Comments Add Comment

बल्खुमा माधव र ईश्वरविरुद्ध केपी ओलीको उजुरी

३ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र समानुपातिक तर्फको बन्दसूचीको विषयलाई लिएर विवाद चर्किएको छ । बन्दसूचीमा नेता माधव नेपाल र महासचिव ईश्वर पोखरेलले मनोमानी ढंगबाट १ सय ३ जना आफ्ना मान्छे घुसाएको भन्दै नेता केपी ओलीले शनिबार बल्खुमा ४ बुँदे पत्र बुझाउनुभएको छ । उता काभ्रे जिल्ला कमिटीले समानुपातिकको सूची नसच्याए समानुपातिकतर्फ मतदान नगर्ने चेतावनी दिएको छ ।

Kp oliकेपी ओलीले पार्टी अध्यक्ष खनाललाई बुझाउनुभएको चारबुँदे विरोधपत्रमा निर्वाचन आयोगलाई बुझाइएको समानुपातिकतर्फको बन्दसूची सच्याउन माग गरिएको छ । आयोगमा पठाइएको बन्दसूची ६ गते सार्वजनिक हुने भएकाले त्यसलाई फेरबदल गर्ने अन्तिम अवसर पर्सिसम्म मात्र छ । नेपाल केपी ओलीले समानुपातिकको सूची सच्याउनका लागि तत्काल स्थायी समितिको बैठक बोलाउन खनालसँग लिखित माग गर्नुभएको एमाले स्रोतले बतायो ।

के हो विवाद ?

एमाले स्रोतका अनुसार पिछडिएको क्षेत्रका लागि ८ जना उम्मेद्वारको प्राविधिक तालमेल मिलाउन निर्वाचन आयोगले भनेको थियो । यसका लागि महासचिव ईश्वर पोखरेल र माधव नेपालले जिम्मेवारी सम्हाल्नुभएको थियो । तर, आठ जनाको सूची मिलाउने क्रममा नेपाल र पोखरेलले १ सय ३ जनाको नाम हटाएर आफ्ना मान्छे राखेको आरोप केपी ओली पक्षको छ । नेता ओलीले अध्यक्ष खनाललाई लेख्नुभएको पत्रमा पार्टीको बैठकै नबसी यति ठूलो संख्यामा उम्मेद्वार हेरफेर गर्ने अधिकार नेपाल र पोखरेललाई कसले दियो ? भन्ने प्रश्न गरिएको छ । तर, यस्तो हेरफेर जसले गरे पनि यसको जिम्मेवारी अध्यक्ष खनालले लिनुपर्ने ओलीको तर्क छ । यसका लागि तत्कालै अध्यक्षले तत्कालै बैठक डाकेर सूची सच्याउनुपर्ने उहाँको माग छ ।

‘एमालेको अध्यक्ष झलनाथ खनाल हो कि माधव नेपाल ?’ ओलीको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो । ओलीले पत्रमा माधव नेपाल र ईश्वर पोखरेललाई अराजकतावादीको संज्ञा दिनुभएको छ ।

एमालेका एक नेताले दिएको जानकारीअनुसार माधव नेपालले समानुपातिकतर्फ रौतहट जिल्लाका मात्रै १२ जनाको नाम समावेश गर्नुभएको छ । काभ्रे लगायतका ३ वटा जिल्लाबाट एकजना पनि समानुपातिकका उम्मेद्वार छैनन् । यस विषयमा काभ्रे जिल्ला कमिटीको शनिबार बसेको बैठकले खेद प्रस्ताव पारित गरेको छ । जिल्लाबाट एकजना पनि उम्मेद्वार नराखिए समानुपातिकतर्फ मतदान नगर्ने जिल्ला नेताले केन्द्रलाई चेतावनी दिएका छन् ।

ओलीले खनाललाई बुझाउनुभएको पत्रमा प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना समानुपातिक उम्मेद्वार बनाइने स्थायी कमिटीको निर्णयबारे स्मरण गराउनुएको छ । माधव नेपालको जिल्लाबाट १० जना उम्मेद्वार बनाइनु तर कतिपय जिल्लामा एकजना पनि नहुनुले विरोधीलाई फाइदा पुग्ने ओलीपक्षको तर्क छ । ‘निर्वाचनको मुखमा यस्तो गरेर विरोधीलाई फाइदा पुर्‍याउने काम किन गरियो ? यो निर्णयको विरोधमा बोलौं भने विपक्षीलाई फाइदा पुग्छ, तर पार्टी निर्णय विपरीत भएको कार्यको पक्षमा बोल्न सकिँन ।’ ओलीको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।

माधव नेपाल र ईश्वर पोखरेलले १ सय ३ जना आफ्ना मान्छे घुसाउने क्रममा झापा आन्दोलनका योद्धा नरेश खरेलको समेत नाम हटाएको ओलीपक्षको आरोप छ । त्यसैगरी किसान संगठनका प्रेम दंगालको नाम हटाइएको र दंगालको मातहतका आधा दर्जन कार्यकर्तालाई सूचीमा पारिएको आरोप असन्तुष्ट पक्षले लगाएको छ । नेपाल र पोखरेलले राजन भट्टराई र देवी ज्ञवाली लगायतको नाम हटाएको स्रोतले बतायो । काठमाडौं जिल्लामा पनि क्षेत्र नं १० बाट मात्रै ५ जना उम्मेद्वार खडा गरिएको र अन्य क्षेत्रमा शुन्य बनाइएको ओलीपक्षको गुनासो छ । केशव स्थापितलाई टिकट नदिने कार्यमा पनि नेपाल र महासचिव पोखरेलले भूमिका खेलेको बताइएको छ ।

प्रत्यक्षतर्फ पनि बहुमत जुटाउने हानाथाप

ओली पक्षका नेताहरुको दाबीअनुसार माधव नेपाल र महासचिव ईश्वर पोखरेलले पार्टी कब्जा गर्ने र ओली पक्षलाई हावी हुन नदिने षड्यन्त्र स्वरुप यस्तो फेर बदल गरेका हुन् । समानुपातिकमा जस्तै प्रत्यक्षतर्फ पनि ३९ क्षेत्रको उम्मेद्वार चयन गर्दा २८ जना ओलीपक्षका नेताहरु परेपछि समानुपातिकमा ओलीका मान्छे हटाएर आफ्नो बहुमत बनाउन खोजिएको असन्तुष्ट पक्षको आरोप छ । तर, प्रत्यक्षतर्फ १ सय ४० को हाराहारीमा ओली पक्षका उम्मेद्वारहरुले मनोनयन दर्ता गरेको एमाले स्रोतले जानकारी दियो । चुनावमा बहुमत ल्याउन लाग्नुको साटो पार्टीभित्र बहुमत जुटाउन खोज्ने यस्तो खेलका कारण एमालेले गम्भीर परिणाम भोग्नुपर्ने ओलीपक्षको गुनासो छ ।

बन्दसूची नसच्याइए काभ्रेले भोट नहाल्ने

एमाले काभ्रे जिल्ला कमिटीका अध्यक्ष गोकुल बास्कोटाले बन्दसूची नसच्याइए काभ्रे जिल्ला कमिटीले विद्रोह गर्ने र समानुपातिकको मतपत्र खाली राख्ने बताउनुभयो । ‘हामीलाई समानुपातिकमा २० जनाको नाम पठाउन भनियो तर एक जनाको पनि नाम राखिएन ।’ उहाँले अनलाइनखबरसँग भन्नुभयो,’यस्तै अवस्था कायम राख्ने हो भने हामी समानपातिकतर्फको मतपत्र खाली राख्छौं ।’

भेडाबाख्रा जसरी नाम पठाउन लगाएर अहिले एकजना पनि उम्मेद्वार नबनाइनु भनेको एमालेलाई हराउने र विरोधीलाई जिताउने खेल भएको बास्कोटाको आरोप छ । ‘पहिलो बन्न लागेको पार्टीलाई चुनाव हराउन र कुन शक्तिलाई जिताउनका लागि माधव नेपाल र ईश्वर पोखरेलबाट यस्तो खेल खेलियो ?’ बास्कोटाले भन्नुभयो,’ एमाले पार्टीलाई जनमोर्चाकरण वा राप्रपाकरण गर्ने यो कार्य तत्काल सच्याइनुपर्छ भन्ने काभ्रे जिल्ला कमिटीको पदाधिकारी बैठकले निर्णय गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment