Comments Add Comment

गुल्मी : दसैंमा ७५ करोड रेमिटान्स

गुल्मी । दसैंको लागि विदेशमा रहेका नेपालीले घरमा पैसा पठाउने क्रम बढेपछि पछिल्लो तीन सातामै गुल्मी जिल्लामा ६३ करोडभन्दा बढी रेमिटान्स भित्रिएको छ ।

१ असोजदेखि २१ गतेसम्म विभिन्न्ा बैंक एवं रेमिटान्स एजेन्टहरुले ६३ करोड ५२ लाख २० हजार रुपैयाँ रेमिटान्स गुल्मी भित्राएका हुन् । गत दसैंको तुलनामा यस पालि करिब १२ करोड अर्थात २१ प्रतिशतले रेमिटान्स आप्रवाह बढेको छ । गत वर्ष दसैंमा करिब ५१ करोड भित्रिएको थियो ।

remitance

जिल्लाको सबैभन्दा ठूलो वित्तीय संस्था शाइन रेसुङ्गा विकास बैंकमार्फत् दैनिक एक करोडभन्दा बढी रेमिटान्स भित्रिएको छ । २१ दिनको अन्तरालमा २९ करोड ३५ लाख रेमिटान्स भित्रिएको गुल्मी शाखा प्रमुख लालमणि पन्थीले जानकारी दिनुभयो ।

दसैंको अवधिसम्म करिब ३५ करोड रेमिटान्स आउने अनुमान बैंकले गरेको छ । यस आधारमा दसैंको एक महिनामा मात्र करिब ७५ करोड रेमिटान्स भित्रने देखिन्छ । हिजो र आज पनि यही गतिमा रेमिटान्स थपिएको र अरु केही दिन क्रम जारी रहने बैंकरुले बताएका छन् ।

तम्घासमा रेमिटान्स कारोबार गर्ने पुरानो कम्पनी सेन्चुरी मनी ट्रान्सफर सेन्टरले उक्त अवधिमा ९ करोड रेमिटान्स भित्राएको सञ्चलक तेजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बैंक अफ काठमाण्डूको तम्घास शाखाले १ करोड ६५ लाख ६६ हजार रुपैयाँ भित्राएको शाखा प्रबन्धक विमल श्रेष्ठले जानकारी दिनुभयो । हिमाल रेमिटान्स तम्घासमा २ करोड २६ लाख ५९ हजार रुपैयाँ भित्रिएको प्रबन्धक एमकला पाण्डेले जानकारी गराउनुभयो ।

भृकुटी विकास बैंकले २ करोड १६ लाख भित्राएको शाखा प्रबन्धक भुवन पाण्डेले जानकारी दिनुभयो । एसबिआई बैंकले करिब १ करोड भित्राएको शाखा प्रमुख सुदीप खड्काले जानकारी दिनुभयो ।

काष्ठमण्डप डेभलपमेण्ड बैंक रिडी शाखामा ३ करोड ७५ लाख भित्रिएको शाखा प्रबन्धक सन्तोराज रायमाझीले जानकारी दिनुभयो । फेवा फाइनान्समा ८० लाख भित्रिएको प्रबन्धक सुरेश बस्नेतले जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैक गुल्मी शाखामा मात्रै चालू महिनामा १० लाख रेमिटान्स भित्रिएको बैंकले जनाएको छ ।

शाइन रेसुङ्ग बैंकको तम्घास शाखाले ९ करोड १६ लाख रेमिटान्स भित्राएको छ । उक्त शाखाले गत भाद्र महिनामा १० करोडभन्दा बढी रेमिटान्स भित्राएको थियो । त्यस शाखामा गत आइतबार एकै दिन झण्डै एक करोड भित्रिएको छ ।

त्यस्तै, शाइनको मजुवा शाखामा ३ करोड ५० लाख रुपैयाँ र खैरेनी शाखामा २ करोड ५६ लाख, वामी टक्सार शाखामा ३ करोड ५७ लाख, शान्तिपुर शाखामा ३ करोड ५१ लाख, सिमलटारी शाखामा २ करोड ८० लाख र बलेटक्सार शाखामा ५ करोड २५ लाख रुपैयाँ आएको छ ।

ग्लोबल आईएमई बैंक तम्घास शाखाबाट साढे ९ लाख र वामी टक्सार शाखा र मजुवा शाखाबाट साढे ३ लाखका दरले कूल १६ लाख भित्राएको कर्जा अधिकृत योगेन्द्र रायमाझीले जानकारी गराउनुभयो ।

रेमिटान्सको कूल तथ्यांकलाई सामान्यीकरण गर्दा ७९ गाविस रहेको यस जिल्लामा प्रतिगाविस एक महिनामा झण्डै १ करोड रकम भित्रिएको छ । जबकि सरकारले प्रति गाविस वाषिर्क २० लाख रुपैयाँ दिने गरेको छ । यस हिसाबले रेमिटान्सको केही अंश विकास कार्यमा लगानी भए पनि ठूलो प्रभाव पर्ने देखिन्छ ।

रेमिटान्स उचित सदुपयोग हुन नसकेकोप्रति जिल्लामा चिन्ता व्यक्त गरिएको छ । श्रीमती, छोराछोरीलाई सहरमा डेरा गरेर राख्ने, एउटै परिवारमा १० वटासम्म मोबाइल किन्ने, त्यसको दैनिक रिचार्ज कार्ड खर्च गर्ने, जाँड रक्सी, खसी बोका र लवाइखवाइमै बढी खर्च गर्ने प्रवृत्ति देखिएको भन्दै वुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

‘फजुल खर्चविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके राज्यले होइन, वैदेशिक रोजगारले यो जिल्लाको विकासमा कायापलट हुन सक्छ’, उनीहरुको धारणा छ । वैदेशिक रोजगारमा जानेले मासिक ५ सय रुपैयाँका दरले कुनै वित्तीय संस्थामा जम्मा गरिदिन सकेमात्र सरकारको मुख नताकी यहाँ रहेका बेरोजगार युवालाई स्वरोजगार बनाउन सकिने विश्लेषकहरु बताउँछन् ।

प्रेम सुनार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment