Comments Add Comment

मुजफ्फरनगरमा जातीय दङ्गा, २८ को मृत्यु

नयाँ दिल्ली, २४ भदौ । उत्तर प्रदेश राज्यको मुजफ्फरनगरमा जातीय दङ्गा फैलिँदा त्यसमा परी कम्तीमा पनि २८ जनाको ज्यान गएको छ । दर्जनौँ नागरिक घाइते भएका छन् ।

जिल्लाको सदरमुकामबाट करिब १०५ किलोमिटर उत्तरमा पर्ने कवाल गाउँमा त्यहीका स्थानीय समुदायका बीचमा भएको आपसी झगडाले हिंसाको रुप लिएको थियो । गृह मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले भने- सो क्षेत्रमा जारी रहेको हिंसाका क्रममा अहिलेसम्ममा कम्तीमा २८ जनाको ज्यान गइसकेको छ ।

हिंसापछि उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको छ । हिंसाको नियन्त्रणका लागि सेना पनि परिचालन गरिएको बताइएको छ । अहिले भने करिब ८०० को सङ्ख्यामा सेना पठाइएको र अवस्था नियन्त्रणमा आइसकेको भारतीय टेलिभिजन एनडिटिभीले जनाएको छ ।

गएको शनिबार अबेर राति करिब एकहजारभन्दा बढी किसानले त्यहाँको कवाल गाउँमा बैठक गरी यसअघि मारिएका सोही स्थानका तीनजनाको हत्यारामाथिको कारबाहीका लागि आवज उठाएका थिए । किसानहरु घर फर्किने क्रममा उनीहरुमाथि नै आक्रमण भएको थियो । सोही गाउँको अर्को जातका नागरिकले उनीहरुमाथि हमला गरेपछि त्यहाँ द्वीपक्षीय भडिन्त भएको बताइएको छ ।

उक्त क्षेत्रमा समय समयमा हिन्दू र मुस्लिमका बीचमा द्वन्द्व हुने गर्दछ । करिब दुई करोड जनसङ्ख्या भएको उक्त क्षेत्रमा यसअघि सन् १९९२ मा भएको हिंसामा सयौँको ज्यान गएको थियो । सैनिक अधिकारीहरुले यतिखेरको सो हिंसा ठूलो नभई स्थानीय गाउँहरुका बीचमा भएकोले उनीहरुलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment