Comments Add Comment

युरोपियन राजदूतलाई वैद्य माओवादीको चेतावनी

२८ भदौ, काठमाडौं । नेकपा-माओवादीले युरोपली युनियनका राजदूतहरुले कूटनीतिक मर्यादा नाघेर बन्दको विरोध गरेको आरोप लगाएको छ । माओवादी प्रवक्ता पम्फा भुसालले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सचेत गराउनुभएको छ ।

‘नेपाली जनता राष्ट्रिय स्वाधीनता र अग्रगमनका लागि संघर्षरत छन् । संघर्षका सामान्य र सहज रुपहरुबाट आवाज नसुनेपछि शान्तिपूर्ण आन्दोलनको उच्चतम रुप बन्द र हड्ताल गर्न बाध्य छन्’ विज्ञप्तिमा भनिएको छ-‘यो बाध्यताका विरुद्ध युरोपियन युनियनलगायत विभिन्न राष्ट्रका राजदुतहरुले आफ्नो कुटनीतिक मर्यादा नाघेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी आन्दोलनको विरुद्ध लाग्न र लाग्नेलाई सहयोग गर्ने घोषणाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी राजदुत महोदयहरुलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुटनीतिक मर्यादामा रहन गम्भीर रुपले ध्यानाकर्षण गराउन चाहन्छौं । ‘

युरोपली युनियनका राजदूतहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर बन्दले नेपाली राजनीतिकै अपहेलना गरेको भन्दै विरोध जनाएका थिए ।

भारतीय सञ्चारमाध्यमको आलोचना

बैद्य माओवादीले भारतीय सञ्चार माध्यम र नेताहरुले गौतम बुद्ध भारतमा जन्मिएको भनेर नेपाल र नेपाली जनताप्रति आँच र आघात पुर्‍याएको भन्दै विरोध गरेको छ । नेपाल र भारतबीच भएको असमान सन्धि र सम्झौता तथा हस्तक्षेपकारी भूमिकाको अन्त र समानता र असल छिमेकीको सम्बन्ध कायम गर्न नेपाली जनताले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनता र मुक्तिको आन्दोलनलाई सकारात्मक निष्कर्ष दिनुपर्ने यो बेला त्यसप्रकारको गैरजिम्मेवार र विषादीपूर्ण अभिव्यक्ति रोक्न तथा नेपाली जनता र राष्ट्रसामु क्षमा माग्न हाम्रो पार्टी हार्दिक आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment