Comments Add Comment

नेताहरुले भने-रेग्मीको अमेरिका भ्रमण औचित्यहीन

२५ भदौ, काठमाडौं । प्रमुख दलका नेताहरुले चुनाव गर्ने प्रमुख जिम्मेवारी पाएको बर्तमान सरकारका अध्यक्ष खिलराज रेग्मीले आगामी असोज ४ गतेबाट गर्ने अमेरिका भ्रमण औचित्यहीन, असान्दर्भिक र राष्ट्रको सम्पत्तिको दुरुपयोगबाहेक केही नभएको दावी गरेका छन् । उनीहरुले अध्यक्ष रेग्मीले तत्काल आफ्नो भ्रमण स्थगित गरेर मुलुकमा निर्वाचन र शान्ति सुरक्षाको बातावरण निर्माणमा लाग्नु पर्ने सुझाव दिए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा काग्रेसका नेता डा. प्रकाशशरण महतले नेपालको तर्फबाट राष्ट्रसंघमा भन्नु पर्ने कुरा खासै नभएकोले तत्काल भ्रमण रद्ध गरेर आफूलाई निर्वाचनमा केन्द्रीत गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-‘खास कारण भए मात्रै सरकार प्रमुख जाने हो । त्यहाँ नगई नहुने केही हुँदैन ।’ उहाँले निर्वाचनको लागि सरकार बनेको नेकपा-माओवादी निर्वाचनमा नआईरहेको अवस्था, सुरक्षाको रणनीति बनाएर अनुगमन गर्नु पर्ने अवस्थामा सरकार प्रमुखको विदेश भ्रमणमा निस्कने तयारीले आफूहरुलाई अचम्ममा पारेको भन्दै अहिले माओवादीलाई निर्वाचनमा सहभागि गराउने र सुरक्षित रुपमा निर्वाचन सम्म गर्ने कामलाई उच्च महत्व दिएर आफूलाई प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

एमाले नेता भीम रावलले सबै निर्वाचन सम्पन्न गर्न मात्रै बर्तमान सरकार निर्माण गरेकोले असहत दलहरुलाई सहमतिमा ल्याउने र सुरक्षामा केन्द्रीत हुनु पर्ने बेलामा विदेश भ्रमणमा निस्कनु राष्ट्रको ढुकुटीको दुरुपयोग मात्रै हुने टिप्पणी गर्नुभयो । उहाँले सरकारलाई सहजीकरण गर्न बनेको उच्चस्तरीय राजनीतिक समितिसँग परामर्श नै नगरी भ्रमणको कार्यक्रम तय गर्नुले चुनावको लागि बनेको बर्तमान सरकार निर्वाचन प्रति नै केन्द्रीत छैन भन्ने देखिएको आरोप लगाउनुभयो ।

एमाओवादी विदेश विभाग प्रमुख दिनानाथ शर्माले मंसिर ४ को निर्वाचनलाई प्रभावित पार्ने गरी सरकार प्रमुखले कुनै पनि योजना र कार्यक्रम बनाउन नहुने भन्दै अहिले मुलुकको प्राथमिकता हेरेर राष्ट्रसंघको महासभामा जाने वा नजाने निर्णय लिनु पर्नेमा जोड दिनुभयो ।

राप्रपा नेता डा प्रकाशचन्द्र लोहनीले सबै दललाई निर्वाचनमा सहभागि गराउनु पर्ने, आन्तरिक रुपमा चुनावको माहौल बनाउनु पर्ने बेलामा सरकार प्रमुख विदेश भ्रमणमा जानुको अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो-‘सबैलाई चुनावमा ल्याउनु पर्ने दायित्व छाडेर विदेश भ्रमण जानु उचित होईन । भ्रमण स्थगित गरेर यही बसेर निर्वाचनको माहौल बनाउ लाग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment