Comments Add Comment

भदौमा साढे २४ अर्ब राजश्व संकलन

२० असोज, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा लक्ष्यभन्दा बढी २४ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । भदौ महिनामा २३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । संकलित कुल राजश्वमध्ये कर राजश्वतर्फ २३ अर्ब २६ करोड रुपैयाँ र गैर कर राजश्वतर्फ १ अर्ब ४१ करोड ४० लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको भदौ महिनामा १७ अर्ब ६० करोड राजस्व संकलन भएकोमा समिक्षा महिनामा २० अर्ब ६७ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ । समिक्षा महिनामा ४ अर्ब ९५ करोड ७० लाख रुपैयाँ भन्सार महशुल संकलन भएको छ । अघिल्लो वर्षको भदौमा जम्मा ४ अर्ब ८५ करोड ३३ लाख रुपैयाँ भन्सार महशुल संकलन भएको थियो । त्यस्तै, मूल्य अभिवृद्धि कर ६ दशमलव ५५ प्रतिशत वृद्धि भई ७ अर्ब ४५ करोड ४१ लाख संकलन भएको अर्थमन्त्रालयले जनाएको छ ।

Tax-Vadra-2070

त्यसैगरि, ३ अर्ब ४० करोड ३२ लाख रुपैयाँ, आयकर २ अर्ब ४८ करोड ८ लाख रुपैयाँ संकलन भएको छ । रजिष्ट्रेशन दस्तुर र सवारी साधन करको वृद्धि दर क्रमशः २३.७५ प्रतिशत र ०.२७ प्रतिशत रहेको छ । गैरकरतर्फ गत भदौमा ६३ करोड ५२ लाख रुपैयाँ संकलन भएकोमा यस वर्ष भदौमा १ अर्ब ४२ करोड ८ लाख रुपैयाँ संकलन भएको छ ।

शिर्षकगत रुपमा हेर्दा भदौ महिनामा मूल्य अभिवृद्धि करको योगदान ३६ प्रतिशत, भन्सार महसुलको योगदान २२ प्रतिशत, आयकरको योगदान १४ प्रतिशत रहेको छ भने अन्तःशुल्कको अंश १४ प्रतिशत र गैंरकरको अंश ६ प्रतिशत रहेको छ ।

जाँचपासमा प्रहरी हावी हुनु गलत हो : अर्थमन्त्री

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भन्सारबाट जाँचपास भएको सामान खोल्ने अधिकार राजश्व अनुसन्धानलाई मात्र भएको स्पष्ट गर्दै कानुनले दिएको हक स्थापित गर्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको भदौ महिनाको राजश्व समीक्षा बैठकमा मन्त्री कोइरालाले जाँचपासमा प्रहरी हावी भएको भन्दा पनि आफूहरु कमजोर भएको रुपमा लिएर सुधारका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले राजश्व अनुसन्धानका क्षेत्रीय कार्यालयहरुलाई प्रभावकारी भएर अघि बढाउन सुझाव दिनुभयो । राजश्वमार्फत बजेटले लिएको लक्ष्य पूरा गर्न दैनिक ५७ करोड ट्रेजरीमा जम्मा हुनुपर्ने अवस्था रहेको सम्झाउँदै उहाँले ९९ प्रतिशतको उपलब्धिमा चित्त बुझाएर नबस्न आग्रह गर्नुभयो ।

‘ईंटा र सञ्चार उद्योगलाई करको दायरामा ल्याउन तोकिएको असोज र पुसको अवधिलाई प्रभावकारी रुपमा अघि बढाउनुस् ।’ उहाँले भन्नुभयो- ‘कात्तिकमा अघिल्लो महिनाको अवस्था सुदृढ भएको देखिनुपर्छ । तपाईंहरुको कार्य सम्पादनको मूल्यांकनको आधार भनेकै कर हो ।’

अर्थ सचिव शान्तराज सुवेदीले राम्रो काम गरेका कार्यालयहरुको कार्य सम्पादन घट्दै गएकोमा असन्तुष्टि व्यक्त गर्दै १५ वर्षभित्रै भ्याटको अवस्था कमजोर देखिनु यसको जन्मदाताहरुका लागि सुखद खबर नभएको अनुभव सुनाउनु भयो ।

अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव राजन खनालले यस वर्षको राजस्वको लक्ष्य हासिल गर्न सवै विभागहरुले मासिक कार्ययोजना अनुरुप कार्यसम्पादन गरी त्यसको नियमित अनुगमन गर्न सुझाव दिनुभयो ।

सो अवसरमा राजश्वसँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरुले प्रगति विवरण र रणनीतिक योजना प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment