Comments Add Comment

प्रचण्डलाई ‘फेलियर’ बनाउन विनालाई सारिएको हो

अञ्जना बिशंखे, केन्द्रीय सदस्य, एमाओवादी

पुरुषलाई बेइमान हुन उत्प्रेरित गर्ने महिलाहरु नै हुन् । झन् आफूलाई सक्षम छु भन्ने महिलाहरु किन स्वास्नी भएका पुरुषहरुसँग लाग्छन् ?’ एमाओवादी केन्द्रीय सदस्य अञ्जना बिशंखेले आफ्नो पार्टीले विवादास्पद छवि भएकी विना मगरलाई कञ्चनपुर-१ बाट संविधानसभाको उम्मेवार बनाएकोमा तीव्र असहमति जनाउँदै अनलाइनखबरसँग भन्नुभयो- ‘विना मगरले जितेर संविधानसभामा गइन् भने महिलाको सन्दर्भमा के भन्छिन् ? के लेख्छिन् ? तिनले महिलालाई विशेष अधिकार दिने हो कि खोस्ने ?’

Anjana-bishankhe

तपाई महिला आन्दोलनका विषयमा बोल्ने र लेख्ने महिला नेतृ हुनुहुन्छ, विवादास्पद छवि भएकी विना मगरलाई कञ्चनपुर १ बाट एमाओवादीले संविधानसभाको उम्मेद्वार बनाएको छ, यस विषयमा तपाई के भन्नुहुन्छ ? महिला अधिकारको दृष्टिले के यो जायज कदम हो ?

– विना मगरको विषय पार्टीको विषय बन्यो । त्यसैले यसबारे हामीले बोल्नैपर्ने भयो, नत्रभने विना मगरसँगको सन्दर्भमा केही बोल्नुपर्ने थिएन । पहिलो कुरा के हो भने विना मगरको इस्यु नितान्त व्यक्तिगत हो भन्ने स्थिति अब रहेन ।

म महिला आन्दोलनमा लागे पनि पुरातनवादी महिला नेतृ होइन । अखिल नेपाल महिलासंघ क्रान्तिकारीले पुँजीवाद भन्दा पनि माथिको साम्यवादसम्मको सोचाइ राख्छ । यसको इतिहासै समाजवादसँग जोडिएको छ । हाम्रो उद्देश्य हिन्दू परम्परालाई मान्नुपर्छ भन्ने पनि हैन । हामी त पुँजीवादी भन्दा पनि अझ प्रगतिशील, एङ्गेल्सको भाषामा भन्ने हो भने बिहेको संस्कारलाई पनि किन मान्ने भन्ने ठाउँसम्म पुग्ने हो । तर, यो प्रश्न समाज सापेक्षतासँग जोडिन्छ । प्रश्न चेतनासँग जोडिन्छ, प्रश्न स्वतन्त्रताको विषयलाई कसरी व्याख्या गर्ने भन्ने विषयसँग जोडिन्छ ।

तर, विना मगरले त एउटा अन्तरवार्तामा यो मेरो निजी विषय हो, यसबारे नसोध्नोस् भनेकी छन् नि ?

-यो उहाँको निजी विषय होइन । स्वतन्त्रता भन्दैमा मैले गरेको गतिविधिले तेस्रो व्यक्तिलाई असर पर्छ कि पर्दैन भनेर हेर्नुपर्छ । महिला र पुरुषवीचको गतिविधिले तेस्रो व्यक्तिलाई असर गर्छ कि गर्दैन भन्ने प्रश्न प्रमुख हो ।

एकातिर वहाँहरुको कारणले एउटा बच्चा बाबु, हजुरबा र हजुरआमाबाट टाढा हुनुपरेको छ भने अर्कोतिर एउटी विवाहित महिलाले घर छाड्नु परेको छ । यसले गर्दा सिंगो वैवाहिक जीवन र परिवार धरापमा परेको छ । त्यसैले यो नितान्त व्यक्तिगत मामिला हो भनेर विनाजीले भनेको मैले अनलाइनमा पढें, तर यो निजी विषय हो भन्ने ठाउँमा चाहिँ म छैन ।

अविवाहित जोडी छन्, डिभोर्सवाला छन् अथवा एकल जोडीहरु छन् र उनीहरुवीच कुनै सम्बन्ध स्थापित भैराखेको छ भने त्यसलाई धेरै ठूलो ईस्यु बनाउनुपर्छ भन्नेमा म पनि छैन, किनभने त्यो उनीहरुको नितान्त निजी कुरा हुन्छ । र, त्यो खुलाउन चाहे खुलाउन्, खुलाउन नचाहे नखुलाउन् । तर, यही विषय सार्वजनिक स्थलमा घट्यो भने यो सार्वजनिक इस्यु बन्छ ।

कोही समाजको अगुवाइ गर्ने व्यक्ति छ भने यो एउटा सैद्धान्तिक प्रश्न बन्छ । कि उसले आफ्नो व्यवहारलाई समाजमा सिद्धान्तकै रुपमा स्थापित गराउनुपर्ने हुन्छ, हैन भने तैले यस्तो किन गरिस् भनेर समाजवाट उसलाई ठूलो चुनौती भइराख्छ ।

विना मगर भनेको त्योबेलाको अखिल क्रान्तिकारीको केन्द्रीय नेता हो, स्ववियु सभापति हो, पार्टीको राज्य कमिटीको सदस्य हो । त्यसैले उनले मेरो नितान्त कुरा भन्नका लागि कि उनले कुनै अविवाहितसँग गोप्य तरिकाले सम्बन्ध राखेको अवस्था हुनुपर्थ्यो, तर उनी आफैं पनि अविवाहित हैनन् । एउटा जनयुद्धको भट्टीबाट खारिएको मान्छेको त व्यवहार झनै संवेदनशील हुनुपर्ने हो । मलाई यस्तो लाग्छ । स्वतन्त्रता के हो, महिला आन्दोलन के हो, निजी मामिला के हो र यौन प्रेम के हो भन्ने त उनले बुझ्नुपर्ने हो । त्यसैले विनामगरको बुझाइमै गल्ती छ भन्ने मलाई लाग्छ ।

मान्छेले गल्ती गर्छ तर स्वीकार्न र सुध्रन पनि पाउनुपर्‍यो भन्ने विनाको तर्क छ……

– विना महिला नेतामात्रै होइनन्, पार्टीकै नेता भनिसकेपछि उनले आफ्नो श्रीमान शंकरसँगको सम्बन्ध के गरेकी छन् ? उनले कमजोरी गरें भनेर जोसँग सम्बन्ध स्थापित गरिन् र ६ महिना कारवाही पनि भोगें भनिन्, उनले के गल्ती गरेकी थिइन् र गल्ती गरें भनेर कारवाही भोगिन् ? के गल्तीका लागि विनालाई कारवाही भयो र अहिले के निकास निस्किएर उनी फुकुवा भइन् त ? मैले त यसको छेऊ टुप्पो पनि भेट्टाइँन ।

तपाईको भनाइ विना पूर्वपतिसँगै छिन् या प्रचण्डपुत्र प्रकाशसँग छिन् या एकल अवस्थामा छिन् भन्ने स्पष्ट हुनुपर्छ भन्न खोज्नुभएको हो ?

– म यो कुरा बुझ्छु कि जोसँग प्रेम हुन्छ, उसैसँग सम्बन्ध स्थापित हुनुपर्छ । यो यति जनासँग, एउटासँग या दुईवटासँग भन्ने छैन । मेरो मान्यता पहिलो, दोस्रो भन्ने पनि छैन । तर, यसमा पनि त नम्र्स हुन्छ । कुनै विवाहित मान्छेसँग सम्बन्ध स्थापित गर्दाखेरि त्यो विवाहित मान्छेले उसको पारिवारिक सम्बन्ध, श्रीमतीसँगको सम्बन्धमा ब्रेक लिएको छ कि छैन ? एउटी क्रान्तिकारी महिलाले यो बुझ्न जरुरी छैन ?

विनाले गल्ती भयो भनिसकेपछि भीरबाट धकेल्न खोजियो रे त ?

– ल कमजोरी भयो रे, उनले कारवाही पनि भोग्नुभयो । आफ्नो श्रीमान हुँदाहुँदै दोस्रो पुरुषसँग अर्की श्रीमती हुँदाहुँदै सम्बन्ध राख्दाखेरि ल कारवाही पनि भोगिन् रे, तर अहिले के हो त ?

तपाई महिलालाई मात्रै दोष दिइरहनुभएको छ नि ?

– पुरुषलाई बेइमान हुन उत्प्रेरित गर्ने महिलाहरु नै हुन् । ‘वेश्या’हरु भएका ठाउँमा पुरुष नगई महिला ‘वेश्या’ हुँदैनन् भन्ने गरिन्छ, म यही तर्क महिलाहरुको हकमा पनि गर्न चान्छु । किनभने म नारीवादी हैन । यदि कुनै पुरुष जो विवाहित छ, त्यस्तो पुरुषलाई महिलाले बहिस्कार गर्दिने हो भने त्यो पुरुषले अनैतिक व्यवहार गर्नै पाउने थिएन । समाजमा पितृस तात्मक सोच पुरुषमा भन्दा महिलामा बढी हुन्छ भन्ने प्रमाण हो यो । लोग्ने मान्छेले जतिवटी ल्याएको भए पनि हामीलाई के मतलव भनेर जतिवटा ल्याउने लोग्नेमान्छेसँग पछि लागेर हिँड्ने आइमाईहरुप्रति मेरो घृणा नै छ । झन् आफूलाई सक्षम छु भन्ने महिलाहरु किन स्वास्नी भएकासँग लाग्छन् ? योजस्तो घृणित कुरा त अरु केही पनि हैन नि ।

गल्ती गरेपछि भीरबाट धकेल्ने ?

– गल्ती त हुन्छ तर कुन स्तरको गल्ती भन्ने कुरा मुख्य हो । गल्तीको पनि स्तर हुन्छ । गल्ती हो भने विनालेे गल्ती गरेकी थिइन्, मलाई नै थाहा भएन क्या । आफ्नो श्रीमा हुँदाहुँदै शारीरिक सम्पर्क गरेर केही दिन प्रकाश दाहालसँग बसेको कारणले मेरो गल्ती भयो, म पूर्वश्रीमानसँग फर्किएँ, मलाई माफी देऊ भनेको हो कि ? त्यसो हो भने प्रकाशसँग केही सम्बन्ध केही पनि छैन, प्रकाशकी प्रेमिका पनि हैन, प्रकाशकी श्रीमती पनि हैन भनेर सार्वजनिक गर्नुपर्यो । र, सिर्जना त्रिपाठीसँग सोधिनुपर्‍यो कि केही महिना विनासँग बसिसकेका प्रकाशलाई अब सिर्जनाले अपनाउने कि नअपनाउने ? यो कुरा सार्वजनिक हुनुपर्‍यो । सिर्जना डिभोर्सको प्रक्रियामा गइन् भने प्रकाशले विनालाई पनि ल्याउन सक्छन्, अरु जो कोहीलाई पनि ल्याउन सक्छन् ।

सिर्जना त्रिपाठीले तिमीहरुको कमजोरीलाई माफ गरें भनिन् भने विना अलग हुन्छिन् । जसरी पम्फा भुसाल बादलबाट अलग हुनुभयो । नैनकलाले बादललाई स्वीकार गर्दिनुभयो र त्यसपछि पम्फा अलग हुनुभयो । कुरा एकदम क्लियर छ ।

भनेपछि विना र प्रकाशको सम्बन्ध बादल र पम्फाको जस्तै हो या हैन भन्ने प्रष्ट हुनुपर्‍यो भन्न खोज्नुभएको हो ?

– हो, कि बादल र पम्फाको जस्तो हुनुपर्‍यो, कि मेरो र आहुतीको जस्तो हुनुपर्‍यो । आहुती र बुद्धलक्ष्मी त्यसरी नै बसे । मलाई पार्टीबाट के गर्छेस् भनेर सोधनी भयो । मैले आहुतीलाई सोधें, तिमीहरुको प्रेम सम्बन्ध हो कि आवेग हो भनेर सोधें । आवेगले हो भने महिलाले पनि माफ दिनुपर्छ, पुरुषले पनि माफ दिनुपर्छ भन्ने मेरो धारणा हो । तर, सचेततापूर्वक गरिएको मलाई भान भयो । आहुतीको मसँगको सम्बन्धचाँहि अनुचित रहेछ, बुद्धलक्ष्मीसँग प्रेम सम्बन्ध रहेछ, त्यसकारण मैले सम्बन्ध विच्छेद गरें त्यसपछि आहुतीले एकाध वर्षपछि बुद्धलक्ष्मीसँग सार्वजनिक ढंगले बिहे गरे । यसो गरेपछि क्लियर भयो । आहुतीले दुई वर्ष कारवाही भोगे । बुद्धलक्ष्मीले ४ वर्ष कारवाही खेपिन् । अहिले प्रकाश र विनालेजस्तो ६ महिना होइन । तर, महिलाहरुको मन कहिल्यै पनि बुद्धलक्ष्मीसँग भएन । अर्काको श्रीमान्सँग जानीजानी सम्बन्ध स्थापित गर्नु भनेको देखादेखी मूर्खतापूर्ण कुरा हो । अर्काको श्रीमान्सँग देखादेखी सम्बन्ध राख्ने महिलाले कसरी आन्दोलनको नेतृत्व गर्छे ? के विना मगरको केस अर्कै हो र ? उनी आकाशबाट खसेकी परी त हैनन् होला । जे पायो त्यही गर्न पाइन्छ भनेर ब्याज खान जनयुद्धमा त हिँडेको होइन होला ।

विनाले जवाफ दिनुपर्छ कि केही दिन प्रकाशसँग घुमेर आएँ, त्यो मेरो भूल थियो, अहिले मेरो सम्बन्ध छैन । होइन भने उनले आफ्नो श्रीमानबाट सम्बन्ध विच्छेद गरेर प्रकाशलाई श्रीमान बनाएकी छु भन्नु पर्‍यो । कि त सिर्जनालाई प्रचण्ड निवास छिराउन सक्नुपर्यो । जनतालाई गुमराहमा राख्न पाइँदैन ।

उसोभए विना मगरले संविधानसभामा जान उपयुक्त हुँदैन भन्न खोज्नुभएको हो ?

– विना मगरले जितेर संविधानसभामा गइन् भने महिलाको सन्दर्भमा के भन्छिन् ? के लेख्छिन् ? तिनले महिलालाई विशेष अधिकार खोस्ने हो कि दिने हो ? मेरो प्रश्न यहाँनेर छ । विनाजीको कारणले सिंगो माओवादी पार्टीमा महिलाहरुले उठाएको इस्युमाथि हास्यास्पद ढंगले प्रहार भएको छ ।

प्रचण्डबाटै यस्तो भएको हो कि ?

– मलाई निश्चित मान्छेहरुको ग्राइण्ड डिजाइनमा प्रचण्डलाई फेलियर बनाउन खोजिएको हो कि जस्तो मलाई लाग्छ । यो केसमा प्रचण्डजीलाई अनावश्यकरुपमा मुछ्नु हुँदैन । म त विनाको सिफारिस तलबाट कसले ल्यायो त्यसले जवाफ दिनुपर्छ भन्छु । तलबाट सिफारिस आएका आधारमा मात्रै माथि छलफल गरिएको छ, यसमा प्रचण्डजीलाई होम्न हुन्छ ? प्रचण्ड भनेको कुनै एकजनाको बाबु होइन । प्रचण्डजीलाई मैले राम्रोसित चिनेकी छु, बुझेकी छु, विनाको केसमा प्रचण्डजीको कुनै भूमिका छैन ।

तपाईले यसरी बोलिरहँदा पार्टीबाट कारवाही होला नि ?

– यस्तो हुनै सक्दैन । मैले सिंगै पार्टी र क्रान्तिकारी महिला आन्दोलनको फाइदाको निम्ति पार्टीले अहिलेसम्म लिँदै आएको नीति र दृष्टिकोणका आधारमा बोलिरहेकी हुँ । यो पार्टी लाइनविरोधी कुरा होइन । र, यसले पार्टीलाई बेफाइदा हैन, फाइदा पुग्छ ।

यसपालि दलहरुले उम्मेद्वारी दिँदा महिलालाई कत्ति सन्तुष्ट बनाएका छन् ?

– महिलाको प्रतिनिधित्व त्यति सन्तुष्ट हुने गरी छैन । तर, अन्य दलको भन्दा माओवादीको बढी नै छ । मधेसवादी दलहरुले महिला बढी उठाएका रहेछन्, त्यसपछि हाम्रो छ । तर, सन्तुष्टि हुने ठाउँचाहिँ छैन । प्रत्यक्षतर्फ हाम्रो पार्टीमा महिलाहरु १०/११ प्रतिशतको हाराहारीमा छन् । समानुपातिकमा आधा महिला हुन्छन्, प्रत्यक्षमा ७/७ प्रतिशत महिलाले जिते भनेमात्रै ३३ प्रतिशत पुग्छ । उठाएकै १०/११ प्रतिशत भएपछि ७ प्रतिशतले जित्छन् भन्ने के ग्यारेन्टी ? २० प्रतिशत उठाइदिएको भए हुन्थ्यो ।

दलित महिलाको प्रतिनिधित्व कस्तो छ ?

– दूर्गाकुमारी विकले विगतमा पोखरामा जित्नुभएकै हो, तर जितेकोलाई पनि हटाएर पुरुषलाई राखिदिनुभयो । जितिसकेको दलित महिलालाई फेरि कसरी जिताउने भन्ने योजना बन्न सकेन । उत्पीडित वर्गको पार्टीभित्र तलदेखि माथिसम्म पहुँच कम हुन्छ । युद्ध र संघर्षको बेलामा मात्रै रहेछ उत्पीडित वर्ग अगाडि बढ्ने । अवसरको बेलामा उत्पीडित समुदाय सधैं पछि पर्छ । यो क्रम हटिदिएको भए हुन्थ्यो, हटिसकेको छैन । यस्तो सबै दलमा छ । हाम्रोमा बरु कम छ, अरुकोमा त झनै बेहाल देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment