Comments Add Comment

डिपार्टमेन्ट स्टोर धनीका लागि मात्रै होइन : आचार्य

२४ भदौ, इटहरी । दाल, तरकारी, अचार, मिनिरल वाटरसहितको भरपेट खाना- मात्र रु ५० मा ! त्यो पनि वातानुकुलित कोठामा बसेर । महँगी आकासिएर तपाईं हाम्रै भान्सामा ५० रुपैयाँ छाकको खाना बनाउन मुस्किल पर्ने भइसक्या बेला यो खबरले अचम्मित बनाउन सक्छ । तर अचम्म नमान्नोस् । पूर्वको इटहरी पुग्नुभयो भने तपाईंले पनि यो सुविधा लिन पाउनु हुन्छ । त्यहाँको गोरखा डिपार्टमेन्ट स्टोरस्थित गोरखा किचनले आफ्ना ग्राहकलाई रु ५० मा गुणस्तरीय खाना खुवाइरहेको छ ।

balaram-achrya“कतिपय होटेल साहुले ग्राहकलाई बेच्छन् तर आफू खाँदैनन् ।” गुणस्तरमा कुनै सम्झौता नगरेको दावी गर्दै डिपार्टमेन्टका प्रवन्ध निर्देशक बलराम आचार्य भन्छन्, “म जुनसुकै खाना ढुक्क भएर खान सक्छु ।” डिपार्टमेन्ट स्टोर भनेको धनीहरुका लागि मात्र होइन भन्ने सन्देश दिन र आर्थिक अवस्था न्यून भएका रिक्सावाला, मजदुरहरुलाई समेत आकषिर्त गर्न कम नाफा भए पनि यो सुविधा प्रदान गरेको उनले बताए । “हामी कहाँ १५० र ४०० पर्ने खाना पनि छ ।” उनले भने, “कुन वर्गबाट कति प्रतिशत नाफा लिने भन्ने कुरामा हामी सचेत छौँ ।”

नुनदेखि सुनसम्मका हरेक सामाग्री र खाद्यपदार्थ सुलभ मूल्यमा उपलब्ध गराइरहेको यो डिपार्टमेन्टले विहान मर्निङवाकमा निस्कनेहरुलाई प्रति कप रु २५ मा कफी उपलब्ध गराउँछ । आफ्नै फार्मबाट उत्पादित गाईको दूध प्रति लि. ५० र भैंसीको प्रति लि. रु ६० मा बेच्छ । “हामी एकथोपा पानी समेत मिसावट गर्दैनौँ ।” आचार्यले भने, “गाईभैंसीको थुनबाट जस्तो आउँछ । त्यस्तै बेच्छौँ ।” बन्दका दिनमा पनि बिहान-बेलुका दूध, फलफूल र तरकारीका लागि खुल्ने यो डिपार्टमेन्टमा ग्राहकको जहिल्यै भीड हुन्छ । तर, एकजना ग्राहकले बढीमा दुई लिटर मात्र किन्न पाउँछ ।

डिपार्टमेन्टले भान्सामा प्रयोग गरिने र आफूकहाँ बेचिने तरकारी, कुखुरा र खसीको मासुसमेत आफ्नै फार्ममा आफैँ उत्पादन गर्दै आएको छ । त्यसका लागि सुनसरीकै एकम्बा गाविसमा ११ विगाहामा तरकारी खेती गरिरहेको छ । डिपार्टमेन्ट स्टोरको छतमा समेत माछाका कार्टुन राखेर गरिरहेको तरकारी खेती साँच्चै रमितलाग्दो छ ।

डिपार्टमेन्टमा अहिले ४ सय बढी कर्मचारी कार्यरत छन् । त्यसमध्ये ८० प्रतिशत महिला । मोवाइल नबोक्ने आचार्य हरेक दिनजसो आफ्ना प्रत्येक कर्मचारीसँग कुरा गर्न र काम नियाल्न भ्याउँछन् । “हरेक कर्मचारीलाई आफूले गरेको काम हेरिदेओस् भन्ने लाग्दोरहेछ ।” उनले भने, “कुनै दिन भेट्न गइँन भने बिरामी भए कि भनेर सोधखोज गर्न आउँछन् ।” संयोग भनुँ, यो व्यवसाय सुरु गरे यता एक दिन पनि विरामी भएर सुत्नु नपरेको अनुभव उनले सुनाए ।

कर्मचारीलाई आफूले कर्मचारीका रुपमा नभई परिवारका सदस्य र पार्टनरका रुपमा हेरेको आचार्यले बताए । “गएको असार ३० गते छोराको बिहे थियो । सबै स्टाफलाई जन्ती ल्याउँछु भन्दा केटी पक्षले आपत्ति जनाए । त्यसपछि मैले बरु म आउँदिन तर एकजना स्टाफ पनि छुटाउन सक्तिन भन्दिएँ ।” रमाइलो प्रसंग उक्काउँदै उनले भने, “तर केटी पक्षले गोल्छाका ६ हजार स्टाफ छन्, सबै जन्ती लान्छन् त ? भने । मैले ठाडै भन्दिएँ, अरुका लागि कर्मचारी भनेका नोकर होलान् तर मेरा लागि छोराछोरी हुन् । म उनीहरुको मनमा ठेस पुर्‍याउन सक्तिन ।” कर्मचारीलाई परिवारको सदस्य ठानेकै कारण आफू यहाँसम्म आइपुगेको उनले बताए ।

०४० साल असार ६ मा कानेपोखरी दक्षिणको सानो बजारमा किराना र काँट व्यवसाय सुरु गरेका आचार्य पहिलो दिन २१ रुपैयाँको बिक्री हुँदा साह्रै खुसी भएका थिए । त्यसको ६ महिनापछि साइकल किन्न सक्ने हुँदा उनलाई संसारकै ठूलोमान्छे भएजस्तो लागेको थियो रे ।

अचम्म लाग्न सक्छ, ०५६ असारबाट डिपार्टमेन्ट व्यवसायमा हात हालेका उनी अहिले धरान र दमकमा पनि व्यवसाय विस्तार गरिरहेका छन् । कृषि फार्मको विस्तार निरन्तर चलिरहेकै छ । राज्यलाई कर तिर्ने त छँदैछ, समाजसेवासमेत गरिरहेका छन् । सशस्त्र द्वन्द्वकालमा केही गर्न सकिँदैन, देशमा सम्भावना छैन भन्नेहरुका लागि यिनको सफलता गतिलो जवाफ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment