Comments Add Comment

चित्र कोर्दै, देश चिनाउँदै

१२ चैत, चितवन । सौराहाको गैंडाचोकमा प्रायः पर्यटकहरूको बाक्लो चहलपहल हुने गर्दछ । त्यही चोक नजिक क्रिएटिभ आर्ट ग्यालरी छ । दिनभर एक अधबैंशे युवा निकै मेहनतपूर्वक एकाग्रह भएर क्यान्भासमा रंग पोतिरहेको भेटिन्छन् ।

कुनै चित्र जन्मिसकेका त कुनै चित्र जन्मिन तयार भएजस्तै लाग्छ । नेपाली मौलिक संस्कृति र हिमालका आकृतिहरू झल्किने दृश्य र मुहार चित्रहरू भित्ताभरी टाँगिएका छन् । चित्र हेर्न वा किन्न आउने व्यक्तिले सहजै पहिचान गर्न सक्छ, चित्रकारको रुचि कतातिर ढल्किएको छ भन्ने कुरा ।

चितवनको माडीमा कल्याणपुरमा जन्मिएका ३७ वर्षीय दामोदर बराल (डी बराल), सौराहामा चित्र कोर्दै देश चिनाइरहेका छन् ।  सफारी पर्यटनको आनन्द लिन सौराहा आउने पर्यटकहरु बरालका चित्रहरुबाट लोभिन्छन् नै नेपाल र नेपाली संस्कृतिबारे पनि जानकारी पाउँछन् ।

चित्रकार बराललाई जंगली जनावरको भन्दा बढी नेपाली संस्कृती र रहनसहनको चित्र कोर्न रुचि लाग्छ । बराल भन्छन्, ‘नेपाली हिमश्रृंखला, जातजातिहरूको संस्कृती र परम्परा झल्काउने चित्रहरुबाट पर्यटकहरु खुसी हुँदा मलाई समेत गर्व लाग्छ ।’

दृश्य र मुहार चित्रमा उनको विषेश रुचि छ । विपन्न गाउँघर र परिवारको परिवेशलाई टपक्कै टिपेर क्यानभासमा दुरुस्तै उतार्न सक्ने खुबी उनीभित्र छ । उनको ग्यालरीमा सगरमाथा, माछापुच्छे्र, अन्नपूर्ण, लगायतका मनमोहक हिमालका चित्रहरू छन् । ति चित्रहरु हेर्दा जो कसैलाई पनि साँच्चिकै हिमाल देखेजस्तै लाग्छ ।

विदेशीले दृश्यचित्र र संस्कृति झल्कने चित्र बढी मन पराउँछन् । नेपालीहरुले यस्ता चित्र मन पराउने उनको अनुभव छ । विषेश गरी विदेशमा बसेर स्वदेश फर्किएकाहरूले बढी मात्रामा चित्र किन्ने गरेको अनुभव बरालले सुनाए । एउटा चित्र सामान्यतया १ हजारदेखि १ लाख रुपैयाँसम्म बिक्री हुने गरेको छ । एउटा चित्र बनाउन ३ घन्टादेखि १ सातासम्म लाग्छ । दुई बाई चार फिटको चित्र उनले एकदिनमा नै सक्ने गरेका छन् । उनलाई अन्य केही साथीहरूले पनि सघाउँछन् । ‘चित्र बनाउन निकै मेहनत गर्नुपर्दछ,’ उनले भने, ‘बनेको चित्र बिक्री नहोला भन्ने चिन्ता छैन, मेहनत खेर जाँदैन ।’

चित्रबाटै नाम र दाम

अहिले उनलाई चित्र बनाउन भ्याइनभ्याई छ । बिहान उठेदेखि दिउँसो अबेरसम्म उनी चित्र बनाउन व्यस्त हुन्छन् । अहिलेसम्म १५ हजारभन्दा बढी रंगिन चित्र बनाइसकेको र औसत महिनाको १ लाख जतिको चित्र बेच्ने गरेको उनी बताउँछन् ।

‘पहिला-पहिला चित्र बनाएर जीवन धान्न सकिँदैन की भन्ने लाग्थ्यो, तर पछिल्लो समयमा भने जीविकोपार्जन गर्न सकिने रहेछ भन्ने लागेको छ,’ उनले भने । चित्र बनाएर बेचेर एक जनाको परिवार सजिलैसँग चलाउन सकिने उनी बताउँछन् ।

२०५६ सालबाट ब्यवसायिक चित्रकलामा होमिएका बरालले १९ वर्ष यसमा नै बिताएका छन् । चित्रकारिताबाट कमाएको पैसाले उनले माडीमै साढे तीन बिघा जग्गा किनेर माछापालन गरेका छन् ।

बरालले नेपाल ललितकला क्याम्पसबाट चित्रकला सम्बन्धी प्रवीणता प्रमाणपत्र तहसम्म उत्तीर्ण गरेका छन् । केही समय चित्रकलाका बारेमा सिक्न पोखरास्थित वरिष्ठ कार्टुनिस्ट तथा चित्रकार दुर्गा बराल ‘वात्सायन’ सँग पुगे । पोखरामा दुई महिनासम्म चित्र बनाउने कला सिके । केही समय पर्यटकको बढी चहलपहल हुने काठमाडौंको ठमेलमा बसेर आफ्नो प्रतिभा चित्रमार्फत् देखाउने काम गरे ।

‘ठमेलमा झन्डै ८ वर्ष विताएपछि उनलाई आफ्नै जिल्ला फर्किने र जिल्लामा नै बसेर केही गर्ने सोच पलायो,’ उनले भने, ‘त्यही भएर पर्यटक आगमन बढी हुने सौराहा मेरो रोजाइमा पर्‍यो ।’

सौराहा घरपायक भयो । भरतपुर महानगरपालिका वडा नम्बर १० मा उनको स्थायी घर छ ।

बालुवामा बाल्यकाल

सानैदेखि चित्र बनाउन रमाउने डी बराललाई कहिलेबाट आफू यसतर्फ लागेँ भन्ने एकिन जानकारी छैन । उनले थाहा पाउँदा रुचि चित्र बनाउनेमै थियो । सानोमा अन्य साथीभाइसँग गोठालो जाँदा उनी खोला किनारको बालुवा होस् या माटो त्यहाँ बिभिन्न आकृतीहरू कोर्दथे । एकान्तमा बस्न रुचाउने उनको स्वभाव थियो । एकान्तमा बसेर चित्र बनाइरहने उनको बानीका कारण त्यति धेरै साथी पनि छैनन् । विद्यालय पढ्दा उनले शिक्षकहरूको गाली खुबै खान्थे । पिटाइ पनि खाए । तर, त्यसले उनको चित्रकार बन्ने सपनालाई छेक्न सकेन ।

२०३८ सालमा जन्मिएका बरालको परिवार मध्यमवर्गीय छ । उनको बुवा शिवकुमार शिक्षण पेशामा आवद्ध थिए । स्थानीय जनकल्याण मा.वि.बाट बरालले एस.एल.सी. पास गरे । उनको ध्यान पढ्नमा भन्दा बढी चित्र बनाउनेमा हुन्थ्यो । परिवारले समेत आफ्नो रुचि अनुसारको नै काम गर्न छाडिदिए ।

‘कुनै दबाव र तनाव झेल्नु परेन,’ उनले विगत सम्झिए, ‘विद्यालय पढ्दादेखि नै चित्र बनाउँथें । साथीभाइ सबैले राम्रो छ भनेर हौसला दिन्थे । यही क्षेत्रमा लाग्ने सल्लाह दिन्थे । सबैको सल्लाहमा म यहीँ क्षेत्रमा लागेँ ।’
भगवानमा विश्वास गर्ने डी बरालको जीविकोपार्जनको मुख्य आधार नै अहिले चित्रकला बनेको छ । ‘चित्र बनाउने विषय कलासँग जोडिएको हुन्छ,’ बरालले भने, ‘यो भगवानले नै दिएर पठाएको हुन्छ, त्यसमा साधना र मेहनत भने पक्कै पनि चाहिन्छ, दुःख नगरी त हुँदैन ।’

यसअघि पर्खालहरुमा सुन्दर चित्र कोरेर चितवनका शहरको सौन्दर्य बढाउने अक्षर समूहको अभियानमा पनि उनको सक्रिय सहभागीता थियो । ‘बाँकी जीवन पनि चित्र कोरेरै बिताउने योजना छ,’ उनी भन्छन् ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट

अन्तर्राष्ट्रियस्तरका चित्रकारबीच अनलाइन प्रतिस्पर्धामा नेपालबाट उत्कृष्ट दुई जनाको सूचीमा डी बराल पनि समेटिए । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनमा भएको ‘इन्टरनेसनल वाटरकलर अनलाइन कन्टेस्ट’ मा २२ देशका ४ सय चित्रकार सहभागी थिए । बरालले बनाएको पोखराको रमणीय चित्र उत्कृष्टको सूचीमा परेको थियो ।

बरालले थुप्रै सम्मान र पुरस्कार समेत पाएका छन् । थाइल्यान्ड, कोरिया, जापान, सिक्किममा आयोजना गरिएका चित्रकला प्रदर्शनीमा पनि सहभागिता जनाएका छन् । कलासम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा गतिविधि गर्न सकिए नेपाली र विदेशी चित्रकारबीच अनुभव साटासाट गर्ने अवसर मिल्ने उनी बताउँछन् ।

प्रतियोगितामा भाग लिन रुचि नलाग्ने बताउने बरालले तत्काल यूरोपमा चित्रकला प्रदर्शनी गर्ने योजना बनाइरहेका छन् । त्यहाँ रहेका नेपालीहरुले प्रदर्शनीको चाँजोपाँजो मिलाइरहेको बरालले जानकारी दिए । उनले भने, ‘युरोपमा पुगेर नेपाल र नेपाली सम्पदाहरुको पहिचान गराउने धोको छ । प्रदर्शनीमा ३५ देखि ४० वटा तस्वीर राख्ने योजनाअनुसार तयारी गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment