
एउटा अन्तर्वार्तामा राजावादी बनेका स्वागत नेपालले प्रश्नकर्ताको उत्तर दिने क्रममा ‘पारस शाह राजा हुन एकदमै लायक छन्, राजा हुन लायक नहुने के कारण देख्नुभयो ?’ भनेर उल्टै प्रश्न गरे । पूर्व युवराज पारस शाहका बारेमा मैले केही भनिरहनुपर्दैन । उहाँको नदेखिएको र थाहा नपाएको पाटो के के छन् भनेर खोज्नु पनि पर्दैन जति देखिएको छ, जति कुरा सार्वजनिक भएका छन् ती नै पर्याप्त छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह ‘टेस्टेड’ राजा हुन् । २०/२५ वर्षमाथिका सबै नेपालीले उनको शासन देखेका र भोगेका छन् । उनी अधिराजकुमार हुँदा देशमा कस्तो कस्तो उपद्रो मच्चाएका थिए त्यसको त्यसबेलै पनि धेरै कुराको पर्दाफास भएको थियो । सार्वजनिक हुन बाँकी कति कुरा क्रमशः बाहिर आउँदै छन् ।
त्यस मध्येको एक स्वीस घडी कम्पनीले नेपालमा कारखाना खोल्न आउँदा उनै ज्ञानेन्द्रले निःशुल्क पचास प्रतिशतको सेयर आफ्ना लागि मागेका कारण फिर्ता भएको कुरा उनकै विश्वासपात्र तत्कालीन पञ्चायतका हस्ती नवराज सुवेदीले आफ्नो पुस्तकमा लेखे र त्यसलाई भर्खरै अन्तर्वार्ताको क्रममा पुष्टि पनि गरे ।
त्यस्तै अर्को एक घटना उनको नेपालमा पानीजहाज कम्पनी खोल्ने कुरामा देखिएको कुरा डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र’ नामक पुस्तकमा उल्लेख छ । त्यसमा एउटा अफ्रिकन मुलुकमा बदनाम भएको, कुख्यात इदि अमिनले पनि नपत्याएको कम्पनीलाई ज्ञानेन्द्रको साझेदारीमा नेपालमा खोल्न अनुमति दिने र त्यसको लागि नेपाल सरकारले त्यस बेलाको ६० करोड बराबरीको जमानत बस्नुपर्ने गरी प्रस्ताव सरकारमा पठाएछन् ।
त्यसका लागि अर्थ मन्त्रालयको राय माग्दा डा. भेषबहादुर थापाले जिम्मेवारीका हिसाबले त्यसलाई रोकेपछि ठूलै दबाब दिएको उल्लेख गरेका छन् । त्यहीदेखि ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको कुरा उल्लेख छ । यी केही उदाहरण मात्र हुन् । यस्ता हर्कत कति भए कति ! देशलाई आर्थिक, राजनीतिक, सामाजिक हरेक क्षेत्रमा बर्बाद गर्ने र आफ्नो स्वार्थमा प्रयोग गर्ने काम उनीबाट पटक–पटक भएको कुरा कसैबाट लुकेको छैन ।
केही अलि भद्र राजावादीहरू ‘बेबी किङ’को कुरा पनि गर्छन् र भन्छन्– ‘राजा र राजसंस्था भनेको व्यक्ति होइन संस्था हो ।’ यदि राजा भनेको व्यक्ति होइन संस्था हो भने बेबी किङको कुरा किन गर्नु ? रोलक्रम अनुसार ८० वर्ष पुग्न लागेका ज्ञानेन्द्र, त्यसपछि पारस हुँदै पारसका छोरा हृदयेन्द्रमा आउनु पर्यो ।
हृदयेन्द्र कथंकदाचित राजा नै भएछन् भने उनको आडमा दरबारका मानिस (ज्ञानेन्द्र, पारस लगायत) चुप लागेर बस्छन् ? यस्तो कल्पना गर्न सकिन्छ ? हृदयेन्द्रमा राजकाजको अनुभव र देशको नेता हुने चाहना, सोच, आचरण, ज्ञान, बुद्धि, कौशलता, क्षमता छ भनेर विश्वस्त हुने आधार केही छन् ? कसैले भन्न सक्छ ? कि लहडमा हुन्छ । कि एक्काइसौं शताब्दीका कुनै चमत्कार, जादुमयी आविष्कार भएको छ वा हुन्छ भनेर मान्ने ?
जहाँसम्म राजाको पक्षमा पनि धेरै मानिस, गतिला मानिस लागेका छन् भन्ने लागेको हुन सक्छ । यसमा धरातलीय यथार्थ यस्तो छ । पञ्चायती समयमा पञ्चायतको राजनीतिमा लागेका नेता र केही सीमित जनता पञ्चायत ढलेपछि राजनीतिमा कि निष्क्रिय हुनुपर्यो, कि अरू पार्टीमा प्रवेश गर्नुपर्यो कि नयाँ पार्टी खोलेर आउनु पर्यो ।
केही निष्क्रिय भए, केही अरू पार्टीमा प्रवेश गरे र केहीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नामको पार्टी खोले । पूर्व पञ्चहरू पनि एकठाउँमा आउन नसकेर, मिल्न नसकेर राप्रपा नामका दुई वटा पार्टी खोलेर आए । तिनले आफ्नो पार्टीलाई अरूभन्दा फरक देखाउन राजा सहितको प्रजातन्त्र चाहिन्छ भने । तिनलाई नेपाली मतदाताले कुन स्थान दिएका छन् त्यो सबैले देखेकै छ ।
उनको त्यो विश्वास र आस्थालाई पूरा गर्न पनि उनीहरू जनतामा जानुपर्छ । संविधान संशोधन गर्न पुग्ने दुई तिहाइ मत दुवै संसद्मा ल्याउनुपर्छ । बल्ल त्यसपछि संवैधानिक राजतन्त्रको पक्षमा प्रस्ताव ल्याउन सक्छन् । यो बाटोबाट राजसंस्था स्थापित हुने सम्भावना छँदैछैन ।
तर, केही मानिसलाई सत्तामा गएर यही जुनीमा रजगज गर्ने तीव्र्र रहर छ । राप्रपा गठन गरेर प्रक्रियामा आएका पुराना पञ्चनेताहरूले पालैपालो यही प्रक्रियामा रहेर सत्तामा पुगेको अनुभव छ । उनीहरू त्यति अराजक र उग्र छैनन् ।
तर अहिले नयाँ राजावादी दुर्गा प्रसाई, रवीन्द्र मिश्र, धवलशमशेर राणा, जगमान गुरुङ, स्वागत नेपाल, ज्ञानेन्द्र शाहीहरू जसरी पूर्वराजाका पक्षमा उग्र भएर लागे यो देखेपछि राप्रपाका नेतालाई केही छटपटी भएको छ । कतै यो राजावादी आन्दोलन आफ्नो हातबाट खोसिने त होइन भन्ने भय उनीहरूमा छ । यसमा रवीन्द्र मिश्र, धवलशमशेर राणा, ज्ञानेन्द्र शाही राप्रपाकै नेता हुन् ।
यो आन्दोलनमा सबैभन्दा धेरै गल्ती पूर्वराजा ज्ञानेन्द्रको छ । उनी कुनै बौद्धिक मानिस होइनन् । शाही परिवारमा जन्मिएर हैसियत बनाएका मात्रै हुन् । जनताको घरमा जन्मिएका भए यिनको बुद्धि र महत्त्वाकाङ्क्षा हेर्दा जीबी राईका ठाउँमा हुनेथिए जस्तो लाग्छ ।
पूर्व राजालाई भेट्न जानेहरूले उनलाई नउकास्ने कुरै भएन । ‘महाराज देश बचाउन हजुर अगाडि आइबक्सियोस्’ भनेपछि उनी फुरुक्क पर्ने भए । किनकि उनीसँग परिस्थितिको सही मूल्याङ्कन गर्ने र व्यक्तिलाई राम्ररी चिन्ने क्षमता नै छैन ।
त्यही भएर ‘ढुङ्गा हान्ने ज्योतिष पण्डित’, दुर्गा प्रसाई, स्वागत नेपाल, रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही जस्ता महत्त्वाकाङ्क्षी र अराजक मानिसको भरमा परेर ‘लौ अब बेला भयो !’ भनेर वक्तव्य निकाले । थुप्रै सोझा मानिसलाई यसले भ्रम पैदा गर्यो । ढुङ्गे ज्योतिष र अराजक दुर्गाको भर पर्नु पूर्व राजाको ठूलो भूल हो ।
मैले माथि नाम लिएका राजावादीहरू साँच्चै देशको माया लागेर, राजा र राजसंस्थाको माया लागेर राजावादी भएको भन्ने मलाई लाग्दैन । दुर्गा प्रसाई चैत १५ गते भएको आन्दोलनका कमाण्डरकै इतिहास हेरौं उनी कहिलेदेखि राजावादी भएका हुन् र किन भएका हुन् भन्नेले महत्त्व राख्छ । उनलाई राजनीतिक शक्तिको भोक जागेकाले यी हर्कत गरिरहेका थिए ।
रवीन्द्र मिश्रले विभिन्न पार्टीको नेता बन्ने र चुनाव लड्ने गरेकै हुन् । उनी सत्तामा पुग्ने छोटो बाटोको खोजीमा थिए र छन् । उनले मोलमोलाइ गरेर नै राप्रपाको उपाध्यक्ष पड्काएका हुन् । स्वागत नेपाल स्वतन्त्र भएर चुनाव लडेका हुन् । जनताले नपत्याएपछि राजावादी भए । ढुङ्गे ज्योतिषले त भने नै– ‘राप्रपाले राजा ल्याउनु र गोरु ब्याउनु उस्तै हो ।’
बंगलादेश, श्रीलंकाको घटनाले यी छोटो बाटो कुदेर सत्तामा पुग्न चाहनेलाई केही हौस्यायो । त्यही भएर यस्ता झुण्ड मिलेर कमजोर बुद्धिका ज्ञानेन्द्रलाई उचाले । उनी उचालिए । भएको यत्ति हो । अराजकता, आगजनी, लुटपाट, हत्या, तोडफोड यिनको मार्गचित्र बन्यो ।
यता सडकमा राजा ल्याउन भन्दै जनता सडकमा आए नि भन्ने लाग्छ । हो, केही मानिस राजालाई ल्याउन चाहन्छन् । तीमध्ये केहीको उद्देश्य माथिका नेतासँग मिल्छ । उनीहरू पनि सत्ताको नजिक पुग्ने छोटो बाटोको खोजीमा छन् । उनीहरूलाई यो जुनीमा नै केही रजगज गर्नु छ ।
सडकमा पोखिएका केही मानिस शून्य चेतना भएका अराजक प्रवृत्तिका, स्वार्थी छन् र हुन्छन् । यस्तो मनोवृत्ति भएका मानिस झगडा, लुटपाट, काटमार, आगजनी, अरूको नोक्सानी र पीडामा रमाइलो मान्छन् । मौका पाउने बित्तिकै आफैं सहभागी हुन जान्छन् ।
अर्को एउटा समूह पनि राजावादी भएका छन् । ती भनेका वर्तमानमा भएका मूलधारका पार्टीहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादीसँग कुनै न कुनै रूपमा असन्तुष्ट छन् । उनीहरू यी पार्टी र यसका पक्षधरसँग बदला लिन चाहन्छन् । हरेकका घटना र कारण फरक–फरक हुन सक्छन् । खोज्ने हो भने भेटिन्छ यी पार्टी र पार्टीको शासनकालमा कतै न कतै असन्तुष्टि रहेको छ ।
अर्को एउटा समूह पनि छ जुन विदेशमा पुग्यो, विदेशको विकास देख्यो । युरोप, अमेरिका, दुबई, मलेशिया, चीन, जापान, अष्ट्रेलिया, क्यानडा आदि देश देखेको छ । यस्तै विकास मेरो देशको किन भएन भन्छ र त्यसको कारण नेता र व्यवस्थामा देख्छ । वास्तवमा यसको मुख्य दोषी नेपालको राजतन्त्र हो, राजसंस्था हो ।
राणा शासनको उदय हुनु पनि राजाको कुशासनको परिणाम थियो । उसलाई ती देशको इतिहास, आफ्नो देशको इतिहास, अवस्था आदिको बारेमा जान्नु छैन जानेको छैन । एकोहोरो देश सके, भ्रष्टहरूले भन्ने राग अलापेको छ । नकारात्मक सोच बोकेको छ । भएको पनि देख्दैन, सकारात्मक सोच राख्दैन । विरोधका लागि विरोध गर्छ ।
यो समूह देश विकासका लागि कुनै नायक, महानायक, चमत्कारी युगपुरुष, जादुयी तरिका र पात्रको भ्रममा कहिले यसलाई र कहिले उसलाई नेता, मुक्तिदाता भनेर देवत्वकरण गर्छ, पुज्न पुग्छ । त्यस्तै पात्रलाई अगाडि सारेर रातारात चमत्कार भएको हेर्न चाहन्छ । यो समूह चमत्कारको खोजीमा छ र राजा वा यस्तै पात्रले देश बनाउन सक्छ भन्ने भ्रममा छ ।
राजावादी हौं भन्नेहरू यस्ता विभिन्न समूहका मानिस अति नै उग्र, अशिष्ट, अभद्र, मुखाले र गालीगलौजले भरिएका मात्रै हुन्छन् कि जस्तो लाग्न थाल्यो । यस्तालाई खुला समाज त्यति मन पर्र्दैन । मानिस स्वतन्त्र भएको त्यति मन पर्दैन ।
उनीहरूको विचारमा जन्मजात मानिस ठूलो र शासक बन्न सक्छ, जन्मजात मानिस धनी र गरिब हुन्छन् । जन्मजात मानिस ठूलो र सानो हुन्छन् । यो सबै भाग्यको खेल हो भन्ने मान्यता राख्छन् । त्यसैले जन्मजात ‘ठूला’को सम्मान गर्नुपर्छ, ठूलाले सम्मान पाउनुपर्छ, शासन गर्नु यस्ताको स्वतः अधिकार हो । ठूलाको बुद्धि, ज्ञान, जन्मजात हुन्छ भन्ने मान्यता राख्छन् ।
किसान, मजदुर सामान्य मानिस अझ तिनको परिभाषामा ‘साना जात’ त शासक हुनै सक्दैनन् । जान्ने र ठूला मानिस हुनै सक्दैनन्, ती त गालीका लागि उचित छन् भन्ने लाग्छ । यस्ता मानिसको सोचमा आफूलाई मनपर्ने कुरा मात्रै सुन्ने बानी छ । अरूले राम्रो गर्न सक्छन् भन्ने नै लाग्दैन ।
त्यसैले अहिलेका राजावादी हौं भन्नेहरू कहिले प्रकाश सपुत त कहिले सुरक्षा पन्थप्रति अभद्र तरिकाले खनिन्छन् । राजनीतिमा केपी ओली, प्रचण्ड प्रति सदाबहार गाली बर्साउँछन् । मेरो यो लेख तिनले पढे भने तिनले मलाई पनि अलिअलि गाली गर्नेछन् ।
राजावादीहरूले सामाजिक सञ्जालमा राजा ल्याउने भ्रम खुब बाँड्दैछन् । नक्कली नाममा एकाउन्ट खोल्ने, एउटैले पाँच–दश वटा एकाउन्ट चलाउने, अधिक समय सामाजिक सञ्जालमा गाली गर्नु यिनीहरूको मुख्य काम जस्तै भएको छ ।
त्यति मात्रै होइन सामाजिक सञ्जालमा अनेक भ्रमपूर्ण समाचार पस्कनु यिनको काम भएको छ । एक्काइसौं शताब्दीमा पनि यति मन्द र उल्टो बुद्धिका मनुवा कसरी बन्न सके । यी कुन धातुबाट बनेका छन् जस्तो लाग्छ ।
प्रतिक्रिया 4