा कमै मात्र पाइन्छ तर, त्यसलाई हामीले सदुपयोग गर्न सकेनौं, यो हाम्रो दुर्भाग्य हो जस्तो लाग्छ ।

खेलमा १ गोलले पछि परे पनि हामीले र्फकने सुन्दर मौका पाएका थियौं । यस्तो मौका कमै पाइन्छ, अन्तिम ५ मिजेटमात्र समय बाँकी छँदा, त्यो पनि दुईदुई वटा पेनाल्टी ।

हामीसँग ४ जना फवार्ड मैदानमा थिए । मैले अन्तराष्ट्रिय फुटबलमा पेनाल्टी सुटआउट पनि गरेको छु । तर, दबावमा थियौं हामी, यत्रो क्राउड थियो । रोहित भाईले म हान्छु भन्यो । त्यस्तोमा मैले वा जो कोहीले म हान्छु भन्न मिल्दैन र भनेनौं पनि । उसले गोल हान्दिन भनेर हानेको त हैन । तर, दुर्भाग्य, दुबै पटक गोल भएन । हान्न सक्ने त अरु पनि थिए ।

थपिएको ७ मिनेटपछि पनि केही राम्रो मौका पाएका थियौं । मैले हानेको हेड पनि अफगान किपरले यस्तो सेभ गरिदिए नि भित्र छिरिसकेको बल पनि निकालिदिए । नेपाल हिजो ‘अनलक्की’ थियो जस्तो लाग्छ ।

हामी खेलाडीले पनि यो साफ खेलेर केही पाउने थियौं । तर, हामीले एकदम ठूलो चिज गुमाएका छौं । प्लेयरले पाउने अबसर हो, त्यो यो भन्दा ठूलो केही थिएन तर, हामीले सदुपयोग गर्न सकेनौं । दुःख लाग्छ, तर के गर्नु फुटबल प्लेयरको लाइफमा यस्तो हुन्छ ।

सुधार्नु पर्ने धेरै छ

यो हारबाट पाठ सिक्दै आउने दिनमा यो भन्दा राम्रो गर्ने प्रयास गछौं हामी । त्यसमा अझै टिममा केही कमिकमजोरी होला, कोचले कसरी हेरेका छन् । धेरै छ सुधार्नु पर्ने, त्यही कारण हामी सेमिफाइनलसम्म पुग्न सक्यौं ।

anil-gurnung-2
भारतविरुद्ध गोल गरेपछि खुसी मनाउँदै अनिल गुरुङ । प्रतियोगितामा उनले नेपालका लागि २ गोल गरे ।

हामी राति १२ बजेसम्म पनि मिटिङमा थियौं । एन्फाका अध्यक्षसँग कुराकानी भयो । सबैले राम्रो खेले आ-आफ्नो ठाउँमा । तर, हामीले नसोचेको भयो, सबैलाई मोटिभेसन गर्नुभएको छ उहाँले । हार्‍यो भन्दैमा हामीले आफूलाई कमजोर ठान्नु हुँदैन भन्नुभयो । आज विहान पनि हामी खेलबारे समिक्षा गरिरहेकै थियौं ।

चेन्जिङ रुममा आउँदा हामी सबैको आँखामा आसु थियो । यो भनेको कहिल्यै नसोचेको कुरा भयो । लाइफमा यस्तो भएको थिएन होला । हामी परिपक्क भएका मान्छे हौं, तर आँसु देख्दा कस्तो कस्तो लाग्दो रहेछ ।

समर्थकको गाली स्वभाविक

मलाई दुःख लागेको छ हामीले खेल गुमायौं । समर्थकले गाली गर्नु स्वभाविक हो । उनीहरु कहाँदेखि आएका छन्, टिकटका लागि त्यस्तै धाउनु परेको छ र गेम हेरेको छ । उनीहरु नेपालले जितोस भनेर आएका हुन् । उनीहरुले गाली गरेका छन्, हामी त्यसलाई स्वीकार गछौं । हामीलाई समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु र आगामी दिनमा राम्रो रिजल्ट दिने प्रयास गछौं ।

अनिल सँधै फर्ममा रहन्छ

अनिल गरुङ सँधै फर्ममै थियो र हुन्छ पनि । अनिल कडा मेहनत गर्ने खलाडी हो । तर, स्कोरिङ लाइनमात्र नदेखिएको हो । अन्तराष्ट्रिय खेलमा स्कोर हुन सकेको थिएन । तर, यो टुर्नामेन्टमा मैले गोल गरेँ । तर, हामीले जित्न सकेनौं । कसले गोल गर्‍यो/गरेन भन्दा पनि उपाधि जित्ने हामी सबैको लक्ष्य थियो, त्यो पुरा भएन ।

अहिले नेपाली टोलीमा टिमवर्क छ । हामी बहराइन र कुवेत गयौं । हामी एक अर्काको रुममा जाँदा पनि हामीले जित्नुपर्छ भन्ने सबैमा थियो । जो खेले पनि जसले गोल हानेपनि टिमका लागि हो भन्ने भावना सबैमा थियो र छ । त्यहाँबाट सुरु भएको बहराइन, कुवेत हुँदै नेपालमा आउँदा पनि राम्रो रिजर्ट आएको थियो । सेमिफाइनलमा गुमाए पनि हामीले राम्रो खेल्यौं जस्तो लाग्छ । सिनियर र जुनियरको एउटा राम्रो टिम बनेको छ ।

भारतविरुद्ध खेल्दा अर्कै उत्साह

धेरै लामो समयपछि मैलै नेपालका लागि गोल गरेँ बंगलादेशविरुद्धको खेलमा । त्यो पनि हाम्रो आफ्नै होम ग्राउण्डमा । नेपालले कुनै पनि टुर्नामेन्टको पहिलो खेलमा जित हात पार्दा मैले नै ओपनिङ गोल गरेँ, त्यसमा मलाई एकदमै खुसी लागेको थियो । त्यो गोलले मलाई एकदमै हौसला बढ्यो । त्यो खेल हामीले जित्नुमा सबै खेलाडीको कडा मेहनत र टिम वर्क नै थियो ।

इण्डिया भनेको इण्डिया नै हो । हामीभन्दा धेरै माथि छ फुटबलमा । उनीहरुको रिर्जल्ट पनि आएको छ । समूह चरणमा त्यो खेल हाम्रो लागि बराबरी भए पनि हुने थियो तर, कस्तो भने भारतसँग खेल्ने भनेपछि हाम्रो उत्साह नै अर्को हुन्छ । माल्दिभ्स, बंगलादेश लगायतका देशसँग खेल्दा र भारतसँग खेल्दा धेरै फरक हुन्छ । उनीहरुविरुद्ध जित हात नपारेको धेरै बर्ष भएको थियो र हामीलाई कुनै हालतमा जित निकाल्नु पनि थियो ।

खेलका क्रममा हामीलाई लागेको थियो कि भारतलाई आज हराउँछौं भनेर । गोल पनि भयो । त्यो म्याचमा हाम्रो लक पनि थियो । सबै सर्मथक खुसी पनि भए । मैले देखेको यो पटकको प्रमुख उपाधि दावेदार अफगानिस्तान हो जस्तो लाग्छ । मेरो व्यक्तिगत विचारमा अफगान च्याम्पियन बन्छ ।

मनाङलाई लिग च्याम्पियन बनाउँछु

मनाङ मस्र्याङ्दीबाट व्यवसायिक फुटबल खेल्छु । देशलाई जिताउने लक्ष्यका साथ खेलेका थियौं, अब क्लब करियरमा केन्द्रीत हुन्छु । क्लबले हामीलार्इ पैसा दिएको छ, भने हामीले पनि केही दिनुपर्छ । क्लबले दिए अनुसार केही दिन्छु । अहिले मनाङको टिम पनि राम्रो छ । गत सिजनमा सरस्वतीबाट खेलेका योना आएका छन, टिम वर्क छ र २ नकआउट टुर्नामेन्ट जितेका छौं यो सिजनमा । हाम्रो लक्ष्य भनेको लिग नै हो । यो पटक मनाङ मस्र्याङ्दीलाई लिग च्याम्पियन बनाउने लक्ष्य छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment